बहिस्कारको सन्देश !

आइतवार, मंसिर २३, २०७५



मुलकको राजनीतिक परिवर्तनको दौरानमा हामीले नकारात्मक र सपनाको खेती यति गर्यौं कि जसको व्यबस्थापन गर्ने बारेमा न कहिल्यै सोच्यौं । न अध्ययन नै गर्यौं ।
‘घरमा आगलागी भएपछि इनार खन्ने ’ उखानलाई आत्मसात गर्दा सामान्य काम र कुरा पनि समयमा गर्न ध्यान दिएनौं । समस्या आएपछि हतार गर्ने र हतारमा गरेको कामले झन अर्काे समस्या थप्ने नेपाली राजनीतिको रोग यसरी फैलिएको छ कि जसले वर्तमान नेपालका कुनै पनि राजनीतिक दल अछुतो छैन ।

कुर्सीमा पुगन हतार गर्ने, कुर्सीमा पुगेपछि फुर्सदै फुर्सद खोज्ने पुरानो सत्ताको रोग लोकतन्त्रमा पनि घट्नुको सट्टा बढेको बढयै भएको पुष्टि बहिस्कार काण्डले गरेको छ ।  गत शनिबार ३ बजेका निम्ती तोकीएको नेकपा सचिवालय बैठक अर्थपूर्ण सन्देश छोड्दै स्थगीत हुन पुग्यो । निर्धारित समय भन्दा २० मिनेट पछि सम्म नेकपा अध्यक्षद्वयको अनुपस्थिती प्रति असन्तुष्टी जाहेर गर्ने अन्तिम र सजिलो बाटो बहिस्कार रोजिएको बहिस्कारवादी नेताहरको राय छ । अध्यक्षद्वयले आफुहरुलाई बैठक कक्षमा कुराएर निर्धारित समयमा उपस्थित नभएर अपमान गर्नुभएको बहिस्कारमा संग्लग्न एक नेताले मिडियालाई बताए ।

अर्का सदस्यले अध्यक्षद्वयलाई समयको महत्व बुझाउन बैठक बहिस्कार गरेको जनाए । गत जेठ ३ गते नेकपा माओवादी केन्द्र र नेकपा एमाले मर्ज गर्दै निर्माण गरिएको नेकपाले आज सम्म पूर्ण एकताको रुप देखाउन असफल भइरहेको समयमा हुन पुगेको बहिस्कारले थप समयको माग गर्ने निश्चित छ । लामो समय देखी लत्याइएको पार्टीको विधानलाई बेवास्ता गरेका बरिष्ट चार कमरेडहरुमा अचानक जागेको समयको महत्व असरदार मात्र हैन उपलब्धी मुलक होस भन्ने कार्यकर्ताको चाहाना छ । बहुतै चलाखी पूर्वक समयको सम्मान गर्ने भन्दै समय खेर फाल्ने  चार नेताहरुको कारण सात लाख पार्टी सदस्यहरु अझै केहि समय बेरोजगार बन्ने छन् ।

असंख्य राजनीतिक मुद्धाहरुलाई थाँती राखेर सिंहदरबारको कुर्सी केन्द्रित वाम एकता ढिलो चाँडो नयाँ समस्यामा फस्ने आंकलन यथार्थमा बदलिएको मानिदैंछ । जनताले चाहेको भन्दा नेताले चाहेको कुराले मुर्त रुप लिन नसक्दा सिर्जना भएको हालको बहिस्कार काण्ड उपयुक्त वा अनुपयुक्त के हो ? भन्न शुरु हुनासाथ नेकपा भित्र नयाँ समस्या थपिएको मान्न सकिन्छ । जति सुकै शब्दहरु फिटे पनि नेकपा भित्र समस्याहरु छन् । छोप्न सकिने ठाउँ छैनन् भन्ने सर्वसाधारणले समेत बुझ्न पुगेका छन् ।

कमरेडहरु माधव नेपाल, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल र बामदेव गौतमले बहिस्कारको नाममा शुरु गरेको राजनीतिक घटनालाई सरकार विरुद्ध लक्षित नभएको बताए पनि प्रधानमन्त्री ओलीलाई रक्षात्मक बन्न बाध्य बनाएको छ । अध्यक्षद्वयबीच सामान्य अन्तरविरोध चर्काना साथ वर्तमान सरकार र नेकपाको शक्ति सन्तुलन तत्काल खल्बलिने राजनीतिक अट्कलबाजीलाई आम कार्यकर्ताले अर्थपूर्ण मान्दा नेकपाको घर झगडा छताछुल्ल हुनु भन्दा अगाडी नै समाधान गरिनु बुद्धिमतापूर्ण मानिनेछ ।

फटाफट निर्णय गर्दै पार्टी एकताको नतिजामुखी एकीकरण सम्मपन्न गर्ने, पार्टी संगठनलाई चुस्त दुरुस्त बनाउदै चलायमान बनाउने, सरकारको कमि कमजोरीलाई तत्काल सच्याउँदै जनमुखी बनाउने काममा अध्यक्षद्वय र बहिस्कारवादीहरुको बराबरी योगदान हुनु पर्ने वाम कार्यकर्ता र समर्थकहरुको सुझाब रहेको छ ।

सुबिधाजनक अंकगणित पछि बहिस्कारको नाममा भएको नयाँ समस्याले विगतमा सामान्तवादी सत्ताले फैलाएको भ्रम सिंहदरबार र बालुवाटारको बास्तु नमिलेको कारण मुलुकवासीको सुदिन नआएको मान्न फेरी एक पटक आम जनतालाई विवश बनाउँदै छ ।  मतपत्र मार्फत प्राप्त भएको पाँच बर्षे वाम सरकार अनुपयुक्त झमेलाबाट बच्दै पार्टी र सरकार अघि बढ्न तयार नभए कुर्ने र कुराउनेहरुले यसको नैतिक जवाफ दिनु पर्नेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank