वाइडबडीको भकुण्डो अख्तियारको मैदानमा !

सोमवार, पुस २३, २०७५



काठमाडौं । धमिजा, लाउडा देखी वाइडबडी काण्ड  सम्म भोगेको नेपाल वायु सेवा निगम अत्यन्त दुब्लो छ । दुई ठुला एयरवस ल्याउँदै वायु सेवा निगमलाई थोरै भए पनि तन्दुरुस्त बनाउने सरकारी प्रयास घोटालामा मुछिएसँगै घटनाको सत्यतथ्य अनुसन्धान गर्न सार्वजनिक लेखा समिति सक्रिय बन्यो । तत्पश्चात सार्वजनिक लेखा समितिले संसदीय उपसमिति बनाउँदै घटनाको बारेमा यथार्थ विवरण पेश गर्न १५ दिनको समय दिएको थियो ।

उपसमितिले वाइडबडी घटनाको गहन अनुसन्धान गर्दै संग्लग्नहरुको नामवाली सहित ४ अर्ब ३५ करोड भन्दा बढी अनियमितता भएको निश्कर्ष सहितको प्रतिवेदन तयार पारेको थियो । उक्त प्रतिवेदन माथि गत शुक्रबार देखी समितिमा छलफल चलाइएको थियो ।

समितिको प्रतिवेदन प्रति सत्ता पक्ष र प्रतिपक्षदलका सांसदहरुले आआफ्ना धारणा खुलेर राखेका थिए । वाइडबडी जहाज खरिद प्रकरणमा मुछिएका पूर्व मन्त्रीहरु र वर्तमान मन्त्री सहित नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरुको नाम समेत उपसमितिले किटान गरेसँगै यस काण्डले अकस्मात चर्चा बटुल्न सफल भएको छ ।

नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कसांकारलाई निलम्वन गर्दै कार्वाही गरियोस भन्ने उपसमितिको प्रतिवेदन पछि वाइडबडी जहाज खरिद प्रकरणलाई राजनीतिकरण गरिने सम्भावना दिन प्रतिदिन बढ्दै गइरहेको छ ।
उपसमितिको प्रतिवेदन सँगै महाप्रवन्धक कसांकारलाई उनको कार्यकक्षमै कालो मोसो दलिएको घटनामा चन्दाका कुरा जोडिनु रहस्यमयी बन्दैछ ।

वहालवाला पर्यटनमन्त्रीलाई राजनीतिक प्रतिसोध साधिएको र उनको राजनीतिक भविष्य समाप्त पार्न षड्यन्त्र गरिएको भन्ने चर्चासँगै घटनालाई अन्यत्र मोड्ने नियतका साथ पर्यटनमन्त्रीबाट पत्रकार सम्मेलन गरिएको प्रतिपक्षले आरोप लगाएको छ ।

पत्रकार सम्मेलनमा उपसमितिको प्रतिवेदनमा भन्दा आफ्ना भावनात्मक कुरा राख्न तम्सीएका पर्यटनमन्त्रीको असफल प्रयास सँगै वाइडबडी खरिद प्रकरणको भकुण्डो लेखा समितिले अख्तियारको मैदानमा फाल्ने निर्णय गरेको छ । आम जनमानसमा परेको वा पारिएको वाइडबडी जहाज खरिद प्रकरणको सत्यतथ्य छिटो भन्दा छिटो जनसमक्ष ल्याउने दायित्व अख्तियारको काँधमा सुम्पीएसँगै घटनाले नयाँ मोड लिएको छ ।

सुशासन र समृद्धिको बाटोमा आउने तमाम समस्याहरुलाई चिर्दै जनताको पक्षमा अगाडि बढ्ने वाम सरकारको घोषणा र प्रतिबद्धता अल्मल्याउने वाइडबडी जहाज खरिद प्रकरण सरकारको नीम्ति चुनौती बनेर खडा भएको छ ।

प्रजातन्त्र प्राप्ती देखी गणतन्त्र सम्म पुग्दा पनि दिनप्रतिदिन दुव्लाएकाे नेपाल वायु सेवा निगमलाई बचाउन पनि सुशासनवादी सरकार निर्मम ढंगले आग्रह, पूर्वाग्रह त्यागेर यस कथित घटनाको अनुसन्धानमा अख्तियारलाई सहयोग पुर्याउनु अहम दायित्व हुने छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata