सरकारको ‘ब्याक गियर’ !

बिहिबार, असार २६, २०७६



मुर्छित सपनाहरुको सफल मार्केटिङ गर्दै राष्ट्रवादको विगुल फुक्दै निर्माण गरिएको वाम गठबन्धनको अपार सफलता पछि सिंहदरबार पुगेको सरकार ‘ब्याक गियर’ हाल्न विवश बन्दै छ। २००७ साल देखी कुनै पनि सरकारले आवधिक र औपचारिक आयु पुरा गर्न नपाएको राजनीतिक इतिहास कण्ठस्थ पारेका प्रधानमन्त्रीले दोस्रो इनिङ शुरु गर्न आधा- आधा बाँडीचुँडी खाने सहमतिमा हस्ताक्षर गर्न राजी भएको प्रमाण छताछुल्ल भइसकेको छ ।

‘नौनी’ जस्तो नरम बन्दै संसदीय निर्वाचन जितेका तात्कालिन एमाले अध्यक्ष केरुङ भ्रमण पश्चात ‘छुर्पी’ जस्तो कडा बनेको नतिजा वर्तमान सरकारको ‘ब्याक गियर’को कारण हो भन्ने राजनीतिक विश्लेषकहरुको धारणा छ। राम्रो गर्ने चाहना भएर मात्र राम्रो नतिजा आउन सक्दैन । त्यसको निम्ति योग्य व्यक्ति उपयुक्त स्थानमा हुनु वा पुर्याउनु अत्यावश्यक हुन्छ भन्ने प्रधानमन्त्रीले भुलिदिए। लाखौं कार्यकर्ता, मजबुत घोषणा पत्र , एक से एक अनुभवी नेता र पार्टी अनुभवलाई वेवास्था गर्दै एकल नेतृत्वमा निस्केको सरकार आफ्नै कारणले सकारात्मक नतिजा पस्कन चुकेको छ ।

वर्तमान विश्व राजनीतिमा संसदीय सफलताको शक्ति जनभावना बुझ्दै सकारात्मक काम गरे मात्र काम लाग्ने सरकारले बुझ्न चाहेको देखा परेन । २०१७ सालमा दुई तिहाईको सरकार ढालिएको ,२०५१ मा बहुमतको सरकार मध्यावधी चुनाव रोज्न विवश भएको, २०५६ को बहुमतको सरकार देशी विदेशी राजनीतिको सिकार भएको बुझ्दै पार्टी र जनताको साथ लिंदै अगाडी बढन वर्तमान दुई तिहाईको सरकार इतिहासबाट पाठ सिक्न अनिच्छुक रहयो। शान्ति , स्थिरता र विकासको निम्ति सहकार्य गर्न भन्दा सहयोगी खोज्न हतारिएको वर्तमान सरकार आफ्नै कार्यशैलीको कारण थला पर्दै छ । विगत सरकार मार्फत विराषतमा मिलेका समस्या देखी आफ्नै कारणले सिर्जित अनेकौं समस्याको दिर्घकालिन समाधान खोज्नुको सट्टा टालटुले नीति मार्फत उम्कने कोशीस गर्न पुग्यो ।

राजनीतिक परिवर्तन पश्चात  जनताको आधारभूत आवश्यकतालाई ध्यान दिनुको सट्टा केहि व्यक्तिको आमुल परिवर्तन बाहेक केही नहुँदा आम मानिस सरकारसँग रुष्ट हुँदै थिए । पञ्चायत देखी लोकतन्त्र सम्मको यात्रामा असंख्य दुख भोगेका जनता पछिल्लो परिवर्तनसँगै राजनीतिक नेतृत्वसँग न्युनतम बदलाबको आशा गर्दै थियो । विगत सरकारले गरेका कमजोरीलाई सच्याउँदै बेथिति, विकृति, विसंगति, ढिला सुस्तीलाई समाप्त पार्दै अन्याय , अत्याचार , भ्रष्टाचारको विरुद्ध सर्वसाधारण जनताले देख्ने , बुझ्ने , सुन्ने र महशुस गर्ने ढंगले कदम चाल्ने अंकगणित सहितको सरकार अनुपयुक्त झमेला बेसाउन अग्रसर भयो ।

राष्ट्रलाई संविधान सम्मत ढंगले हिडाउन आवश्यक ऐन, नीति, नियम र कानुन निर्माण गर्न सहभागिता मुलक छलफल , प्रयाप्त अन्तरक्रीया चलाउन जरुरी नठान्ने विगतको ‘रोडम्याप’मा चल्दा सामान्य कमजोरीलाई ‘पहाड’ बनाइयो भन्दै छ  । नेपालको राजनीतिक परिवर्तनमा ठूलो लगानी गरेका राष्ट्रहरुको स्वार्थ सम्बोधनमा असावधानी अपनाउँदा अनेकखाले पुरातनवादी शक्ति , निर्वाचनमा करारी हार व्यहोरेको शक्तिहरु , सत्तामा भाग नपाएका असन्तुष्ट शक्तीसँगै इसाई समिटको सहआयोजक बन्ने सरकारको रहरले जन्माएको जनताको असन्तुष्टी ‘गुठी विधेयक’ मार्फत माइतीघर मण्डलामा पोखिन पुग्यो ।

संसदमा जान हतारिएका अनेकौं विधेयक, संसदमा छलफलको निम्ति दर्ता भएका विधेयकले सिर्जना गरेका असन्तुष्टीहरुमा निर्मला काण्डको छिनोफानो, वाइडबडीको सत्य तथ्य, सुनकाण्ड र ललिता निवासले चर्चेको वालुवाटार जग्गा काण्डको औचित्यपुर्ण समाधान कुरेर बसेको समयमा लोकप्रिय बन्ने सरकारको चाहना भारतीय विषादीयुक्त तरकारी र फलफूल परिक्षण बिना मुलुक आउन नादिने निर्णयले पाएको वाहवाही आफ्नै असावधानीले फिर्ता लिएसँगै सरकार ‘ब्याक गियर’मा चल्दै छ ।

सर्वसाधारण जनता र पार्टीसँग एकाकार गर्दै चल्नुको सट्टा अंकगणितको बलमा चल्ने सरकारी शैलीले सरकारको लोकप्रियता कसरी खस्किँदै छ ? विस्तारै महशुस गरेको संकेत उद्धोग मन्त्री मातृका यादवले गरेका छन । पछिल्लो ‘ब्याक गियर ‘ राम्रोसँग देख्न विवश मन्त्री यादवको भनाईले सरकार विचित्रको ‘रोडम्याप’मा रहेको प्रष्ट देखिन्छ । ‘राम्रो काम गर्न खोज्नु अपराध हो भने त्यो अर्कै कुरा हो।’ सचिवले ल्याउनु भयो । मैले पढिन । मेरो कमजोरी हो। मुलुकमा विषादी परिक्षण गर्ने प्रयोगशाला केवल काठमाडौंमा मात्र रहेछ । हामीसँग पुर्वाधार नै रहेन छ। सचिवले ल्याउँछन। हामी नपढीकन सही गर्छौं। विश्वास गरेर गर्छौं। यो रियल (फ्याक्ट ) हो क्या । आफु लामो समय सरकारमा बस्दा केही गर्न नसक्ने । हामीले केही गर्न खोज्दा केही पुगेन। मन्त्री यादवको दुर्गतिलाई पछ्याउदै सरकार प्रमुख समेत रक्षात्मक बन्न विवश छन् ! राम्रो गर्न खोजेका थियौं तर समय भन्दा अगाडी नै थालिएछ । पूर्वाधार छ कि छैन थाहा  भएन । जाँच गर्ने भनेर फाइल ल्याए। झ्याप्पै निर्णय गरें । प्रधानमन्त्रीको निरीहता झल्कने उक्त भनाइले सरकारको गियर कसरी बदलिएको छ थप शब्दहरु खर्च गर्न आवश्यक देखिदैन।

सचिवको विश्वासमा मन्त्री र मन्त्रीको विश्वासमा प्रधानमन्त्री हुँदा सर्वसाधारण जनताले पाउने दुख कष्ट र मुलुकको अथाह बर्बादी नै वर्तमानको विभत्स अवस्था हो भन्ने आधार मन्त्री यादवको अभिव्यक्तिलाई मान्न सकिन्छ। सचिव , मन्त्री र प्रधानमन्त्रीको कार्यकुशलता र कार्यक्षमता लोकतन्त्र सिमित वर्गको सेवक बन्न बाध्य भएसँगै लागेको सरकारी ‘ब्याक गियर ‘ तत्काल नरोकिए मुलुक र लोकतन्त्रले ठूलो नोक्सानी बेहोर्ने छ । राष्ट्र र लोकतन्त्रलाई जोगाउन सरकारले तत्काल पार्टी र जनतालाई विश्वासमा लिँदै ‘छुर्पी’बाट ‘नौनी’मा फर्कनु नै एकमात्र र उत्कृष्ट विकल्प हुनेछ ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank