वान टु वान वार्ता र अड्कलबाजी

आइतवार, माघ २८, २०७४



काठमाडौँ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने र निर्वाचनपछि पार्टी एकता गर्ने घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको वार्ता लम्बिदै जाँदा विभिन्न अड्कलबाजी हुन थालेको छ । प्रचण्डले एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै केपी ओलीलाई दिन नसकिने स्पष्ट पारेका छन् । उनले पार्टी एकता नभए वाम एकता धरापमा पर्न सक्ने संकेत समेत गरेका छन् ।

वैचारिक र सांगठनिक विषयमा सहमति जुटाउन भन्दै ओली र प्रचण्डले वान टु वान वार्ता गरिरहेको बेला सार्वजनिक रुपमा नकारात्मक टिकाटिप्पणी सुरु भएको छ । प्रचण्डले अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक रोज्न ओलीलाई सार्वजनिक रुपमै आग्रह गरेपछि ओलीले तत्काल पार्टी शीर्ष नेताहरूसँग सल्लाह लिए । वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र नेता सुवास नेम्वाङले पार्टी एकतालाई छिटो टुंगोमा पु¥याउन एकीकृत पार्टीको नेतृत्वका विषयमा नयाँ मोडालिटी प्रस्ताव गर्न सुझाव दिएका छन् ।

ओली र प्रचण्डले वान टु वान वार्तामा के–के सहमति गरे उनीहरू दुई नेतालाई मात्रै थाहा छ । भद्र सहमति गर्ने तर कार्यान्वयन नगर्ने आरोप लागिरहेको बेला ओली र प्रचण्डले कम्तिमा पार्टीका एक–दुई जना नेतालाई सँगै राखेर वार्ता गर्नुपर्ने थियो । वान टु वान वार्ताले एउटाले सहमति भएको हो भन्ने र अर्कोले भएकै छैन् भन्ने अडान, आरोप–प्रत्यारोपको स्थिति आउन सक्छ ।

लिखित सहमति नहुने र एक्लाएक्लै गरिने वार्ताको विषयलाई लिएर भोलि आफु अनुकुल व्याख्या हुने निश्चित छ । त्यसकारण ओली र प्रचण्डले अव एक्लाएक्लै होइन, एकता संयोजन समितिमार्फत नै सवै विषयको टुंगो लगाउनुपर्छ ।

राजधानीमा केही समयअघि भएको एक कार्यक्रममा एमाले उपाध्यक्ष वामदेव गौतमले भनेका थिए ‘केही विषयमा पक्कै समस्या छन् । समस्या नभएको भए उहिल्यै पार्टी एकता भइसक्थ्यो । ठूलो पार्टीको नाताले एमाले बढी जिम्मेवार हुनुपर्छ । नेता तथा कार्यकर्ता सोही अनुसार अगाडि बढ्नुपर्छ ।’ स्रोतका अनुसार समस्याको मुख्य गाँठो भनेकै प्रचण्डलाई अध्यक्ष नभइ नहुने र ओली अध्यक्ष दिन नसक्ने नै हो । त्यसका साथै अन्य सांगठनिक र वैचारिक विषय पनि छदैछन् । यस्तो स्थितिमा वान टु वान वार्ता नभइ एकता संयोजन समितिको बैठकबाट निकास खोज्नु नै उपयुक्त हुनेछ ।

4126 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank