विचित्रको हतारमा जनता, कछुवा गतिमा सरकार !

सम्पादकीय

शुक्रबार, भदौ १३, २०७६



भनिन्छ, ‘सरदार’ को वस्तीमा ‘नाई’ को के काम ? उल्लेखित भनाइ सिंहदरबारले पेवा बनाउन तम्सिएको जनताको बुझाइ छ । जीवनभर सिद्धान्तको रटान दिने नेपाली वाम आन्दोलन अल्पकालीन सत्ता प्राप्तिलाई सम्पूर्णता सम्झदै सरदारको वस्तीमा नाई बन्न पुगेको छ ।  राजनीतिक परिवर्तनको युग सकियो। अव आर्थिक क्रान्तिमा मुलुक प्रवेश गर्नु पर्छ र गर्नेछ। सिंहदरवारको पछिल्लो नारा हरेक दिन मधुरो बन्दै छ । राजनीतिक परिवर्तनको दौरान लामो समय ओझेलमा परेको जनताका मुर्छित सपना जगाउन वर्तमान नेतृत्वले सम्भव असम्भव सपना एकसाथ जनता सामु पस्कियो। जनताको आवश्यकता र प्राथमिकता भन्दा सत्ताको लहड र चाहनालाई मुलुक परिवर्तनको अचुक अस्त्र देख्ने सरकारी काइदा पछिल्लो समय नराम्रोसँग बरालिएको महशुस जनताले गर्दै छन । लामो राजनीतिक हिंसा, चरम भ्रष्टाचार, असिमित वेथिति, विकृति र विसंगती पछि मुलुकले सही निकास फेला पारेको ठूलो अवसर सिंहदरवारले सुतेर बिताईदियो । अथाह शक्ति र संसदिय अंकगणित सहित संविधान नै सुधार गर्न सक्ने तागत सहित आवधिक सत्ता सुम्पिँदा पनि जनताले ‘नयाँ युगको सुरुवात ‘ भएको सुन्न  र पढ्न पाए पनि   देख्न र महसुस गर्न  पाएनन् ।

गाउँ गाउँमा सिंहदरवार भन्दै जनताको जीवनस्तर रफ्तारकोसाथ परिवर्तन हुँने भाषण ‘जवान’ नहुँदै कुलतमा फस्न पुग्यो। जनताको अचल सम्पतिको मुल्य स्थानिय सिंहदरवारले तोक्ने र ‘सम्पति कर’ लिँदै मोज मस्तीमा रमाउने नयाँ ‘गाउँले बादशाह’ भोग्न बाध्य भएसँगै सिंहदरवारले आफुले गरेको गल्ती र नगरेको गल्तीको सजाय एकसाथ बेहोर्न बाध्य हुन पुग्यो। सत्तामा पुगेका र सत्ता बाहिर बस्न बाध्य व्यक्ति, शक्ति, समुदाय र स्वार्थ समुहको पहुँच सिंहदरवारसँग हुने तर सर्वसाधारण जनता पञ्चायत देखी लोकतान्त्रीक गणतन्त्रसम्म समान समस्याको सिकार बनिरहेको सत्ताले देख्नै सकेन । आर्थिक उदारिकरणसँगै ‘असनको साँढे’ बनेर मुलुक प्रवेश गरेको नीजिकरण र रणनीतिक हिंसा पछि युवा युवतीको बाध्यात्मक विदेश पलायनले मुलुकमा आर्थिक र राजनीतिक द्वैध सत्ता कायम भएको समेत नेपाली राजनीतिले आँखा चिम्ली दियो। राज्य कमजोर भएको समयमा मौलाएको आर्थिक अराजकताले मुलुकको राजनीति गाँज्न पुग्दा संसदीय राजनीति अत्यन्त महँगो बन्न पुग्यो । सिद्धान्तको स्थानमा स्वार्थ र पैसा हाबी हुने कारण समाजको मनोविज्ञान, आर्थिक असमानता, युवा युवतीको जीवनशैली र नविन सोच, दिन प्रतिदिन युवा युवतीको पकडमा पुगेको नविन प्रविधि, शिक्षाको स्तर, दुई किसिमको शैक्षिक जनशक्ति र चरम बेरोजगारीले समाजलाई निरन्तर चलायमान बनाएको सत्ताले बुझ्नै चाहेन ।

मुलुकमा ठूला ठूला आर्थिक घोटाला हुने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अस्तित्व कतै देखा नपर्ने स्थिति लोकतन्त्रको अनुहारमा दाग लगाउन राजी भयो । परम्परागत सरकारी निकाय, संस्था, अदालत , कर्मचारी प्रशासन र सुरक्षा निकायका अंगहरु मुलुकमा परिवर्तन भएको महशुस गर्न समेत राजी भएनन। विगतमा जेल, नेल, कठोर र कठिन जीवन बिताएका ‘राजनीतिजीवी’हरु विगतको ‘ब्याज’ खान हतारिए। राजनीतिक परिवर्तनसँगै लम्बिएको संक्रमणकालले जन्माएका तमाम विशिष्ट र पुर्व विशिष्टहरु राज्य दोहन गर्न किञ्चित हिच्किचाएनन । २००६ साल देखी वर्गिय राजनीति गर्दै आएका वामहरु सत्ता प्राप्तिसँगै पुर्व विशिष्टलाई अथाह सुविधा सहित सामान्ती पारामा नमरुन्जेल पाल्न हतारिए। तर जनताको छाप्रो र झुप्रोमा परिवर्तन ल्याउन जाँगरसम्म देखाएनन् ।

गरिब, शोषित, उत्पीडितको नाममा मौलाएको नेपालको वामपन्थी आन्दोलन संसदीय राजनीतिको स्वाद लिन पल्केसँगै विगत भुल्न हतारिदै छ। सत्ता प्राप्ति र सत्ताको आयु बढाउन लाज लाग्ने गरी जनघाती/देशघाती कामलाई समेत क्रान्तिकारी देख्दै छन । हिजोका सामन्त बिर्साउने गरी महासामन्तको रूपमा परिवर्तन भएका वाम सत्ताधीषहरुको बोली, व्यवहार, जीवनशैलीको विरोध आफै गर्छन। अनि ‘वाम धर्म ‘ पुरा भएको भन्दै राहतको सास लिन्छन । मञ्चमा बसेर अतीतका राजा–महाराजाको किस्सा सुनाउँछन । त्यस्तै भए हामीलाई पनि सत्ताबाट लखेट्छन भन्छन तर मञ्चबाट ओर्लनासाथ ‘महासामन्त ‘ कै शैलीमा प्रस्थान गर्छन । जुन कुरा स्वभावतः असैह्य विषय बन्न पुग्छ । यस्ता विषय अनेक बहानामा सडकमा पोखिन्छ्न । विश्व राजनीतिको इतिहास चिच्चाई चिच्चाई बताइरहेछ प्रतिक्रान्तिको बिउ क्रान्तिकारीको कमजोरीबाट उत्पन्न हुन्छ । जतिसुकै अप्रिय लागे पनि समाज सत्ता भन्दा निकै हतारमा छ । जनताको अथाह तागत भावनामा पोखिन पुगे इतिहास र मतपत्रले मात्र कवचको काम गर्न कठिन हुन सक्छ ।

नकारात्मक सोच र गालीको वर्षाले समृद्धि कदापि आउँदैन । भावनामा बहकिएर गरेको गतिविधिले आफ्नै जीवन, समाज र भविष्यलाई रसाताल तर्फ मोडेको सुइको समेत नागरिकले पाउने छैनन। ‘फास्ट ट्रयाक’ र दौडाहा शैलीमा न्याय र विकास खोज्ने जनताको वाध्यता राजनीतिक दल प्रतीको चरम अविश्वास र राज्य सत्ताको खुइलिएको विगत र वर्तमान नै हो भन्ने मान्न सकिन्छ । विश्व कै महंगो, अल्छी र पट्ट्यार लाग्दो संघीयता र लोकतन्त्रमा जनताको हतारलाई प्रयोग र दुरुपयोग गर्ने अनेकखाले शक्ति विज्ञान, प्रविधि र समाजसँग एकसाथ खेल्न हतारिँदा मोज मस्तीमा रमाएको वाम नेतृत्व र सत्ता भरतपुरमा तीनछक खान बाध्य भएका छन ।

एउटा निश्चित निचोड र धारणा पछी सडक ओर्लने जनसागरले फरक विचार, धारणा, विधि, पद्धति र प्रक्रियामाथि सधै शंका गर्छ । आगो ओकल्छ । सत्तालाई अस्तित्व रक्षाको निम्ति बाध्य बनाउँछ । एकजना मानिस आत्महत्या गर्छ, मर्नेले कसैप्रति औँला ठडाउछ। राज्य अनुसन्धान गर्न बाध्य हुन्छ । सामाजिक सञ्जाल र सडकमार्फत जनता अनुसन्धान नगर्न दबाव र खबरदारी गर्छन । कानुनको पालना गर्दा लोकतन्त्र र राज्य रक्षात्मक बन्छ । यस्तो विचित्रको लोकतन्त्र कसरि मुलुकमा जीवित छ ? न्याय खोज्दा विधि प्रक्रिया किन अन्यायमा पर्छ ? यसको जवाफ राजनीतिले खोज्नै पर्छ।

सत्ता उन्मादमा सर्वशक्तिमान महशुस गरेको सरकार विचित्रको रणनीतिक दाउपेच भरतपुरमा जनता मार्फत पोखिएको देख्नासाथ एक्कासि सपनाबाट ब्युँझिन खोज्दै छ । आफ्नो प्रतिस्पर्धी कोही नभएको, काँग्रेस अस्तित्व रक्षामा थला परेको, पार्टी एकलौटी कब्जा गर्न सफल भएको, सिङ्गै नेपाल र नेपाली आफ्नै मुट्ठीमा रहेको अभिमानबाट फर्कन भरतपुरले आदेश दिएको छ । आफूलाई सर्वशक्तिमान ठान्ने नेतृत्वले तत्काल विवेक प्रयोग गर्दै १८० डिग्रीमा सच्चिन जरुरी देखिन्छ। सरकार कछुवा गतिमा हैन । हवाई कल्पनामा पनि हैन । ४०-५० वर्ष पछाडिका सपनामा हैन । जनताको दैनीकीमा घोत्लिनु पर्छ। सत्ताले महसुस गर्नै पर्छ । उनीहरु जनताको सोच ,चाहना र आवश्यकता अनुसार देखिन सक्नु पर्छ । उचित व्यक्तिलाई उचित जिम्मेवारीसाथ जनताको घर आँगनमा सरकारको सकारात्मक उपस्थिति हुनु पर्छ । जनताले आफ्नै सरकार आएको देख्न, सुन्न र महशुस गर्न पाउनु पर्छ । अन्यथा अध्यक्ष प्रचण्डले देखेको खतरा ‘राजा–महाराजा फाल्ने जनताले कम्युनिस्टलाई पनि लखेट्न सक्छन्’ भन्ने  यथार्थमा परिणत हुन पनि सक्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata