कम्युनिष्ट जोगाउने नेता

बुधबार, जेष्ठ ३, २०७४



जीवराज सँग संगत

वि.सं. २०२२ सालतिर देशका विभिन्न भागमा २०–२२ वटा कलेज खोलिएका थिए । तर ती कलेजबाट परीक्षा दिने अनुमति नपाएकाले ती सवै कलेजका विद्यार्थीहरूले ‘हामीलाई परीक्षा दिने बाटो खोलिदे’ भन्ने माग गरिरहेका थिए । तर सरकारले उनीहरूको माग पूरा गरिदिएको थिएन । हामीले पनि त्यो मागलाई आन्दोलनकै रूपमा अगाडि बढाउने निस्कर्षका साथ पर्चा छाप्यौँ र सवैतिर छ¥यौँ । हाम्रा विरोधीहरू पनि स्वतः हामी विरुद्ध सक्रिय थिए । उनीहरूले ती पर्चा मैले पढाउने स्कूलमा पनि लगेर छरिदिएछन् ।

तत्कालिन अञ्चलाधीशले ‘मोदनाथले पढाउने स्कूलमा पर्चा भेटियो, पर्चा उसैले छापेको हो’ भनेर मलाई र जीवराज आश्रितलाई प्रहरीले पक्र्यो र हामी विरूद्ध राजकाजको मुद्दा चलायो र तीन वर्षको जेल सजाय तोकेर जेलमा थुन्यो । जेलमा एक वर्ष बसियो । जीवराजजी पहिलेदेखि नै कम्युनिष्ट पार्टीको सदस्य हुनुभएको थियो । उहाँले पार्टी संगठनमा र मैले सांस्कृतिक फाँटमा काम गरिरहेका थियौँ । त्यसपछि हामीले सर्वोच्च अदालतमा रिट दायर ग¥यौँ । अदालतको आदेशमा १ वर्षपछि हामी रिहा भयौँ । त्यसपछि अझ गहिरिएरै काम गर्नुपर्छ भनेर हामी लाग्यौँ ।

मदनसँग भेट

काठमाडौँबाट रिहा भएपछि म फेरि भैरहवा पुगेँ । लुम्बिनी कलेजले फेरि काम थाल्नुपर्छ भनेको थियो । तर त्यहाँ पढाएर बस्ने स्थिति नै थिएन । पुष्पलालले ‘बनारस आउनुस’ भन्नुभयो । म बनारस पुगेपछि उहाँले ‘तपाईले सांस्कृतिक फाँट हेर्नुपर्छ’ भनेर जिम्मेवारी दिनुभयो । हामीले ‘नेपाली जनवादी क्रान्तिकारी सांस्कृतिक संघ’ बनायौँ ।

त्यसको लागि हामीले ‘नयाँ जनवादी संस्कृति’ दस्तावेज पनि तयार पा¥यौँ । त्यो प्रकाशित पनि भएको छ । २०२६ देखि २०३२ सालसम्म म भारत बनारसमै रहें । त्यहाँबाट विभिन्न जिल्लामा जाँदै, प्रशिक्षण चलाउँदै सांस्कृतिक संगठनको काम अघि बढायौँ । त्यति नै बेला हामीले बनारसमा साहित्य सम्मेलनको आयोजना गर्यौं ।

त्यही क्रममा ‘मदन भण्डारी वृन्दावनबाट यहीं पढ्ने गरी आएका छन्, उनले कविता लेख्छन्’ भन्ने खवर पाइयो । हामीले उहाँलाई बोलायौँ । उहाँमा कम्युनिष्ट विचार पलाइसकेको रहेछ । उहाँले बडो मीठो गरी राम्रा कविता सुनाउनुभयो । उहाँले मलाई ‘मैले एउटा उपन्यास लेखेको छु, हेरिदिनुहोस्’ भन्नुभयो ।

मैले हेरेँ र केही सुझाव पनि दिएँ । हामीले उहाँलाई पार्टीमा आबद्ध हुन आग्रह गर्‍यौँ । उहाँले ‘मेरा भाइबहिनीहरू धेरै छन्, त्यसैले म अहिले नै पार्टीमा लाग्न सक्दिनँ’ भन्नुभयो । मदनको प्रतिभा देखेर हामीले धेरै कोसिस गरी उहाँलाई सांस्कृतिक संघको सदस्य बनायौँ । संस्कृतमा आचार्य गरिसकेपछि मदन घर जाने निचोडमा पुग्नुभयो ।

मदनलाई पार्टीमा आवद्ध गराउने उद्देश्यसहित म पनि नेपाल फर्किएँ । मदनका परिवार ताप्लेजुङबाट झरेर झापा र मोरङको सीमाना इटहरामा बस्न थाल्नुभएको रहेछ । उहाँका बा–आमा बुढा–बुढी भईसक्नु भएको रहेछ र काम गर्ने मान्छे नभएर जग्गा जमिन पनि बाँझै रहेछ । मदनका बाले मलाई देखाएर ‘उहाँ को हो’ भनि सोध्दा ‘मलाई बनारसमा पढाएका गुरू हुनुहुन्छ’ भन्नुभयो । उहाँले घरमा पुगेपछि पनि ‘पारिवारिक अवस्थाले म अहिले नै पार्टीमा लाग्न सक्दिनँ’ भन्नुभयो । मैले भने ‘राजनीतिक फाँटमा काम नगरेपनि सांस्कृतिक फाँट हेर्नुहोस्’ । सांस्कृतिक फाँट हेर्दै जाँदा उहाँमा पनि सक्रियता बढ्दै गयो ।

rajniti

मेरो मदनको घरमा जाने–आउने क्रम चल्दै रह्यो । एक दिन रातभर जीवराजजी र मैले मदनका बालाई सम्झायौँ । उहाँले भन्नुभयो ‘तपाईलाई मेरो छोराले गुरू भन्छ, गुरूले नै यसरी सम्झाएपछि, त खुशीसाथ जा बाबु’ भन्नुभयो । त्यसपछि मदन क्रमशः पार्टीमा सक्रिय हुँदै जानुभयो ।

सहयात्री नेताको मूल्यांकन 

मदन भण्डारी
तेजिलो दिमाग, राजनीति धार बुझ्न सक्ने व्यक्तित्व हुनुहुन्थ्यो मदन । सबैलाई मिलाएर लैजान सक्ने क्षमता उहाँमा थियो । मदन भएको भए पार्टीमा सायद गुटगत भावना पनि विकसित हुने थिएन । नयाँ विषय ल्याउन सक्ने र त्यसलाई स्पष्ट रूपमा बुझाउन सक्ने क्षमता मदनमा थियो । भाषणकला उहाँको बेजोड थियो ।

जीवराज आश्रित
जीवराज संगठनमा निकै कुशल हुनुहुन्थ्यो । कार्यकर्ताहरूलाई अनुशासनमा राख्न उहाँ निकै कुशल हुनुहुन्थ्यो । उहाँको उपनाम पनि ‘कुशल’ नै थियो ।

 श्रद्धा लाग्ने नेपालका नेताहरू को–को हुन् ?
पुष्पलाल, मदन भण्डारी, जीवराज आश्रित, मनमोहन अधिकारी, नेत्रलाल आदिलाई श्रद्धा गर्छु । कांग्रेसमा विपी कोइराला र गणेशमानको महत्व बुझेको छु । एमालेमा केपी ओली, माधव नेपाल, वामदेव गौतमहरू र युवा पुस्ताका सक्रिय साथीहरुबाट विशेष आशा गरेको छु ।

कुराकानीमा आधारित

हामीले त्यति प्रयत्न नगरेको भए, यो परिवर्तन हुने थिएन

130 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank