राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मान गर्न कन्जुस्याँई नगरौं

शुक्रबार, पुस २७, २०७५



गोर्खाली राजा नरभुपाल शाह र रानी कौशल्यावतीको जेठो सन्तानको रुपमा वि.स. १७७९ पुस २७ गते पृथ्वीनारायण शाहको जन्म भएको थियो ।  लिच्छबी कालको अन्त्य तीर ५२ राज्यमा विभाजन भएको मुलुकको पून एकिकरण गर्दै राष्ट्र निर्माता बन्न सफल पृथ्वीनारायण शाहको २९७ औं पृथ्वी जयन्ती तथा एकता दिवस धुमधाम सँग मनाईंदै छ ।

तात्कालिन अवस्थाको विश्व राजनीति र नेपालको भौगोलिक अवस्थितीको बारेमा विना अध्ययन गर्दै पेट पाल्नकै निम्ती पृथ्वीनारायण शाहको अवमुल्यन गर्ने राजनीति मुलुक भित्र रणनीतिक ढंगबाट फैलाईएको छ ।

संसारभर उपनिवेशको राज रहेको अवस्थामा मुलुक भित्र छरिएर रहेका २२ र २४ राज्यलाई एकिकरण गर्न प्रत्यक्ष रुपमा खटेको कारण मुलुकवासीले उनलाई राष्ट्रपिता मान्न तयार भएका हुन् ।  १७९९ चैत्र २५ गते पृथ्वीनारायण शाह गोरखाका राजा बनेका थिए । त्यस समय गोरखा शक्तिशाली राज्य नै थिएन् ।
शक्तिशाली बन्ने चाहानाले गर्दा उनी नेपाल एकिकरण गर्न योजनाबद्ध तरिकाले लागेका थिए । एकिकरणको दौरान युद्ध मार्फत काठमाडौं,भक्तपुर र किर्तिपुर जीत्दै नेपाल निर्माण गरेका हुन् ।

तात्कालिन समयमा उनले चाहेका भए गोरखालाई राजधानी बनाउन सक्थे । तर उनले त्यसो गरेनन । जीत पश्चात उपत्याकावासी नेवार सम्प्रदायको सम्पूर्ण रीति,थीति , धर्म, परम्परालाई स्वीकार गर्दै प्रधानमन्त्री पद मात्र आफ्नो मातहतमा राख्दै नेपाल राज्यलाई गुल्जार बनाए । भारतमा शासन गरेका नबावहरुलाई अंग्रेजहरुले कब्जामा लिएको समयमा नेपालको स्वतन्त्र अस्तीत्व राख्नमा पृथ्वीनारायण शाहको राजनैतिक, कुटनीतिक र रणनीतिक चार्तुय नै आजको अवस्था हो भन्ने मान्नु पर्दछ ।

१८२४ आश्विन १५ (जगदिश घिमिरेको भनाई अनुसार) मा सिन्धुली गढीको युद्धमा अंग्रेजहरुलाई पराजीत गर्न सफल हुनु नै नेपाल स्वतन्त्र राष्ट्र हुन सकेको हो । पृथ्वीनारायण शाहको शसुराली मकवानपुर हरिहरपुर गढी भएकाले पर्सा देखी जनकपुर सम्मको जग्गा कमाउँथे । तराईको पुरानो इतिहास हेर्दा राजा जनकको पालामा विदेह राज्य थियो ।

१२ औं सताव्दीमा सिम्रौनगढ राज्य थियो । काठमाडौंमा ३ वटा मल्ल राजाहरु थिए । पूर्वमा चौदण्डी र विजयपुर राज्य थियो । सिम्रौन गढ राज्य पनि गयासुद्धिन तुगलकले १३८१ मा ध्वस्त गरिदिएको इतिहासले बताउँछ ।

धेरै जसो अंग्रेज फौजको नेतृत्व गर्दै तराई मधेसमा डेरा जमाएका किनलक औलोको कारण विरामी पर्दा गोर्खाली फौजलाई तराईको जमिन दिदैं भारत मध्य देश फिर्ता गएको भेटिन्छ ।  पृथ्वीनारायण शाहको योगदानलाई दिग्भ्रमित गर्न चाहनेहरुले उनी प्रति गरेको विष वमन मुलुकमा रणनीतिक ढंगबाट फैलाएको समयमा सन् १३८१ मा तुगलकले ध्वस्त गरेको चौदण्डी राज्य १७७३ मा गोर्खालीले आक्रमण गरे भन्ने कुरामा कुनै सत्यता भेंटिदैन । तात्कालिन अवस्थाको गोर्खा,काठमाडौं र तराई मधेसको राजीतिक अबस्था हेर्दा वास्तवमा गोर्खालीहरुले अरु राज्यलाई उपनिवेश बनाएका हुँदै होइनन् । बरु आफै नेपालसँग (काठमाडौंसँग) गोर्खा राज्य समाहित गर्दै नेपाल देश बनाएका हुन् ।

प्राज्ञ जगमान गुरुङले पृथ्वीनारायण शाहलाई नेपालको अस्तित्व जोगाउने युग पुरुष भएको बताउँदै टुक्रा टुक्रामा विभाजित नेपाललाई शाहले एकिकरण गरेको कारण अहिले नेपालील संघीय गणतान्त्रीक नेपालको सत्ता उपभोग गर्न पाएको विचार व्यक्त गर्दछन् । जातीय धरातल भन्दा माथि उठेर साझा पहिचानमा अघि बढ्यो भने मात्र राष्ट्रिय एकता कायम हुन्छ भन्ने प्राज्ञ गुरुङको विचार आयातित एजेण्डा बोक्नेहरुले आम जनता माझ लाने कुरै भएन ।

देश र जनताको नाममा राजनीति गर्ने पार्टीहरु समेत राष्ट्र निर्माता पृथ्वीनारायण शाहको अपमान गर्न तम्सीएको वर्तमान समयमा उनको योगदान तमाम राष्ट्रवासी माझ पुर्याउनु देश भक्त नागरिकको कर्तव्य हुन गएको छ ।

नेपाली हुँ भन्ने गर्व गर्न पनि मुलुकको राष्ट्रिय अखण्डता, स्वतन्त्रता र एकतालाई अक्षुण्ण राख्न पृथ्वीनारायण शाहको सम्मान र योगदानको कदर गरिनु अनिवार्य हुन जान्छ ।
नेपाललाई सबै जातको साझा फूलवारी बनाएका राष्ट्र नायक पृथ्वीनारायण शाहको अगुवाईमा भएको नेपाल एकिकरणको कारण आज सम्म मुलुकले स्वतन्त्रता दिवस मनाउँनु परेको छैन ।

विश्वका ठुला ठुला मुलुकले गुलामी भोग्दै स्वतन्त्रता दिवस मनाएको बुझ्दा बुझ्दै पृथ्वीनारायण शाहको अपमान गर्नेहरुको नियत र लक्ष बुझ्न सफल रहे राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मान हुने छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank