‘समृद्धिका लागि दुई तिहाइ ल्याउने एमालेको उद्देश्य’

सोमवार, भदौ २६, २०७४



काठमाडौँ । ‘नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी’ नेकपा(एमाले)मा समाहित भएको छ । एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा सोमबार (आज) आयोजित कार्यक्रममा २ सय १४ जना सो पार्टीका सबै केन्द्रीय, प्रदेश र जिल्ला समितिसहित प्रवेश गरेका थिए ।

सो अवसरमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको समृद्धिका लागि एमालेले निर्वाचनमा दुई तिहाइ ल्याउने उद्देश्य राखेको बताए । “देशलाई विनाविलम्ब समृद्धिको बाटोमा लैजानुपर्छ”, उनले भने ।

पूर्वप्रधानमन्त्री ओलीले दुई छिमेकी देशसँग मित्रवत् र समान सम्बन्ध राखेर टकरावमा नपरी नेपालले आफ्नो हितका पक्षमा काम गर्नुपर्ने बताए। उनले छिमेकीसँगको पुराना मानसिकता र व्यवहार परिवर्तन गरेर नयाँ सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले छिमेकीलाई डुबान गराउन र सीमा स्तम्भ सार्ने जस्ता काम नगर्न आग्रह गरे ।

कार्यक्रममा एमाले उपाध्यक्ष वामदेव गौतमले साम्राज्यवादी र पूँजीवादीले एमालेमाथि प्रहार गरिरहेका बेला एउटा सिंगै पार्टी एमालेमा आएर थप राष्ट्रिय एकता जोगाउन सहयोग पुग्ने बताए। कार्यक्रममा नवप्रवेशीका तर्फबाट लोकतान्त्रिक पार्टीका अध्यक्ष चूडादेवसिंह लामा, संरक्षक वसन्तराज कुँवर र वरिष्ठ नेता धरणीधर खतिवडाले एमालेको देशप्रति देखिएको झुकावका कारण आफूहरु त्यसमा प्रवेश गरेको बताए।

1544 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank