प्रधानमन्त्रीको स्वास्थ्य !

सम्पादकीय

आइतवार, कार्तिक १७, २०७६



गत कात्तिक १६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा आफ्नो स्वास्थ्यबारे ब्रिफिङ गरे । आफू सिकिस्त बिरामी नभएको तर मिर्गौलाले राम्रोसँग काम नगरेको पार्टी नेतालाई जानकारी गराए । करिब १२ वर्ष अघि प्रत्यारोपण गरेको मिर्गौलाले थप काम गर्न असमर्थ भएको जनाउँदै अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको जनाए ।

करिब १२ वर्ष अघि भारतमा सफल मिर्गौला प्रत्यारोपण पश्चात् उनी नियमित औषधी खाइरहेका थिए । औषधीको कारण बिच बिचमा सामान्य समस्या झेल्दै भारत र बैंककमा उपचार गर्दै आइरहेका उनी गत १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउनमा स्वदेश फर्किएका उनी ५ भदौमा फेरि सिंगापुर पुगे । डाक्टरहरूको परामर्श अनुसार नेशनल युनिभर्सिटी अस्पतालमा उनको रगतमा भएको ‘एन्टीबडी ‘ निकालिएको थियो।

सिंगापुरमा सफल उपचार गराउँदै गत २० भदौमा स्वदेश फर्किएका उनी २ कात्तिकमा ग्राण्डी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पुगेका थिए । छोटो समयमा निरन्तर समस्या झेल्दै आएका प्रधानमन्त्री ओली गत बुधवार अकस्मात ग्राण्डी पुगे । सचिवालय लगायत नजिकका मानिसबाट प्रधानमन्त्रीको स्वास्थ्य अवस्था लुकाउन लागि रहे । उनको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै बुधवार आकस्मिक रूपमा डायलासिस गरियो । बिहीबार दोस्रो पटक डायलासिस गरेपछि हाँस्दै अस्पतालबाट बालुवाटार फर्किए ।

प्रधानमन्त्री ओली बिरामी छन् । उनको स्वास्थ्य सामान्य मानिसको जस्तो नरहे पनि दृढ इच्छा शक्तिको कारण कुनै स्वास्थ्य मानिसको भन्दा कम देखिँदैन । सामान्यतया मानिसहरू स्वास्थ्य भन्नासाथ बिरामी वा रोगसँग जोडन पुग्दछन् । तर स्वास्थ्य सिर्फ रोग नहुनु वा बिरामी नहुनु मात्र हैन । वास्तवमा ‘स्वास्थ्य ‘ शब्दले भावनात्मक र शारीरिक उच्चताको स्थितिलाई जनाउँदछ । राम्रो ‘स्वास्थ्य जीवन’ भविष्यमा आउने तनावलाई समाल्दै लामो समय सक्रिय जीवन बिताउने पुँजी बन्दछ ।

विद्धवानहरुको भनाईलाई मान्ने हो भने, शारीरिक, मानसिक, आध्यात्मिक, मनोवैज्ञानिक र सामाजिक दृष्टिबाट सन्तुलित हुनु नै स्वास्थ्य हो । बिरामी नहुनु मात्र स्वास्थ्य होइन । बौद्धिक, मानसिक, सामाजिक, आध्यात्मिक, आर्थिक स्वास्थ्य मजबुत रहेको समयमा प्रधानमन्त्री ओलीको कमजोर शारीरिक स्वास्थ्य त्यति ठुलो समस्याको रूपमा लिन सकिन्न । सही उपचार ,नियमित व्यायाम, सन्तुलित पोषण, पर्याप्त आरामले व्यक्तिको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने र नवीन ऊर्जा पैदा हुने गर्दछ । तमाम कुराहरू प्रधानमन्त्रीको हकमा पोजेटिभ रहेको समयमा केवल शारीरिक स्वास्थ्य सामान्य समस्या मात्र हुन पुग्दछ । लामो समय देखी उपचाररत व्यक्तिहरूमा उपचारकै कारण नियमित कार्य गर्ने क्षमतामा प्रभाव पर्न सक्ने मेडिकल साइन्समा उल्लेख भएको पाइन्छ । लामो समयसम्म चल्ने बिरामी वा रोगले व्यक्तिमा चिडचिडाहट समेत उत्पन्न गर्ने खतरा हुन सक्छ ।

विज्ञान र प्रविधिले ठुलो फड्को मारेको समयमा रोग सामान्य बन्न पुगेको छ । आर्थिक हैसियत र पहुँच भएका मानिसको निम्ति ठुला ठुला रोग पनि सामान्य बन्न पुगेको अवस्थामा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था लुकाउने उनको सचिवालयको नियतलाई कुनै पनि अर्थमा राम्रो मान्न सकिन्न । २००७ साल देखी अस्थिर नेपाली राजनीतिमा नेपाली जनताको चाहना अनुरूप शान्ति, स्थिरता, विकास र समृद्धिको यात्रा शुरु गर्न हतारिएका प्रधानमन्त्रीको स्वास्थ्य आम सरोकारको विषय हो भन्ने उनको सचिवालयले भुल्न मिल्दैन । अस्थिरताको खेती लगाउन मरीहत्ते गर्ने शक्तिहरूलाई बल पुग्ने ढङ्गले समाचार निर्माण गर्न अप्रत्यक्ष सहयोगी बनेको प्रधानमन्त्रीको सचिवालयले बुझ्नै पर्ने कुरा के हो भने रोग लुकाउने भन्दा पनि उचित र आवश्यक उपचार तर्फ ध्यान दिनु हो ।

प्रधानमन्त्रीले स्वास्थ्यकै कारण देखाउँदै आराम गर्न चाहेको खण्डमा बाहेक अन्य कुनै निकाय वा पार्टी भित्रकै शक्तिले उनको विरुद्धमा कुनै कदम चाल्ने अवस्था नरहेको बुझ्दा बुझ्दै उनका सहयोगी मार्फत खेलिएका अप्रिय खेल स्वयम् प्रधानमन्त्रीको हितमा हुने छैन । विगतमा गिरिजाबाबु, शुशिलदाले खराब स्वास्थ्यका बाबजुद सरकारको नेतृत्व गरेको नजिर हामीसँग छ । मित्रराष्ट्र भारतमा शिवसेना नेता उद्धव ठाकरे गम्भीर स्वास्थ्य अवस्थाको साथ पार्टी हाँकिरहेका छन् । त्यसै गरी मुखको क्यान्सरबाट पीडित सरद पवारले बिरामीकै अवस्थामा मन्त्रीपद चलाएका थिए । विलासराव देशमुख, नितीन गडकरी, राम नायक जस्ता नेता गम्भीर बिरामी कै समय मन्त्री पदको जिम्मेवारी समालेका थिए । दृढ इच्छा शक्तिसाथ जिम्मेवारी समाल्न सफल हुँदा रोग गौण हुने गर्दछ । मुलुकको स्वास्थ्य, शान्ति र स्थिरताको निम्ति वर्तमान समयमा प्रधानमन्त्रीको उपचार मुलुकवासीले सहजता पूर्वक लिने हुँदा उनको थप उपचारलाई गम्भीरता पूर्वक लिनु देशको हितमा हुनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata