सुतेको सरकार र निदाएको नेकपा !

मङ्लबार, कार्तिक २७, २०७५



२०४६ को राजनैतिक परिवर्तन सँगै खुला रुपले नेपाली जनता माझ पुगेको वामहरु जनताको मत प्राप्त गर्दै चुनिन तयार भएकै हुन । अनेक नाममा रहेका वाम पार्टीले नाङ्ले पसल थापेको कारण छरिएको जनताको मतादेश सिंहदरवारको कुर्सी सम्म पुग्न असफल हुँदा अन्य पार्टीलाई सत्ता सुखको अवसर मिल्न गएको वामहरु जानकार नहुने कुरै भएन ।

बहुमत जनता वाम पक्षमा हुने तर सत्ता सुख अन्य शक्तीले लिएको कारण बाध्यात्मक रुपमा एक अर्कालाई स्वीकार गर्न बाध्य पुर्व एमाले र माओवादी केन्द्रले निर्माण गरेको वाम गठबन्धनलाई गत निर्वाचन मार्फत उचित पुरस्कार मिलेको भनिरहनु परेन ।

निर्वाचन पश्चात केवल सत्ता दाउ पेचमा अल्झिने कि दिर्घकालिन शक्ती प्राप्त गर्ने ? भन्ने सवाल भित्र पनि शक्ती र सत्ताको दाउपेच चलाउँदै एक अर्काको पुरक बन्न राजी दुई नेताको निर्णायक छलाङ पछी निर्माण गरिएको सरकार र नेकपा पार्टीको वर्तमान अवस्था आम जनताले समेत बुझ्न थालेका छन ।

सुतेको सरकार :

असंख्य सपना देखाउँदै गठन गरिएको वाम सरकार सँग जनताको ठुलो अपेक्षा रहेको भनिरहनु परेन । पुर्व एमालेको अध्यक्ष चुनिना साथ पार्टी कार्यालय वल्खुमा आम कार्यकर्ता सँग अत्यन्त भावुक शब्दको खेती गर्दै भनिएका वाक्य “आफु सँग सुबिधाजनक समय छैन ” त्यसैले आम नेपाली जनताको समृद्धिको निम्ती द्रुतगतिमा काम गर्ने वर्तमान प्रधानमन्त्रीको इच्छा , चाहाना र उदघोषलाई नेपाली जनताले अत्यन्त सकारात्मक रुपमा लिएकै हुन । संबिधान जारी हुँना साथ दक्षिणको नाकाबन्दीको बीच बनेको पहिलो कार्यकालमा थुप्रै चाहानाको बाबजुद  संसदीय अंकगणितको सिकार बन्दै सत्ता त्याग्न बाध्य हुँदा जनताको आकर्षण उनी प्रति झनै बढेको पुष्टी निर्वाचन मार्फत भइसकेकै छ ।

अन्याय , अत्याचार , भ्रष्टाचारबाट मुक्ती दिलाउँदै शिक्षा र स्वास्थ्य मार्फत राज्यको उपस्थिती महशुस गर्ने आम जनताको बर्षौ देखिको सपना वाम सरकारले पुरा गर्ने सोचेकै हुन । सार्वजनिक महत्व राख्ने अनेकौं बिषयहरुको अल्पकालिन र दिर्घकालिन योजना र बिकास मार्फत समृद्धिको सुरुवात गरिने अपेक्षा जनताले राखेकै हुन ।छोटो समयमा जनताको जीवनस्तरमा परिवर्तन ल्याउने वाम घोषणा व्यवहारमै देख्न चाहेका पनि हुन । विगतको सरकारबाट आजित जनता सुबिधाजनक समय नभएका प्रधानमन्त्री पाउँदा अत्यन्त छिटो परिवर्तन हुने आशामा प्रफुलित भएकै हुन । तर विडम्वना अथाह शक्ती सहितको सिंहदरवारको कुर्सी प्राप्ती पछी दिन दुई गुणा रात चार गुणा काम फत्ते हुने जनअपेक्षा दिन दुई गुणा रात चार गुणा घट्दै जानुको कारण सरकारको कार्यकुशलता र कार्यक्षमतालाई मानिएको छ ।

सरकार समृद्धि बाहेक अन्य कुरा सुन्न चाहाँदैन तर सहमती , सहकार्य जस्ता शब्द बोझ बन्दै छ । सहकर्मीको सट्टा भक्त र सहकार्यको सट्टा सहयोगी खोज्ने भोक नजानिदों ढंगले हुर्किदै छ । आकासको तारा चुँडेर जनतालाई वितरण गर्ने सपना शुरु नहुँदै स्थगित भइसकेको छ । ब्याक गियरमा चल्दै गरेको सरकारको छबी ओरालो लागेको सेयर बजार जस्तो बन्दै छ । सरकारको पाँच महिनामा प्रकाशित प्रगती विवरणको पुस्तक दश महिनामा गायब बन्दै छ । घोषणापत्र , भाषण र नीति तथा कार्यक्रम मार्फत असंख्य सपना बाँड्दै मस्त सुतेको सिंहदरवार र वालुवाटार सिस्नोपानीको “लाक्षी ” उपहार पाउँदा पनि उठने जाँगर र हिम्मत कहिँ कतै भेटिदैन ।

 निदाएको नेकपामा आफ्ना आफ्नै दाउ :

गत जेठ ३ गते पुर्व एमाले र माओवादी केन्द्र बनाउँदै निर्माण गरिएको नेकपामा दुई अध्यक्षको कुर्सी राख्दै सम्पन्न पार्टी निर्माण कार्य टाउको मात्र जोडिएको शरिर दुई वटा नै रहेको प्रमाण काफी छन । केन्द्रमा ९ सदस्यीय सचिवालय, ४५ स्थायी समिती सदस्य र ४४१ सदस्यीय केन्द्रीय कमिटी निर्माण गर्दै घोषणा गरिएको पार्टी एकता पछिल्लो समय दुई ब्यक्तीको दाउपेचको सिकार भइरहेको सजिलै बुझ्न सकिन्छ ।

सेक्टर काण्ड पछी चिट्ठा परेको महासचिव पद पछी कहिल्यै दोश्रो दर्जामा नबसेका वर्तमान नेकपाको दोश्रो अध्यक्ष पार्टी बिधान , नीति , नियम , पद्धति , विचार , सिद्धान्तलाई बोझ मान्छन । लामो समय जेल जीवन बिताएका करीव १५ वर्ष शक्ती प्राप्त गर्ने दाउपेचमा  आफ्नै पार्टी भित्र प्रतिपक्षी नेता बन्दै गुट चलाएका दुबै नेताको भित्री इच्छा र चाहाना भनेको बिधी र पद्धतिलाई दुश्मन देख्ने प्रबृती नै हो भन्ने मान्न आम कार्यकर्ता राजी छन । अनुशासन र बिधीमा पार्टी हाँक्दा आफु बाँधिने भयले अस्थिरता र भद्रगोलको फाइदा लुटने चाहाना अघोसित रुपमा दुबै अध्यक्षले मानिरहेको पुष्टी भइसकेको छ ।

शिक्षा , स्वास्थ्य , समाजवाद , राष्ट्रवाद , सार्बभौमसत्ता ,  समृद्धिले कार्यकर्ता र जनतालाई प्रभाब पार्न सकिने तर सत्ता बिना आफ्नो दुनो सोझ्याउन नसकिने दिब्यज्ञान प्राप्ती पछी सुरुभएको गुटगत राजनीतिको निरन्तरता दिने एक मात्र भित्री चाहानाको सिकार हुँदै गएको नेकपाको पुर्ण एकता वास्तबमा पार्टी सत्ता कसरी कब्जा गर्न सकिन्छ ? भन्ने कुटिल खेलको सिकार हुँदै छ । जातीय, क्षेत्रीय , धार्मिक, सांस्कृतिक र भाषिक समस्याहरुले जकडिएको नेपाली राजनीतिलाई सही दिशा दिंदै मुलुक रुपान्तरणको जिम्मेवारी साथ अगाडी बढनु पर्ने वाम राजनीति पुर्णएकता सहित समृद्धिको मार्गमा लाग्न ढिलाई हुनुको सबैभन्दा ठुलो कारण एकता पछी आफ्नो शक्तिको संस्थागत सुनिस्चितता कस्तो हुन्छ ? भन्ने नै हो ।

निर्वाचन पछी तेश्रो राजनैतिक शक्ती बनेको वर्तमान नेकपाको दोश्रो अध्यक्ष पहिलो अध्यक्षसँग जती सकिन्छ लिने र आगामी दिनमा झनै शक्ती प्राप्त गर्ने सोच पार्टी एकतामा बिधी निर्माण गर्दै सम्पन्न गर्न बाधक बन्नमा पहिलो अध्यक्षको अप्रत्यक्ष साथ मिल्नुलाई लिन सकिन्छ । अस्थिरता, दिशाहीनता र गतिहीनताबाट गुज्रिरहेको राष्ट्रिय राजनीतिलाई सही दिशा दिन चुक्दै गरेको नेकपा भित्रको आन्तरिक शक्ती सन्तुलनको कारण पार्टी एकता स्थानिय तह सम्म पुग्न लामै कसरत गर्नु पर्ने नयाँ कारण प्रधानमन्त्रीको खस्कँदो लोकप्रियता र चर्को घेराबन्दीलाई मानिदैछ । प्रधानमन्त्री एवम पार्टी अध्यक्ष कुनै पनि हालतमा सरकार र नेकपाको शक्ती गुमाउन नचाहने , दोश्रो अध्यक्ष प्रधानमन्त्रीको गतिहिनता, सुस्तता र गुटगत शक्ती भित्र खेल्दै अधिकतम फाइदा लिने खेलनै नेकपा निदाउनुको कारण बन्दै छ ।

1805 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank