प्रधानमन्त्रीको वाम राजनीति !

सम्पादकीय

मङ्लबार, फाल्गुन १३, २०७६



यतिखेर मुलुकको राजनीति प्रधानमन्त्री ओलीको परिक्रमा गरिरहेको छ । प्रधानमन्त्रीले नचाहेको र चाहेको दुवै प्रकृतिका घटनामा प्रधानमन्त्री ओली विवादित र रक्षात्मक बन्दै छन्। मुर्छित सपना र चर्को राष्ट्रवादको सफल मार्केटिङ मार्फत सिंहदरबारको शक्तिशाली यात्रा तय गरेका कमरेड ओली विचित्रको समस्यामा जेलिएका छन् । पार्टी अध्यक्ष प्रचण्डलाई चालिस, आफूले पैँतिस र माधव नेपाललाई पच्चिस प्रतिशत शक्ति बाँड्दै चालिस र पच्चिस प्रतिशत माथि शतप्रतिशत शासन गर्न सफल कमरेड ओली अकस्मात् पैँतिस प्रतिशतमा सीमित हुने अवस्था आफ्नै पुत्र समान निवर्तमान मन्त्री गोकुल बाँस्कोटाले गरिदिएका छन् ।

प्रधानमन्त्री ओलीले अत्यन्त भरोसा र विश्वास गरेका निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा एजेण्ट विजय प्रकाश मिश्रसँग कमिसन मोलमोलाई गर्दै गरेको अडियो सार्वजनिक भएसँगै प्रधानमन्त्री रक्षात्मक बन्न विवश छन् । भ्रष्टाचारप्रती शून्य सहनशीलता अप्नाउने वाचामा आफ्नै प्रियपात्रबाट भएको अकल्पनीय असावधानीले आफ्नो राजनीतिक यात्रामा ठुलो ‘ओट’ लागेको महसुस गर्दै छन् । आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने सार्वजनिक वाचा गरेका प्रधानमन्त्री ओलीले सोही वाचालाई थप कडापन दिन भ्रष्टाचारीको मुखै नहेर्ने कसम समेत खाएका थिए। ‘सुखी नेपाली र समृद्ध नेपाल’ निर्माण गर्ने आफ्नो अभियानका सारथीलाई केही दिन अघिमात्र प्रशंसाको पुल बाँध्दै ‘अरू सबै एकातिर, गोकुल बास्कोटा एकतिर’ भन्ने भनाई एक व्यङ्ग्य बनेर फर्किँदा शब्दविहीन बन्दै छन् । आफूले चाहे जस्तो सत्ता अभ्यासको कारण बढ्दै गएका विरोधीहरूको निम्ति आफ्नै सारथीले उपलब्ध गराइ दिएको अस्त्रले प्रधानमन्त्री ओली एकसाथ घेराबन्दीमा पर्न विवश छन् ।

‘सामन्त काटेर साम्यवाद’ ल्याउने राजनीति गर्दै कठिन जेल जीवन भोग्दा जन्मोत्सवको केक त परको कुरा पेटभरी खान नपाएको तितो इतिहास उनका समकालिन साथीहरू बताइ रहेको समय कमरेड ओली दोस्रोपटक प्रधानमन्त्रीको रूपमा सिंहदरबार प्रवेश गर्ने अवसर पाए । असङ्ख्य सपनाको जगमा उदाएको ओली राजनीति दोस्रोपटक प्रधानमन्त्री भएसँगै मुलुक सुशासनमा प्रवेश गर्ने अपेक्षा गरिएको थियो । तर २०७४ साल फाल्गुन ६ गते प्रचण्डलाई लिएर एक व्यवसायीको घरमा लन्च खान पुगेको कारण उनको मूल्य, मान्यता र विधिको शासनमा थप क्षति नआउने विश्वासमा जनताले माफी दिए । दुर्भाग्य भनौं कि संयोग, २०७६ सालको फागुन ६ गते प्रधानमन्त्रीले प्रशंसाका पुल बाधेका निवर्तमान मन्त्रीले उनको भाषणको खिल्ली उडाइदिए ।

तर प्रधानमन्त्री ओली रोकिएनन् । उनी आफ्नो जेल जीवनमा गुमाएका सबैखाले सुख सुविधा अहिले नै लिने हो साथै तमाम मोजमस्ती अहिले नै गर्ने हो भन्ने अवस्थामा पुगेको महसुस हुँदैछ । केक हाम्रो संस्कृति थिएन, होइन भन्ने प्रधानमन्त्रीलाई बुझाउनु पर्ने विषय नै होइन । नेपालको सामाजिक संरचना, जनताको जीवनस्तर, मूल्य र मान्यताको बारेमा कमा, फुलस्टप समेत केलाउन सक्ने प्रधानमन्त्रीले जन्मोत्सव मनाउने नाममा आफ्नो विगत विर्सन किन हतारिए ? सर्वसाधारण समेत आश्चर्यमा डुबेका छन् । नेपालको विकट गाउँमा जन्मेर जनताको ‘सिंह’ बस्ने स्थान सिंहदरबारमा पुगेको समयमा उनीद्वारा गरिने व्यवहार निजी बनेर बस्न सम्भव नै छैन । यसै सेरोफेरोमा प्रधानमन्त्री ओली आफ्नो जन्मथलोलाई सम्झँदै तेह्रथुम पुग्नु आफैमा स्वागतयोग्य र सकारात्मक थियो ।

सानै उमेरमा छोडेको गाउँमा जन्मोत्सव मनाउन पुगेका उनी आफ्नो धर्म , संस्कृति , परम्परा र पदीय हैसियत बिर्सँदै पश्चिमी संस्कृतिको उत्थान गर्न लागीपरेको आरोप खेप्दै छन् । अनुपयुक्त काम गरेर बेकारको दु:ख बेसाउने कलाबाट प्रधानमन्त्री ओली फेरी पनि सच्चिन नचाहेको आमजनताले महसुस गर्न बाध्य भएका छन् । फलेको वृक्षमा ढुङ्गा हान्ने नेपाली चलन उनको सवालमा अपवाद हुने कुरै थिएन । अझ यो भन्दा गम्भीर भूल प्रधानमन्त्रीबाट जानाजान भएको उजागर हुनुले उनी वैचारिक रूपमा भड्किएको सन्देश उनको जन्मोत्सवमा काटिएको केकको आकार , प्रकारले गरेको छ । साथै सामान्य गरिब किसानको छोरो , प्रगतिशील विचार र वर्गीय समाजको वकालत गर्ने उनी सामन्ती शैलीमा भोज भतेर र उपहार वितरण गर्ने स्तरमा ओर्लने कार्यलाई उनकै पार्टी र जनताले पचाउन असजिलो मान्दै छ ।

पार्टीका नेता , कार्यकर्ता , तथा सदस्यले पालना गर्नु पर्ने नेकपाको आचार संहिताको बुँदा नम्बर २ अध्यक्ष एवम् प्रधानमन्त्रीले घोर उलङ्घन गरेका छन् । कसैलाई पनि हेलाहोचो , एकारान्त तथा तँ भन्न पूर्ण रूपले बन्द गर्नु पर्छ । छोरा छोरीको विवाहलाई सरल मितव्ययी बनाउनु पर्छ । जन्मदिन , ब्रतबन्ध , पास्नी जस्ता परम्परागत संस्कारलाई घर परिवारमा मात्र सीमित गर्नु पर्छ भन्ने नेकपाको आचारसंहिताको प्रधानमन्त्रीले खिल्ली उडाउँदै तेह्रथुममा धुमधामसाथ सामूहिक भोज भतेर र ‘केक जात्रा’ सम्पन्न गरेका छन् । मुलुकले ठुलो आसा र भरोसाले हेरेको व्यक्ति निजी चाहनामा लिप्त हुने अवस्था पछि मुलुक विचित्रको अराजकता तर्फ होमिने खतरा अकस्मात् बढेको छ । समृद्ध मुलुक निर्माण गर्ने नाममा नीतिगत भ्रष्टाचारको गन्ध आउनु र सुशासन , विधि र परम्पराको संस्थागत विकास हुने अपेक्षा माथि गम्भीर खेलबाड गर्ने प्रधानमन्त्रीको पछिल्लो गतिविधिले मुलुक , लोकतन्त्र , समृद्धि माथि गम्भीर प्रश्न चिन्ह खडा भएको छ । साथै ‘माइ भिजन’को जगमा ‘भिजन टु एक्सन’ बाहेक केही नदेख्ने प्रधानमन्त्रीको ‘रोडम्याप’मा अचानक आइपुगेको ‘गोकुल काण्ड’ र ‘केक काण्ड’ले प्रधानमन्त्रीको ‘वाम राजनीति’ तासको घरमा परिणत भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments