लगानी सम्मेलन पछि सरकारको दायित्व

आइतवार, चैत्र १७, २०७५



वर्तमान सरकार निर्माण भए लगत्तै विज्ञ अर्थमन्त्रीले मुलुकको तत्कालिन अर्थतन्त्रको अवस्था दर्शाउन श्वेत पत्र जारी गरे । समृद्धिको भोक जगाउँदै मतपत्र मार्फत प्राप्त आवधिक सरकारले स्वेतपत्र जारी गर्नुलाई अर्थशास्त्रीहरुले खुलेर प्रशंसा गर्न सकेनन् । मुलुकमा राजनीतिक स्थिरता कायम गर्दै द्रुत विकास शुरु गर्दै समृद्धिको महाअभियानमा हिडनु पर्ने सरकार श्वेत पत्र  जारी गर्दै विगतलाई दोष दिन तम्सिँदा मुलुकमा लगानी गर्ने वातावरण नरहेको सन्देश सरकार कै कारण प्रबाह हुन पुग्यो ।

श्वेत पत्रले सिर्जना गरेको विगतको गल्ती सच्याउने अवसर मात्र हैन अन्तराष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानी गर्न उपयुक्त वातावरण भएको सन्देश दिने उदेश्यसहित गर्न लागिएको लगानी सम्मेलन गत चैत्र १६ र १७ गते सम्पन्न भइसकेको छ । राजनीतिक संक्रमण समाप्त भएको भन्दै औद्योगिक व्यवसायिक क्षेत्रका ऐन नियम निर्माण एवम संशोधन गरेर लगानी मैत्री बनाउने सरकारी प्रयास स्वागत योग्य मानिएको छ । सरकारलाई समृद्धिको ज्वरो आउनुलाई सकारात्मक मानिएको छ । जनतामा शान्ति , स्थिरता र विकासको भोक जगाइएको छ । लगानी सम्मेलन मार्फत अन्तराष्ट्रिय लगानी मुलुक भित्र्याउने सरकारी प्रयास आफैमा सकारात्मक हुँदा हुँदै सरकारका उदेश्य र लक्ष्य पुरा नहुने विगत देखी वर्तमान सम्मका अन्तरनिहित रोग निदान भएको देखिदैन ।

राजनीतिक परिवर्तनको दौरान करिब निकम्मा बनाइएको कर्मचारी संयन्त्र र भ्रष्टाचार मुखी सोच र व्यवहारलाई परिवर्तन गर्ने कुनै कार्यक्रम र अठोट देखा नपर्नु लगानी सम्मेलनको मुल लक्ष्य प्राप्त गर्न असफल हुने विश्लेषकका धारणा झुटो साबित गर्न सरकार सफल हुनु पर्नेछ । विगतका राजनीतिक परिवर्तन पछी राजनीतिको मैदानमा छुटेका वा छुटाइएका राजनीतिक शक्तिले जारी राख्ने अघोषित नेपाल बन्दको क्यालेन्डर सदा सदाको निम्ति बन्द गराउन सरकारले धेरै मेहेनत गर्नु अनिवार्य हुनेछ ।

एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसञ्चालनसम्बन्धी उपाध्यक्ष होङ ली अमेजन ,माइक्रोसफ्ट, पावर चाइना लगायतका कम्पनीका प्रतिनिधी समेत मात्र हैन भारतबाट निर्माण सामाग्री, लिड लाइट , हाइड्रोपावर लगायत विभिन्न क्षेत्रमा काम गरिरहेका संस्थाका प्रतिनिधिहरु समाबेश हुनुले सम्मेलन पश्चात बल सरकारको कोर्टमा पुगेको छ । लगानी सम्मेलनमा इण्डियन इन्स्टिच्युट अफ पब्लिक पोलिसीका निर्देशक केसी सुन्दरम, इवाइका साझेदार आर वालाचन्दर, किङ्गर इलेक्ट्रोनिक्सका संचालक विनोद किङ्गर, इन्भारो हाइलाइट प्राइभेट लिमिटेडका निर्देशक देवेन्द्र कुमार सिंह, टेरेफिर्मा इन्टरनेश्नलका अध्यक्ष काजेम सामन्दरी, सिनर्जी इनभारोनिक्सका प्रवन्ध निर्देशक अजे पोद्दार लगायतका सहभागिताले सरकारले पहिलो चरणको युद्ध जितिसकेको छ ।

४० देशका ६ सय भन्दा बढी विदेशी लगानी कर्ताको जमघटमा लगानी बोर्डले ७७ वटा परियोजना प्रस्ताव गरेको थियो । फितलो व्यवस्थापन सहित सम्पन्न लगानी सम्मेलनमा १६ परियोजनामा १७ आवेदन पर्नुका साथै १५ वटा सम्झौता भएको जनाइएको छ । आगामी अप्रिल २० तारिख सम्म आवेदन खुला गरिने लगानी कर्तालाई राम्रो र व्यवसायिक सहजिकरण सरकारले गर्ने छ । लगानी प्रकृया  झन्झट रहित र सहज ढंगबाट अगाडी बढाउन एक द्वार प्रणाली तयार गरिएको जनाइएको छ ।

समृद्धिका लागि वैदेशिक लगानी आवश्यक रहे पनि अपरिहार्य नभएको बुझ्दै उचित लगानी मात्र स्वीकार गर्ने नीति चयन गर्नु पर्नेछ । समृद्धिको निम्ति वैदेशिक लगानीलाई सहयोगी औजार मात्र मान्दै अनिवार्य र आवश्यक औजारको रुपमा उपयुक्त योजना, कानूनी राज्य प्रणाली, कामको वातावरण, सहज सुविधा एवं सुरक्षित लगानी वातावरणमा ध्यान दिनु पर्नेछ ।  अर्थतन्त्रको क्षमता बढाउँदै थप लगानी प्राप्त गर्न सरल प्रशासन नीति र पारदर्शिता हुनु पर्नेछ ।

नेपालमा पछिल्लो समय जमिनको मुल्य आकास पुर्याइएको छ । जसको कारण लगानी कर्ताको लागत बढने अवस्था छ । सेवा मुलक उद्धोग भन्दा उत्पादन मुलक उद्धोगले रोजगारीको अवस्था बढाउने हुँदा लगानी पनि उत्पादन मुलक क्षेत्रमा खोज्नु उचित हुनेछ । राजनीतिक परिवर्तनको दौरान मुलुकमा लगानी कर्तालाई ठग भन्ने जबर्दस्त सोच विकास गरिएको छ । लगानी कर्ताहरु ठग हैनन् । राज्यका आम्दानीका स्रोत हुन भन्ने बुझाउन सरकार र लगानीकर्ता सामाजिक कार्यसँग जोडिनु पर्नेछ ।

लगानी कर्ताहरु नाफाको निम्ती आउने हुँदा पूँजीको सुरक्षा र नाफाको सुनिश्चितता उनीहरुको प्राथमिकतामा पर्नेछ । वैदेशिक लगानी कर्ताले सरकारको वाचा र व्यवहारको सूक्ष्म विश्लेषण गर्ने हुनाले सम्मेलन गर्न मात्र हौसने गरेका प्रतिबद्धता पूरा नगर्ने रोग कम्तिमा अव उप्रान्त नदोरिने ग्यारेन्टी व्यवहार मै उतार्नु पर्नेछ । लगानी बोर्ड ,परराष्ट्र र अर्थमन्त्रालय हाबी भएको लगानी सम्मेलन नतिजा निकाल्न असफल रहे भविष्यमा सरकार थप दवावमा पर्ने छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata