सभामुख चयनको सकस !

सम्पादकीय

शुक्रबार, मंसिर २७, २०७६



नाटकीय ढंगले सभामुख पद खाली गराइयो । संसद अधिवेशन नचलेको समयमा संसदको प्रशासनिक काम उपसभामुख मार्फत हुँदै आइरहेको छ । वर्तमान उपसभामुखबाट आफ्नो जिम्मेवारी सफलतापुर्वक निर्वाह हुँदै आएको छ । राष्ट्रपतिबाट संसदको हिउँदे अधिवेशन डाकिएसँगै नयाँ सभामुखको खोजी हुँदै गरेको चर्चाले स्थान पाएको छ। वर्तमान उपसभामुखले आफूलाई सभामुखको उपयुक्त पात्र सम्झदै दावी पेश गरेसँगै सत्तारुढ दल भित्र विचित्रको सकस देखा परेको छ ।

संविधान अनुसार छुट्टा छुट्टै दल र लिङ्गको आधारमा सभामुख र उपसभामुख चयन गरिनु पर्ने संवैधानिक बाध्यताको कारण विषय पेचिलो हुन पुगेको छ । विगतमा पुर्व माओवादी केन्द्र र एमालेबीच पदीय भागवण्डा हुँदा चुनिएका सभामुखले बाध्यात्मक राजीनामा रोजेसँगै नेकपासँग उपसभामुख रहेको छ । संविधान अनुसार एउटै दलको सभामुख र उपसभामुख रहन नसक्ने अवस्थामा उपसभामुखले राजीनामा नदिए सभामुख पद स्वत संसदमा मौजुद अन्य दलले प्राप्त गर्ने छ । उपसभामुखले राजीनामा दिएको खण्डमा सभामुख र उपसभामुखमा कसले वाजी मार्ने छन ? विगतमा माओवादी केन्द्रको भागमा परेको सभामुख पद वर्तमान नेकपामा पुर्व एमाले वा माओवादी केन्द्रको धार मध्य कसले लिने वा पाउने भन्ने सवालले नेकपा राजनीतिमा दुरगामी प्रभाव पार्ने छ ।

सभामुख पदमा महिला उपसभामुखको दह्रो दाबी रहेको समयमा पार्टी भित्र चलिरहेको गम्भिर बार्गेनिङ बिस्तारै चुहिन थालेका छन । पार्टी र  सरकार अलग अलग व्यक्तिले चलाउने औपचारिक निर्णय नै भइसकेको समयमा प्रधानमन्त्रीले आफ्नो सजिलोको निम्ति सभामुख पदमा आफ्नै सहयोगी राख्ने चाहना हुनुलाई अन्यथा लिनु हुँदैन। तथापी महिला उप सभामुखलाई राजीनामा गराउँदै पुरुष सभामुख खोज्नु  नेकपाको निम्ति राजनीतिक जोखिमको विषय हुन सक्छ ।

राजनीतिक रुपमा दुई पार्टी एकै भएपनि भावनात्मक एकता हुन बाँकी रहेको समयमा पार्टीका अर्का अध्यक्षले सभामुख पदको निम्ति गर्न सक्ने बार्गेनिङ प्रधानमन्त्रीले महशुस गरिसकेका छन । आन्तरिक रुपमा करीब तय भइसकेको पात्रलाई तत्काल मुख खोल्न बन्द गराउँदै प्रधानमन्त्री खेमाबाट जारी राखिएको खेलमा उपसभामुख नराम्रोसँग जेलिएकी छिन । सतहमा उपसभामुखको बार्गेनिङ देखाउँदै आफ्नो खेमाको पोल्टामा सभामुख लाने प्रधानमन्त्रीको खेलभित्र छिपेको असली मकसद आफ्नै खेमाको महिलावादी र विपक्षीहरुको सम्भावित विरोधलाई भुत्ते बनाउन हो भन्न सकिन्छ ।

संसदीय पद्धतिमा सभामुख र उपसभामुख पद तठस्थ मानिन्छ्न । राजनीतिक दलबाट सभामुख र उपसभामुख चुनिए पनि पद प्राप्तिसँगै सम्बन्धीत दलबाट अलग हुने विश्वव्यापी मान्यता रहँदै आएको छ । व्यवस्थापिकाको प्रमुख र उपप्रमुख पदमा पुग्ने व्यक्तिको योग्यता, क्षमता,  अनुभवले उक्त पदको गरिमा बढाउने निश्चित छ। बहालवाला उपसभामुखलाई सम्मानजनक बिदाई केवल सत्तारुढ दलको आन्तरिक शक्तिसंघर्षको सिकार बनाइनु हुँदैन भन्ने तर्फ ध्यान दिनु जरुरी देखिन्छ । वर्तमान सजिलो बनाउने नाममा भविष्य असजिलो बनाउने खेल खेल्नु संसदीय लोकतन्त्रको निम्ति महंगो हुनसक्ने छ ।

राजनीति एक अनन्त प्रक्रीया भएको हुँदा हरेक सत्ताले गर्ने कार्य संविधान, कानून, जनता र भविष्यप्रति लक्षित हुनु अनिवार्य छ । केवल मुखले मात्र लोकतन्त्र र  महिला हक हितको वकालत गर्ने अराजनीतिक चरित्र त्याग्दै असल संस्कार बसाउन सके राजनीतिक स्थायित्व झनै संस्थागत हुन जानेछ। आम जनताको चाहना अनुरुप नचल्ने लोकतन्त्रमा सर्वसाधारण नागरिकको भावनाको सम्मान गरिने कल्पना गलत हुन सक्छ । खेमा र व्यक्तिको सत्ता स्वार्थमा अल्झिएको उपसभामुखको राजीनामा र सभामुखको चयन दुई अध्यक्षको रणनीतिको सिकार बन्दै छ । जसले गर्दा आगामी केहि समय सभामुख चयनको संकटमा नेकपा राजनीति रुमल्लिने छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments