तयारीमा तत्काल नजुटे असम्भव

बुधबार, भदौ २०, २०७५



संविधानतः सवै नागरिक समान छन् तर प्राविधिक कठिनाइका कारण सवै नागरिकले समान रुपमा अधिकार उपयोग गर्न पाएका छैनन् । विदेशमा रहेका नेपाली नागरिकले अहिलेसम्म मतदानको अधिकार प्रयोग गर्न पाएका छैनन् ।

संविधान अनुसार तीन वटै तहको निर्वाचनमा १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मताधिकारको अधिकार छ । मतदान गर्ने उमेर समूहका झण्डै २५ लाख नेपाली रोजगारी र अध्ययनको सिलसिलामा विदेशमा छन् । विदेशमा बस्ने नेपालीलाई पनि मताधिकारको अधिकार हुनुपर्ने आवाज लामो समयदेखि उठ्दै आएको छ । केही समयअघि सर्वोच्च अदालतले पनि एउटा रिटमाथि फैसला गर्दै निर्देशात्मक आदेश दिएको छ–‘विदेशमा बस्ने नेपाली नागरिकलाई नेपालमा हुने निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउनू ।’

देश संचालनमा विदेशमा बस्ने नेपालीहरूले पठाएको रेमिट्यान्सको ठूलो योगदान छ । तर, अर्थतन्त्रमा एक तिहाई योगदान गरेका उनीहरू नै मतदानको अधिकारबाट अहिलेसम्म बञ्चित छन् । यो विडम्बना नै हो । सर्वोच्चको आदेशपछि मतदानको व्यवस्था मिलाउन सरोकारवाला निकायलाई थप दवाव पुगेको छ । तर, आवश्यक सम्पूर्ण तयारीमा अहिलेदेखि नै नलाग्ने हो भने आगामी निर्वाचनमा पनि विदेशमा बस्ने नेपाली मतदानको अधिकारबाट बञ्चित हुनेछन् । तसर्थ कानुनी र संरचनागत वातावरण तयार पार्न अहिलेदेखि नै लाग्न आवश्यक छ । यदि त्यो गरिएन भने आदेश कार्यान्वनय सहज छैन् ।

संविधानमा भनिएको छः
–अठार वर्ष उमेर पूरा भएको प्रत्येक नेपाली नागरिकलाई संघीय कानून बमोजिम कुनै एक निर्वाचन क्षेत्रमा मतदान गर्ने अधिकार हुनेछ ।
–अठार वर्ष उमेर पूरा भएको प्रदेशको क्षेत्रभित्र बसोबास गर्ने प्रत्येक नेपाली नागरिकलाई कानून बमोजिम कुनै एक निर्वाचन क्षेत्रमा मतदान गर्ने अधिकार हुनेछ ।
–अठार वर्ष उमेर पूरा भएको गाउँपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिलाई संघीय कानूनमा व्यवस्था भए बमोजिम मतदान गर्ने अधिकार हुनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata