सिण्डिकेटको पक्षमा उत्रनेलाई हदैसम्मको कारवाही गर्नैपर्छ

सोमवार, चैत्र १९, २०७४



काठमाडौँ । नेपालको कानुन अनुसार कुनै पनि क्षेत्रमा सिण्डिकेट लाद्न पाइदैन् । तर, कानुनलाई नै चुनौती दिँदै यातायात व्यवसायीले सिण्डिकेटको पक्षमा जक्का जाम नै गरेका छन् । व्यवसायीले मयुर यातायात प्रालिको विरोधमा सोमबार काभ्रेको बनेपामा एक घण्टा चक्काजाम गरेका छन् । सरकारलाई नै चुनौती दिँदै सिण्डिकेटको पक्षमा काभ्रे र भक्तपुरका यातायात व्यवसायीहरुले मयूर यातायात प्रालिको नाममा सञ्चालित कोटेश्वर पूर्वको यातायाता सञ्चालन गर्न दिएको इजाजत पत्र खारेजीको माग गरेका छन् ।

पुरानो यातायात व्यवसायीले आइतवार ग्रामीण भेगमा यातायात सेवा ठप्प गरेका थिए भने सोमवार चक्काजाम गरेका छन् । चैत्र २१ गते कोटेश्वर पूर्वका यातायात पूर्ण बन्द गराउने कार्यक्रम उनीहरूको छ ।

अनुमति लिएर आएको बसलाई रोक्ने अधिकार कसैलाई पनि हुँदैन । पुराना यातायात व्यवसायीहरू कानुनभन्दा माथि हुन सक्दैनन् । मयुर यातायात संचालन भएपछि बनेपा–काठमाडौँ यात्रा गर्ने यात्रुलाई निकै सहज भएको छ । जनतालाई सहज रुपमा हिडडुल गर्ने व्यवस्था मिलाउनु राज्यको कर्तव्य हो ।

यातायात जस्तो अत्यावश्यक सेवाको क्षेत्र बन्द गर्न खोज्नेलाई राज्यले कानुनी दायरामा ल्याउँनैपर्छ । नियम कानुन अनुसार नचल्नेलाई दण्डको व्यवस्था गर्नु र विधिको शासनप्रति प्रतिवद्ध गराउने राज्यको दायित्व हो ।

खासगरी बस, मिनिबस, माइक्रो बस, ट्याक्सी सेवा यस्तो सिन्डिकेटको नियन्त्रणमा छ । व्यवसायीको एउटा झुन्डले सडक कब्जा गरेर बस्ने र सरकारलाई समेत चुनौती दिने काम गरेको छ । एकातिर सरकारसँग त्यसको वैकल्पिक व्यवस्थापन गर्ने क्षमता समाप्त पारिएको छ, अर्कोतिर राज्यबाट अनुमति लिएर बससेवा चलाइरहेका व्यवसायी हाकाहाकी आफ्नो मुनाफा बाँडफाँड गर्न अस्वीकार गर्दै राज्यका नीति–नियमलाई चुनौती दिइरहेका छन् ।

निजीकरण र उदारीकरणले सार्वजनिक क्षेत्रका विभिन्न वस्तु तथा सेवाको प्रवाह बजारले गर्न सक्छ भन्ने मान्यतालाई स्वीकार गर्छ । यसको अर्थ प्रतिस्पर्धाका माध्यमबाट गुणस्तरीय र सहज सेवा उपलब्ध हुनेछ, प्रतिस्पर्धाका कारण सेवाको मूल्य सस्तो हुनेछ भन्ने हो । हामीकहाँ ठीक उल्टो भइरहेको छ । चक्काजाम वा बन्द मात्र होइन, सार्वजनिक यातायातका साधन नचलाएर जनतालाई सास्ती दिने पनि कारवाहीको भागिदार हुनुपर्छ । सिण्डिकेटको पक्षमा उत्रनेलाई हदैसम्मको कारवाही गर्नैपर्छ ।

247 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank