मन्त्रीको स्वघोषित सम्पत्ति विवरण ‘झारा टार्ने’ काममै सीमित

बिहिबार, जेष्ठ १०, २०७५



‘भ्रष्टाचार निवारण ऐन, २०५९’ ले सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको मितिले ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण पेस गर्नुपर्ने व्यवस्था गरेको छ । म्यादभित्र सम्पत्तिको विवरण पेस गर्न नसक्ने व्यक्तिले कारण उल्लेख गरी म्याद थपका लागि अनुरोध गरेमा सम्बन्धित निकाय वा अधिकारीले बढीमा ३० दिनसम्मको म्याद थप दिनसक्ने व्यवस्था छ । म्यादभित्र विवरण पेस नगरेमा त्यस्तो व्यक्तिलाई पाँच हजार रुपैयाँ जरिवाना गरी निज र निजको परिवारको नाममा गैरकानुनी सम्पत्ति रहेको अनुमान गरी सम्बन्धित निकाय वा अधिकारीले अनुसन्धान गर्न सक्ने व्यवस्था ऐनमा छ ।

‘अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८’ को वि.सं. २०५९ मा भएको दोस्रो संशोधनमा ‘सम्पत्ति विवरणसम्बन्धी व्यवस्था’ गरिएको छ । यसैगरी सार्वजनिक पद धारण गरेको व्यक्तिले नियमित रूपमा सम्पत्ति विवरण पेस गरे वा नगरेको र सम्पत्ति विवरण राख्न तोकिएको सरकारी कार्यालय, सार्वजनिक संस्था वा निकायले नियमित रूपमा त्यस्तो सम्पत्ति विवरण राखे वा नराखेको अनुगमन गर्ने जिम्मेवारी राष्ट्रिय सतर्कता केन्द्रलाई दिइएको छ । सम्पत्ति विवरण पेस नगरेको देखिएमा कारबाहीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगसमक्ष लेखी पठाउन, सम्पत्तिको अस्वाभाविक उपभोग र बचत देखिएमा सरोकारवाला व्यक्तिबाट थप विवरण माग गरी अनुसन्धान गर्नेलगायतको जिम्मेवारी पनि केन्द्रलाई दिइएको छ ।
कानुनी प्रावधानका आधारमा हेर्दा सम्पत्ति विवरण पेस गर्ने कार्य अत्यन्त गम्भीर र जिम्मेवारीपूर्ण हो । तर, व्यवहारमा भने यो झारा टार्ने काममा मात्र सीमित भएको देखिन्छ ।

स्वघोषित सम्पत्तिका अनेक रुप
प्रधानमन्त्रीसहित सवै मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेपछि विभिन्न टिप्पणी सुरु भएको छ । ४० करोडको शेयर र डेढ सय विघा जमिन भएका भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठदेखि आफ्नो नाममा केही पनि सम्पती नभएको देखाउने विना मगरसम्म सरकारमा छन् ।
अधिकांश मन्त्रीले सम्पती श्रीमतीको नाममा रहेको देखाएका छन् । महिला बालबालिकामन्त्री थममाया थापासँग म्याग्दीको बेनीमा सात आनामा बनेको घर, आमाले दिएको एक तोला सुन र विभिन्न बैंकमा गरेर १५ हजार रुपैयाँ नगद छ । यो मन्त्रीहरूको स्वघोषणा हो । अधिकांश मन्त्रीले ससुरालीबाट आएको देखाएका छन् भने सम्पत्ति पनि श्रीमतीकै नाममा रहेको देखाएका छन् ।

सुनको धनी मन्त्रीमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी देखिएका छन् । उनले सम्पत्तिमा सवैभन्दा मन्त्री महासेठलाई समेत सुनमा टपेका छन् । अधिकारीले ६० तोला र महासेठले ५२ तोला सुन देखाएका छन् ।

वर्तमान सरकारमा पटक–पटक मन्त्री भएका पनि छन् । उनीहरूको सम्पत्ति विवरण हेर्दा अनौठो लाग्छ ।

भुमीगत र जेलमा धेरै समय विताएका प्रधानमन्त्री केपी ओलीसँग भक्तपुरको सूर्यविनायक नगरपालिकामा डेढ रोपनी जग्गामा ३ तले दुइवटा छन् । झापाको पृथ्वीनगरमा १० कट्ठा जमीन छ । यो सबै स्वआर्जनबाट भएको उल्लेख छ । पदमा रहँदाको पारिश्रमिकलाई हिसाब गर्दा उनले जोडेको सम्पत्ति अस्वभाविक देखिन्छ ।

ऊर्जामन्त्री वर्षमान पुन ०६३ को अन्तरिम सरकारमा शान्तिमन्त्री थिए । त्यसयता उनी दुईपटक सांसद भए । ०६८ मा गठन भएको बाबुराम भट्टराई नेतृत्व सरकारमा अर्थमन्त्री भए । उनकी श्रीमती ओनसरी घर्ती तीनपटक सांसद भइन् । त्यसमध्ये अघिल्लो संसद्को सभामुख पनि थिइन् । पुन अहिले उर्जा मन्त्री छन् । तर उनले २०६३ मा सार्वजनिक गरेको सम्पत्ति विवरणमा कुनै फेरबदल भएको देखिदैन ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेल पाँचौ पटक सरकारमा छन् । तर पहिलो पटक मन्त्री भएदेखि अहिलेसम्म एउटै सम्पत्ति विवरण पेश गरिरहेका छन् ।
शान्ति प्रकृयामा आउँदा मातृका यादवसँग नगद थिएन । करिब २ लाखको पुर्खौली जग्गा थियो । ३ लाख बराबरको सुन र चाँदी थियो । त्यस बाहेक कुनै सम्पत्ति थिएन । यो वीचमा उनी एक पटकमात्र नौ महिने सरकारमा मन्त्री भए । अहिले उनीसँग चापागाउँमा मात्र एक करोडमा घडेरी छ । १६ तोला सुन, ५ लाख बचत र एउटा गाडी छ । थप ५० लाख बराबरको तराइमा घडेरी छ ।

शान्ति प्रकृया लगत्तै माओवादीले सम्पति सार्वजनिक गर्दा शक्ति बस्नेतसँग नगद थिएन । करिब एक लाख पर्ने दुइ रोपनी खेत र करिब ५ हजारको सुनमात्र थियो । यस वीचमा उनी एक पटक प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार, तीन पटक सांसद र तीन पटक मन्त्री भए । अहिले उनीसँग १७ लाख नगद, ३ लाख १० हजारको शेयर, ५ तोला सुन र १० केजी चाँदी छ ।

शान्ति प्रकृयामा आउँदा बादलसँग एक रुपैँया पनि नगद थिएन । चितवनमा २ कठ्ठाको घडेरी थियो । साँढे १ तोला सुन थियो । त्यसयता उनी एक पटकमात्र नौ महिना रक्षा मन्त्री भए । अन्तरविरोधपछि पार्टी फुटाएर आन्दोलनमा होमिए । र पनि उनीसँग १४ हजार ६ सय रुपैयाँको शेयर, चितवनमा घर, ६ तोला सुन र ६ लाख ८० हजार नगद छ । थप दुइ वटा कुकुर पनि छन् ।

यी पनि पढ्नुहोस् 

भौतिक पूर्वाधारमन्त्री महासेठ सबैभन्दा धनी मन्त्री ! श्रममन्त्री गोकर्ण विष्ट ऋणमा

प्रधानमन्त्री केपी ओलीदेखि मन्त्री र राज्यमन्त्रीसम्मको सम्पत्ति कति ?

 

616 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank