डा. केसी मात्रै महान अरु सवै माफिया ?

सोमवार, पुस २४, २०७४



काठमाडौँ, चिकित्सा शिक्षा सुधारको माग राखेर त्रिवि शिक्षण अस्पतालका प्रा डा. गोविन्द केसी पटक–पटक अनशन बस्दै आएका छन् । कहिले निजी मेडिकल कलेज बन्द गर्नुपर्ने, कहिले अख्तियार प्रमुख त कहिले त्रिविका उपकुलपतिको राजीनामालाई माग बनाएका केसीले यसपटक भने प्रधानन्यायाधीशको राजीनामालाई प्रमुख माग बनाएका छन् । डा केसीले सर्वोच्च अदालतले ४ वर्ष अघि त्रिविले बर्खास्त गरेका डिन डा. शशी शर्मालाई आइतबार प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले पुनर्वाहलीको आदेश दिएपछि उनी विरुद्ध अनशनको घोषणा गरे । विगत केही महिनादेखि सिलसिलेवर रुपमा भ्रष्ट र अपराधीहरुको पक्षमा फैसला भएर न्याय बिक्री भइरहेको उनको दावी छ ।

प्रधानन्यायाधीशको राजीनामा सहित, चिकित्सा शिक्षा आयोग तत्काल गठन गर्नुपर्ने, आइओएमका डिनमा विधिवत रुपमा वरिष्ठताका आधारमा नियुक्त भएका व्यक्तिलाई कायम गरिनुपर्ने तथा माफिया डिनको पुनर्वहाली तुरुन्त खारेज गरिनुपर्ने लगायतका ५ सुत्रीय माग केसीले अघि सारेका छन् ।

अस्पतालजस्तो अति संवेदनशील क्षेत्रमा अनसन बस्ने, आफुले मात्रै भनेको ठिक र अरुले भनेको सवै गलत हुने, संविधान र कानुन भन्दा पनि आफूलाई माथि सम्झने केसीको सोच गलत छ ।

केसीले विज्ञप्तीमा भनेका छन ‘न्यायालय न्याय दिने हैन न्यायको किनबेच गर्ने, भ्रष्ट र अपराधीहरुसित मिलेमतो गरेर तिनीहरुको संरक्षण गर्ने तथा इमान्दारहरुलाई दण्डित गर्ने गिरोहको नियन्त्रणमा छ । कानुन र विधिको शासन हावी हुनुपर्नेमा कानुनलाई निकृष्ट व्यक्तिगत स्वार्थ पुर्ति गर्ने माध्यम तथा आफ्ना न्यायिक अपराध छोप्ने खोल बनाइएको यो अवस्थामा हामीसित समस्याको जरोसितै लड्नुको विकल्प छैन । त्यसैले न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट र माफिया प्रधान न्यायधीश गोपाल पराजुली विरुद्ध लड्नुको अब विकल्प छैन ।’
यसअघि केसीले राज्यले अनुमति दिएर काम सम्पन्न गरेका तर सम्बन्धन लिन बाँकी रहेका कलेज, सांसद, अख्तियार पदाधिकारी लगायतलाई माफियाको बिल्ला भिराएका थिए । केसीको सोचभन्दा विपरित जो जान्छ उ यतिबेला माफिया भइहाल्छ । आफ्नो विपक्षमा कसैले बोल्यो भने त्यसलाई कारवाहीको माग गर्दै अनशनमा बस्न पनि पछि पर्दैनन् केसी । अस्पतालजस्तो अति संवेदनशील क्षेत्रमा अनसन बस्ने, आफुले मात्रै भनेको ठिक र अरुले भनेको सवै गलत हुने, संविधान र कानुन भन्दा पनि आफूलाई माथि सम्झने केसीको सोच नै गलत छ ।

प्रधानन्यायाधीशले गल्ती गर्दैनन् भन्ने विषय होइन । प्रधानन्यायाधीशले गल्ती गरे वा केसीले लगाएको आरोप जस्तै हो भने पनि राज्यसँग छानविन गर्ने निकाय छ । गल्ती गरेको पुष्टि भए कारवाही गर्ने कानुनी बाटो पनि छ । त्यो बाटोतर्फ किन केसीले आफ्नो कदम अगाडि बढाएनन् ?

के केसीले गरेका सवै ठिक र अरुले गरेका सवै बेठिक हुने हुन् ? के लोकतन्त्र, कानुनी शासन, मानवअधिकार केसीबाटै लिनुपर्ने हो ?

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments