केपी ओली वरिपरी घुमेको नेपाली राजनीति

बुधबार, जेष्ठ २, २०७५



काठमाडौँ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले मंगलबार राजधानीमा युवा संघ नेपालको २८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा भनेका थिए ‘दुई पार्टीका नेताहरूलाई दुईतिर फर्केको तस्बीर राखेर गलत प्रचार गर्नेहरूलाई अहिले सन्तोष मान्न दिऊँ तर हामी दुई/तीन दिनको समय राखेर एकताको मिति घोषणा गर्न सक्छौँ । पत्रकारहरू भोलि बालुवाटारमा हेर्न आए हुन्छ, त्यहाँ हामी एकताको तयारी गर्दैछौँ ।’

नभन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार बिहान बालुवाटार छिरे । ओलीले भनेझैँ दुई अध्यक्षबीच एकताको प्रक्रियालाई अन्तिम रुप दिइयो । ओली–प्रचण्ड एक घण्टासम्म एक्लाएक्लै वार्ता गरे अनि साक्षीको रुपमा एमालेबाट विष्णु पौडेल र माओवादीबाट जनार्दन शर्मालाई सँगै राखे । छलफलपछि उनीहरू सवैले केही सहयोगीसहित सामूहिक तस्विर पनि खिचाए ।

केही समयअघि एमालेका एक पदाधिकारीले भनेका थिए, ‘एकता भएपनि नभएपछि त्यसको मुख्य जिम्मेवारी अध्यक्ष कमरेड नै हुनुहुन्छ ।’ ओलीले प्रचण्ड र एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाललाई समान बचन दिएको विषय बाहिरिएसँगै माओवादी कार्यकर्ताहरू ओलीविरुद्ध सामाजिक सञ्जालमा आलोचनाको स्तरसम्म झरेका थिए । तर, ओलीले एकता हुन्छ भन्दै तयारी अवस्थामा रहन कार्यकर्ताहरूलाई आग्रह गर्दै आएका थिए । प्रचण्डले पनि सार्वजनिक रुपमा एकताको विषय उठाए पनि निकटवर्तीहरू सँग भने एकताबारे अझै टुंगो लागिनसकेको बताएका थिए ।

ओलीले एकतापछि समृद्धि, सुशासन र राष्ट्रिय स्वाधीनताको अभियान सशक्त हुने बताउँदै तयारीमा रहन युवा पंक्तिलाई आह्वान गरेको भोलिपल्टै एकताको विषय टुंग्याएका छन् । ओलीको पार्टी एमाले र सत्तारुढ दल माओवादी केन्द्र मात्रै होइन, विपक्षी दल कांग्रेस समेत ओलीकै वरिपरी घुमेको छ ।

840 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank