चिसोमा सरकारको तातो ब्यबहार खै ?

शुक्रबार, पुस २१, २०७४

loading...


मुलुकको तराई क्षेत्रमा केही सातादेखि सुरु भएको शीतलहर अझै जारी छ । मध्ये जाडोको समयमा हरेक वर्ष शीतलहरको कारण जनजीवन कष्टकर हुँदै आएको छ । लामो समयसम्म घाम नलाग्दा निरन्तर चिसोका कारण तराई–मधेसमा जाडो छल्नका लागि आगो ताप्न दाउरासमेत नहुँदा चोकचोकमा परालको आगो बालेर आगो तापिरहेका समाचार विगतका वर्षहरूमा पनि सुनेकै हौं । विगतका वर्षमा केही जिल्लामा चोकचोकमा दाउरा बल्नका लागि दाउरा वितरण गर्ने गरिएको थियो । तर यस वर्ष मध्ये जाडोमा पनि यसका लागि कुनै ठोस पहल भएको देखिएको छैन । तराईका विभिन्न जिल्लामा शीतलहरका कारण शिक्षण संस्थासमेत बन्द गरिएका छन् । त्यस क्षेत्रमा अधिकतम तापक्रम घटेको छ भने हिमाल र पहाडमा न्यूनतम तापक्रम घटेको छ ।

तराईका जिल्लाका साथै मध्यपहाडी क्षेत्र र हिमाली क्षेत्रमा पनि चिसो अत्यधिक बढिरहेको छ । बुधबार २ दशमलव २ डिग्री सेल्सियस तापक्रम रहेको काठमाडौंमा बिहीबार बिहान १ दशमलव ५ डिग्रीमा झरेको छ । यसरी तापक्रम घट्ने क्रम अझै केही दिन चल्ने  मौसमविद्हरूले बताइरहेका छन् । तापक्रम घट्दो अवस्थामा रहनु, जाडो छल्नका लागि कुनै उपाय नहुनुले मानव स्वास्थ्यमा थप समस्या देखिएको छ । चिसो मौसममा विशेष गरी खोकी लाग्ने र ज्वरो आउने समस्या लिएर बिरामीहरू अस्पताल पुगिरहेका छन् । भूकम्पप्रभावित क्षेत्रमा पुनर्निर्माणका काम तीव्र गतिमा नहुँदा पीडितहरू चिसोमा जस्तापाताको टहरामा रात बिताउन बाध्य छन् । पुनर्निर्माण प्राधिकरणले चिसो सुरु हुनुपूर्व नै घर निर्माण गर्ने लक्ष्य लिए पनि त्यस्तो प्रगति हुन सकेको छैन ।

मुलुकभर चिसो बढिरहँदा सरकारको काठ दाउरा बिक्री वितरण गर्ने निकाय टिम्बर कर्पोरेसनले विगतका वर्षमा जिल्लास्थित विपद् व्यवस्थापन समितिको सिफारिसमा दाउरा वितरण गर्ने गरेको थियो । यस वर्ष मध्ये जाडोसम्म पनि कुनै पहल नहुनु जनताप्रतिको उत्तरदायित्व वहन गर्न सरकार गम्भीर नभएको स्पष्ट हुन्छ । जाडो मौसममा तराईका जिल्लामा कम्बल बाँढ्नेहरूसमेत यस वर्ष अझै सुस्ताएका छन् । चिसोका कारण मृत्यु हुने मानिसको संख्या बढ्न थालेपछि मात्रै सरकारले चासो देखाउनुभन्दा चिसो मौसमभन्दा पहिला नै तयारी गर्नु बुद्धिमानी कार्य हुनेछ । विपद् व्यवस्थापन ऐनले समेत पूर्व तयारीको विषयमा स्पष्ट पारेको छ । सरकारले चिसो मौसमसँगै आउन सक्ने स्वास्थ्य समस्याको समाधानका लागि समेत समयमै विशेष ध्यान दिनु आवश्यक छ ।

153 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank


error: Content is protected !!