फेरि पनि धनको क्षति, जनतालाई सास्ती नहोस्

शुक्रबार, भदौ ८, २०७५



काठमाडौँ । वर्षामा हिलो र हिउँदमा धुलो केन्द्रीय राजधानीका सडकहरूको विशेषता नै बनेका छन् । वर्षासँगै आहाल बनेका सडक र खाल्डाखुल्डीमा परेर पल्टिएका सवारी साधनलाई राज्यले देखेन वा नदेखेझैँ गरेर बस्यो । सडक मर्मत गर्नेतर्फ राज्यको ध्यान पुग्न सकेन । सोही कारण अहिले फेरि राजधानीको सडकमा अर्को समस्या थपिएको छ–ट्राफिक जाम ।

हिजोआज जुनसुकै सडकमा पनि जामको समस्या छ । पूर्वमा जाम छ, घुमेरै भएपनि पश्चिमतिरबाट यात्रा तय गरौँ भन्दा पनि उस्तै जाम । जतातलै जामैजाम । जामको कारण बनेको छ–भदौ १४ र १५ मा हुने बिमस्टेक सम्मेलन ! केही दिनयता सरकारलाई सडक मर्मतको छटपटी भइरहेको छ । दिउँसो सडकै जाम गरेर मर्मत भइरहेको छ । जसकारण केहीदिनदेखि यात्रुले सास्ती खेपिरहेका छन् ।

खाल्डाखुल्डी सडकमै विदेशी पाहुनाको स्वागत हुनुपथ्र्यो भन्ने होइन । टल्किने सडक र न्यानो स्वागतबाटै विदेशी पाहुनाको स्वागत गरिनुपर्छ । तर, त्यसका लागि राज्यले किन बेलैमा सोचेन र गुणस्तरीय काममा लागेन भन्ने मात्रै हो ।

बिमस्टेक सम्मेलनमा आउने पाहुना हिड्ने बाटो मर्मतका लागि सरकारले द्रुत गतिमा काम अगाडि बढाएको हो । अहिलेको मर्मतमा ढिलासुस्ती छैन, घण्टौ जाम गराएर भएपनि सडक कालोपत्रे भइहाल्छ । मुख्य सडकमा बाटो छेकेरै भइरहेको कालोपत्रेको असर सम्पूर्ण सडकमा परेको छ । काम रफ्तारमा हुन राम्रो पक्ष हो ।

तर, नियमित मर्मतका काम भएका भए अहिलेको जामको सामना जनताले गर्नुपर्ने थिएन । कतिपय अवस्थामा त एम्बुलेन्स समेत रोकिनुपर्ने अवस्था आउँछ । यातायातका साधनलाई यसरी असर नपर्ने सरकारले काम गर्नुपर्छ । जब भयो राती तव बुढी ताती भन्ने उखान झै भइरहेको सडक मर्मत दीर्घकालिन समाधान हुँदै होइन । अहिलेको कामको गुणस्तर र प्रकृति हेर्दा बिमस्टेक सम्मेलनको आसपासमै फेरि पुरानै अवस्थामा सडक पुग्ने देखिन्छ ।

८ मिटरभन्दा ठूला सडक मर्मतको काम सडक विभागले गरिरहेको छ । माइतीघर–तिनकुने, थापाथली–त्रिपुरेश्वर–कलंकी, चक्रपथ, रत्नपार्क, सिनामंगल–डिल्लीबजार, जमल–लैनचौर, बालुवाटार, नक्साल, डिल्लीबजार लगायतका सडकमा खाल्डाखुल्डी पुर्ने काम विभागले गरिरहेको छ । चाबहिल–जोरपाटी, चक्रपथ–महाराजगन्ज खण्ड भने मेलम्ची खानेपानी आयोजनाले मर्मत गरिरहेको छ  । हतारमा गरिएका काम गुणस्तरीय छैनन् ।

अहिलेको मर्मतले गरे सकिन्छ भन्ने उदाहरण पनि दिएको छ । तर, सरकार किन दृढ इच्छाशक्तिसहित विकास निर्माणको काममा लाग्दैन भन्ने प्रश्न पनि छ । सरकारी निकाय भने नियमित काम भनेर ढाँटिरहेको छ । नियमित वार्षिक कार्यक्रम भित्रै रहेर सडक मर्मत भइरहेको सडक विभागको तर्क पत्याउने अवस्थामा जनता छैनन् ।

भदौ १४ र १५ मा हुने बिमस्टेक सम्मेलन भूकम्प जस्तो अपर्झट हुन लागेको होइन । पूर्व निर्धारित सम्मेलनका लागि हतारहतारमा काम गरेर जनतालाई सास्ती र मुलुकलाई हानी गर्ने काम भइरहेको छ । बेलैमा सोच आएको भए गुणस्तरीय काम हुन सक्थ्यो र जनताले सास्ती पनि पाउँने थिएनन् । अवका दिनमा यसरी टालटुले भन्दा योजनावद्ध ढंगले गुणस्तरीय काम गर्नेतर्फ राज्य लाग्नुपर्छ ।

534 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank