सरकारलाई असफल हुने छुट छैन !

बिहिबार, बैशाख १९, २०७६



शान्ति, स्थिरता र समृद्धिको नारा नेपाली जनतामाझ यती लोकप्रिय भयो कि जनताले दायाँ बायाँ नसोचेर वामहरुलाई भारी जनादेशकासाथ सिंहदरबार सुम्पिए । विगत सरकारले मच्चाएका गडबडी रोकिने मात्र हैन सुधार समेत हुने आसा साथ हेरेको वाम सरकारबाट डयाङ का डयाङ नतिजा मुखी काम पस्कने चाहाना जनताले राख्नु आफैमा मनासिब मानिएको थियो ।०४६ को परिवर्तन पछी जनताको मतादेशबाट चुनिएका तमाम सरकारबाट भएका शासन शैली परिवर्तन गर्दै सुशासन , परिणाम मुखी र पारदर्शी सरकार ओली नेतृत्वमा चल्ने छ भन्ने जनताको बुझाई र चाहाना थियो ।

जनतामा सपना जगाई दिने, नयाँ नयाँ कार्यक्रम घोषणा गर्ने सरकारको तदारुकतामा कुनै कमी नरहे पनि अनुगमन र कार्यान्वयनमा फितलो हुँदा वाम सरकार आएको महशुस सर्वसाधारण मानिसले गर्न सकिरहेका छैनन । राजनीतिक अस्थीरता र दलीय सहमतिको नाममा विगतमा सम्पन्न गरिएका अनेकौं अलोकप्रिय काम अनेक बहानामा उजागर हुँन पुग्दा वर्तमान सरकार विचित्र रोगको सामना गर्न बाध्य हुँदैछ । प्रत्यक्ष रुपमा प्रधानमन्त्री ओली नमुछिए पनि उनका सहयोगी वा पार्टीका मानिसहरु कुनै न कुनै रुपमा संग्लग्न देखिएका केही घोटाला उजागर भएसँगै वाम सरकार यस रोगको विधिवत उपचार कसरी खोज्छ ? भन्ने सवाल सर्वसाधारण मानिसले गर्दै छन ।

समान्तवादको औपचारिक पतन भएसँगै पुँजीवादले स्थान जमाउन असफल हुँदा सामान्तवादको अवशेष अनेक रुपमा देखा पर्दै छ । राजनीति, व्यापारी र कर्माचारीको मिलिभगतमा चलाईएका राष्ट्रिय लुट विकराल बन्दै देखा परेको पछिल्ला घटना वाम सरकारको टाउको दुखाई बन्न पुगेको छ । देशको मुटु मानिएको रत्नपार्कमा टहरा बनाउँदै लुटने, सत्ताको नाक मानिएको वालुवाटार व्यक्तीको नाममा सार्ने, बाटोबाटै लुटिएका सुनकाण्ड त्यसै सेलाउने, नेपाल एयरलाईन्स कम्पनी डुबाउने वाइडबडी काण्ड, चिनी काण्ड, एनसेल काण्ड, भ्रष्टाचार, घोटाला, कमिसनखोरी, मेलम्ची खानेपानी आयोजना काण्ड, सिंहदरबारको जग्गा घोटाला समेत उजागर हुनुले विगतमा बनेका तमाम सरकारको अनुहारमा कालो पोतिएको छ । सरकारी जग्गा लुटदै रातारात धनी हुने अनेकौं घटना एक एक गर्दै उजागर हुनुले देशमा भ्रष्टाचार कती मौलाएको र फैलिएको छ भन्ने आम मानिसले सुन्न, जान्न र देख्न पाएका छन । पार्टी महासचिव सीले राष्ट्रपति चुनिएसँगै भनेका थिए । चीनको सबैभन्दा ठुलो दुश्मन भ्रष्टाचार हो । भ्रष्टाचारको विरुद्ध निर्मम ढंगले लागिने छ । कसैको अनुहार हेरिने छैन । भ्रष्टाचारीलाई कडा भन्दा कडा सजाय दिइने छ । उनले सरकारको उच्च तहमा रहेका २८३ अधिकारीलाई जेलको व्यवस्था गरि दिँदै निरन्तर भ्रष्टाचारको विरुद्ध सकृय रहेको प्रमाण दिएका छन । राष्ट्रपति सी जस्तै प्रधानमन्त्री ओली पनि भ्रष्टाचारको विरुद्ध लाग्ने आसा उनको वचनबाट सुन्न सकिन्छ ।

सौभाग्य नै मान्नु पर्छ ! देशले भ्रष्टाचारीको अनुहार पनि नहेर्ने प्रधानमन्त्री पाएको छ। यस्तो अवस्थामा मिडियाले सतहमा ल्याइएका अनेकौं घोटालाहरुलाई प्रधानमन्त्रीले आग्रह, पुर्वाग्रह त्यागेर सत्य तथ्यको आधारमा अनुसन्धान प्रकृया अगाडी बढाउनु मुलुक र लोकतन्त्रको निम्ति अनिवार्य भएको छ । ०४६ को राजनीतिक परिवर्तनसँगै शुरु गरिएको वालुवाटार काण्डको अनुसन्धान प्रकृया अगाडी बढाएर प्रधानमन्त्रीले कम्तिमा सानो आसा जगाएको समयमा आफ्नै कामलाई काटने ढंगले प्रधानमन्त्री मिडिया सामु देखा पर्नुले आशंका जन्माएको छ ।०४८ सालको जन निर्वाचित सरकारको गृहमन्त्री बनेसँगै गडबडी गर्न सिकेका पुर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई मुलुकको हरेक गढबडीसँग जोडदै आफ्ना मानिसको संग्लग्नता पखाल्ने कोसिस प्रधानमन्त्रीबाट भएको आरोपबाट जोगिनु अत्यन्त जरुरी छ । तत्कालिन प्रधानमन्त्री देउवाले पर्यटन मन्त्रालय सम्हालेको समयमा अनियमितता भएको तथ्य सार्वजनिक गरिएपछि वाइडबडी भ्रष्टाचार प्रकरण शिथिल बनाइयो । ‘वाइडबडी’ प्रकरणमा संसदीय समितिले दोषी  देखाएका दिवंगत पर्यटन मन्त्री रविन्द्र अधिकारी र गृहसचिव प्रेम राईको बारेमा अनुसन्धान नै रोकिएको छ । पछिल्लो समय लतिता निवास काण्डमा पार्टी महासचिवको नाम मुछिएसँगै शेरबहादुर देउवाको नाम आउनुले सरकारको ‘ अग्नी परिक्षा ‘ शुरु भएको मानिदैं छ ।

सामान्यतया ठूला भ्रष्टाचारहरूमा देउवाको नाम छुटनुलाई नेपाली प्रजातन्त्रले दुख मान्ने गर्दछ । लोकतन्त्रमा समेत देउवाको नाम जोडिनुलाई समेत स्वाभाविक रूपमा लिइदै छ । मुलुक भित्र घटाइएका अनेकौं भ्रष्टाचारका काण्डमा देउवाको नाम जोडिएर आउने र उनी माथी छानबिन तथा कारबाही गर्नुको सट्टा उनको तमाम भ्रष्टाचार प्रकरणलाई ढाकछोप गर्दै आफ्ना सहयोगीलाई जोगाउन प्रधानमन्त्री लाग्ने छैनन भन्ने सम्पुर्ण न्यायप्रेमी जनताको चाहना छ । बीस प्रतिशत बहुमुल्य समय गुमाएको वाम सरकारले आफ्ना चुनावी वाचा र घोषणापत्रलाई पुरा गर्न ठुलो अवरोध बनेको विगतका भ्रष्टाचारका घटना , विकृती , विसंगती र ढिलासुस्ती माथी निर्मम ढंगले प्रहार गर्दै अगाडी बढ्ने छ ।

सामान्य आर्थिक हैसियतबाट मुलुक बदल्न तम्सिएका राजनीतिक व्यक्तिहरुको लालची र निकम्मापनको फाइदा दलाल पुँजीवादले उठाउँदा पार्टी र आम जनताले पवित्र मानेका नेताहरु धमाधम खुइलिदै छन । भ्रष्टाचारको कारण ‘राज्य दुब्लाउने व्यक्ती मोटाउने खेल’ प्रजातन्त्र र लोकतन्त्रमा  झनै मौलाएको देखिनु दुर्भाग्यपुर्ण मानिदै छ । अनुसन्धान, छानबिन र कारबाही प्रक्रिया नै अवरुद्ध पार्ने हैसियतमा ‘क्यान्सरझैं फैलिएको भ्रष्टाचार’ लगायत तमाम अराजकता नियन्त्रण गर्ने जिम्मेवारी ओली नेतृत्वको वाम सरकारको काँधमा आइपुगेको छ । अनेक रुपमा खुल्दै गरेका अनिमियततामा आफ्नै सहयोगीहरु मुछिएका घटनाले मर्माहत प्रधानमन्त्रीलाई असफल हुँदै पछाडी फर्किने वा बाटो मोडने छुट छँदै छैन । व्यक्ती र सत्तालाई गौण मान्दै पार्टी, मुलुकवाशी र देशको हितमा अडिग रहने अवसर समेत प्रधानमन्त्रीको हिस्सामा परेको छ । ठुलो त्याग, तपस्या, संघर्षबाट जनताले वामहरुलाई जिम्मेवारी सहित सुम्पिएको स्वर्णिम अवसर प्रधानमन्त्रीले गुमाउन पाउने छैनन भन्ने आम जनताको चाहाना छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank