रक्षात्मक सिंहदरबार !

शुक्रबार, चैत्र १, २०७५



सिद्धान्तत सत्ताको चरित्र दमनकारी हुन्छ । संविधान र कानुनको पालना गराउने दायित्वको कारण सत्ता आलोचित समेत हुने गर्दछ । अधिक शक्ति प्राप्त गर्ने सरकारको चाहानाले सत्ताको अनुचित प्रयोग हुने खतरा सँधै रहन्छ । मतपत्रको माध्यामबाट आवधिक कुर्सी प्राप्त गरेसँगै सत्ताको प्रयोग गर्न तम्सिएको सिंहदरबार पार्टीसँग सहकार्य गर्न बोझ ठान्दै छ । एकल लहडमा पछिल्लो समय सिंहदरबार सत्ताको भाषा बोल्ने मात्र हैन व्यवहारमै प्रदर्शन गर्न तम्सेको देखिन्छ । जनस्तरले शान्तिको महशुस गरिरहेको समयमा सिंहदरबार विचित्रको निर्णय गर्दै राजनीतिक तलाउमा ढुङ्गा हान्न तम्सेको छ ।

नेपालको तराई मधेशमा पृथकतावादी गतिविधि गर्दै आइरहेको सिके राउतको स्वतन्त्र मधेश संगठनसँग गत भाद्र २४ गते सरकारले औचित्यहिन सम्झौता गरेको छ । सरकारले राउतको पृथकतावादी कृयाकलाप , दस्तावेज , रहस्यमय साँठगाँठ र विगतलाई आँखा चिम्लँदै गरेको ११ बुँदे सहमतिले राजनीतिक माहोल अकस्मात तातेको छ । ११ बुँदे सहमतिलाई ठूलो युद्ध जितेको रुपमा अर्थ्याउने सिंहदरबारको दाबीलाई झुटो साबित गर्ने आधारहरु राउतको स्वागत गर्न जनकपुरमा प्रदर्शन गरिएका कृयाकलापलाई लिनु उचित हुनेछ । सम्झौताको मसी सुक्न नपाउँदै जनकपुरमा सिके राउतका स्वतन्त्र मधेश गठबन्धनले लगाएको नारा , कार्यकर्ताको विचार र सिके राउतको टवीट एवम फेसबुक वालमा रङ्गिएका धारणाहरुले सरकारी दावीलाई झुटो साबित गर्दैछ । सम्झौता पछि ठूलो उपलब्धि हासिल भएको सरकारी तर्क रक्षात्मक बन्दै गएको समयमा सिके समुहको उत्साह र गतिविधिले मुलुक अनिष्टको नयाँ चरणमा प्रवेश गरेको छ ।

मुलुक विखण्डनको निम्ति तयार गरिएका सिके सामाग्रीलाई सम्झौताको माध्याम बाट नेपाल सरकारको अनुमोदन दिलाउन सफल सिके रणनीति पछि सिंहदरबार नराम्रो दलदलमा फस्न पुगेको छ । राजनीतिक अस्थीरता सकियो । मुलुक समृद्धिको चरणमा प्रवेश गरिसक्यो भन्ने जननिर्वाचित सरकार पाँच महिना देखी जेलमा कानुनी कारबाही भोगिरहेका सिकेलाई रातारात राजनीतिक मैदान नै खाली गर्न तयार भएसँगै अस्थीरताबाट समृद्धि प्राप्त गर्न निस्किएको आरोप खेप्न बाध्य भएको छ ।

शान्तीपुर्ण राजनीतिको माध्यामबाट स्वतन्त्र मधेश गठबन्धनको राजनीतिक एजेण्डा सरकारी तहमै स्वीकृत गराउँदै अन्तराष्ट्रिय जगत गुहार्ने ‘सिके चाल’ नबुझ्ने सिंहदरबार विचित्रको चक्रब्युहमा फसेको छ । पार्टीलाई नीजि सम्पतिको रुपमा प्रयोग गर्न ईच्छुक प्रधानमन्त्रीको कारण मुलुक र पार्टीमा गम्भिर धक्का लागेको स्वीकार गर्न मानिरहेका छैनन । विगतमा दक्षिणको कमजोरीबाट मिलेको राजनीतिक लाभ आफ्नै कारणले हो भन्ने अति विश्वास पछि बढेको दम्भको व्यवस्थापन गर्न चुकिरहेका छन । सिके राउतलाई ‘यू – टर्न’ गराएको सन्दर्भमा अति हौसिएका प्रधानमन्त्री सम्झौता पछि भएको ‘राजनीतिक डयामेज’ देख्न र बुझ्न सक्ने अवस्थामा छैनन ।

सुरक्षित अंकगणित र  राष्ट्रवादको बलमा सरकारले  मुर्छित सपनाको ‘डिपिसी’ निर्माण गर्न नसकिएको आफ्नै ‘सफ्टवेयर’ले देखाएको छ । तत्पश्चात राजनीतिक ‘स्टण्टवाजी ‘ मार्फत एक वर्षे ॠणात्मक कार्यकाल छोप्ने सिके खेल खेल्दा सरकार   ‘आत्मघाती गोल ‘ खान पुगेको छ । पृथकतावादी सिकेलाई शान्तिपुर्ण राजनीतिमा ल्याउन गरिएको तमाम प्रपञ्चको सट्टा तराई  मधेशमा रहेको विभेद , असमानता , असन्तुष्टी , वास्तविक समस्याको पहिचान गर्न समय खर्चेको भए प्रधानमन्त्रीको जय जयकार हुन्थ्यो । हिमाल  , पहाड र तराईका विध्यमान  समस्या समाधान गर्न पटक्कै मन नगर्ने , आफ्नै कमजोरी र शैलीलाई बदल्न तयार नहुने , अदृश्य शक्तिलाई खुशी राख्दै चर्चाको भरमा शक्तिलाई निरन्तरता दिने नीजि चाहाना र गतिविधिको कारण नयाँ झमेलामा फसेका छन ।

देशका जेलमा कति हजार कैदीले सजाय काटिरहेका छन ? के सिंहदरबार उनीहरुको असन्तुष्टी सम्बोधन गर्न हरेक कैदीसँग हात मिलाउँदै सम्झौता गर्न सक्छ ? भन्ने गम्भिर सवाल सरकारले जन्माएको छ । सस्तो लोकप्रियता हासिल गर्ने सरकारको विवेकहिन निर्णयको फाइदा उठाउदै विखण्डनवादी सिके कार्यकर्ताहरुले ‘बुलेटप्रुफ ज्याकेट’ पहिरिएर एसियामा मधेश राष्ट्र जन्माउन गरिएको ताण्डव नृत्य खुद सरकार हेर्न बाध्य भएको छ । सरकार एकातर्फ पृथकतावादीलाई खुला छुट दिंदै छ भने अर्को तर्फ उग्रवाम भडकावमा तल्लिन नेकपा विप्लव समुहसँग अछुतको व्यवहार गर्न तम्सिएको छ । गत फागुन २७ गते विप्लव नेकपाको गतिविधिमा प्रतिबन्ध लगाउने निर्णयसँगै सरकार झनै बरालिएको छ ।

सिके सम्झौता र विप्लव प्रतिबन्धको विरोध गर्नेलाई तल्लो स्तरको आरोप लगाउन सरकार उद्धत छ । राणा शासन समाप्ति देखी लोकतान्त्रीक गणतन्त्र प्राप्तिको आन्दोलन सम्म भए गरेका तमाम बैधानिक अबैधानिक बिद्रोह , हिंसा , हत्या , तोडफोडलाई अन्देखा गर्दै आफ्नै सहगोत्रीलाई ठोक्ने , पृथकतावादी सिकेलाई बोक्ने प्रधानमन्त्रीको अराजनीतिक व्यवहार र ‘मौरी आक्रमण’ पछी मुलुकमा फेरि एक पटक अदृश्य शक्तिले शासन गर्न सफल भएको महशुस हुँदैछ ।

महत्वपुर्ण विषयमा निर्णय गर्न प्रयाप्त छलफल नगर्ने , राष्ट्रिय महत्वका सवाल र दिर्घकालिन महत्वका विषयमा प्रयाप्त अध्ययन , छलफल , अन्तर्क्रीया र विशेष तयारी बिना हचुवाको भरमा सानो घेराको प्रभावमा निर्णय गर्ने , पार्टी सहयोद्धा र विशेषज्ञसँग परामर्श नगर्ने वर्तमान प्रधानमन्त्रीको शैलीको कारण मुलुक नयाँ समस्या भोग्दै छ । व्यक्तिगत महत्वकाँक्षाको कारण अनुपयुक्त समयमा शान्त राजनीतिक वातावरण खल्बल्याउँदै सरकारले रोपेको बिरुवा ‘ बीषबृक्ष’ मा परिणत हुँदा सिंहदरबार वर्षौं सम्म रक्षात्मक बन्नु पर्ने छ । भनिन्छ , इतिहास सदैव क्षमाशील हुन्छ । यो भनाई वर्तमान सरकारको निम्ति कती सही हुन्छ ? रक्षात्मक सिंहदरबारले समेत कुर्दै छ भन्दा अतिशयोक्ति नहोला ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank