कोरोनाको भिडमा सरकार नहराओस् !

सम्पादकीय

बुधबार, चैत्र १९, २०७६



पछिल्लो समय विश्व कोरोना भाइरस(कोभिड-१९)बाट आक्रान्त छ । चैत्र-१९ सम्म विश्वका ८ लाख ५८ हजार मानिसमा कोरोना संक्रमण भइसकेको छ भने ४२ हजारभन्दा बढीको मृत्यु भएको छ । विश्वका शक्ति राष्ट्रहरु अमेरिका, चीन, इटली, फ्रान्स, स्पेन, बेलायतजस्ता राष्ट्र कोरोना भाइरसबाट नराम्ररी प्रभावित बनेका छन् भने २ सयभन्दा बढी देश यसको चपेटामा परेका छन् ।

समयमै सुरक्षात्मक सतर्कता अपनाउन नसकिएका कारण कोरोना भाइरसजस्तो सूक्ष्मजीवजन्य संक्रामक रोगको महामारीबाट सम्पूर्ण विश्व नै एकप्रकारको त्रासद वातावरणबीच जीवनयापन गरिरहेको छ । विश्व यतिखेर घर भित्र छ । रोगसँग आफूलाई बचाउन मानिसहरू घर भित्र लुक्दा हवाई क्षेत्र, सवारी साधन, सिनेमा हल, पुस्ताकालय, विद्यालय, उद्धोग, कल-कारखाना लगायतका राष्ट्रिय/अन्तराष्ट्रिय अर्थतन्त्र लामो सुस्केरा निकालीरहेका छन् ।

सडक रित्तै छन् । भीडभाड र कोलाहल हुने सहर चराहरू फर्की आउन थालेका छन् । विश्वमै अति व्यस्त मानिने एयरट्राफिक यतिबेला ठप्प छ । आकाशमा सुनसान छन् । अत्यावश्यक काम बाहेक विश्व ग्राउन्डेड भइरहँदा नेपालमा पनि यसको प्रभाव देखिने क्रम बढ्दो छ ।लकडाउन गरिसकेपछि संक्रमितको स्थितिको पहिचानका लागि र उपचारका लागि व्यापकरूपमा डाक्टर, नर्स र स्वास्थ कार्यकर्ता परिचालन गर्नमा सरकार दौडधुप गरिरहेको छ; जुन पर्याप्त छैन ।

यस महामारीबाट पार पाउने क्रममा रहेको चीन र यस महामारीको प्रभाव क्रमश: बढ्दो क्रममा रहेको भारत देखिइरहेको बखतमा ‘नेपाल चोखो छ । ५ जना मात्र संक्रमित हुन्, अरु होइनन्’ भन्ने ठाउँ रहदैन । खाडी मुलुक सहित अष्ट्रेलिया, अमेरिका, जापान लगायतका विकसित देशबाट नेपाल फर्कनेहरू घरगाउँ र समाजसँग घुलमिल भइसकेको अवस्था छ । तिनमा भाइरस संक्रमण थियो/थिएन भनेर परिक्षण गर्न/गराउन अहिले जे-जति काम भइरहेका छन्, यतिले पुग्दैन । स्थानीय तहदेखि नै आवात जावतमा रोक लगाउनेदेखि क्वारेन्टाइन स्थल, आईसीयू बेडहरु बनाउने कामहरू भइरहेका छन्, तर यसमा प्रभावकारिता नदेखिएको स्थानीयवासी र सामाजिक सन्जालले  बताईरहेका छन् ।

जनस्वास्थ्य वैज्ञानिकहरु नै भनिरहेछन्, “कोरोनाजस्तो नयाँ भाइरसका लागि कुनै पनि देशले तत्काल सम्पूर्ण तयारी पूरा गर्न सक्दैन । यस्ता भाइरस नियन्त्रणको तयारी गर्न सरकारलाई केही समय दिनुपर्छ ।” तर दोस्रो चरणको लकडाउनमा मुलुक प्रवेश गरि सक्दा समेत सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चालेको पूर्वतयारीहरू कागजमै सिमित रहँदा जनता मात्रै नभई फन्ट लाइनर चिकित्सा क्षेत्रमा समेत व्यापक असन्तुष्टि छ । वर्तमान परिस्थितिमा कोहि कोरोना संक्रमित भएर आए स्वास्थ्यकर्मीहरुको भागाभाग हुने स्थिति एकातर्फ छ भने निजि अस्पतालहरू लाइसेन्स खारेज गराउन तयार तर सामान्य ज्वोरो आएका बिरामीलाई छुन र उपचार गर्न तयार नभईरहेको अवस्था अर्कोतर्फ छ ।

कुनै व्यक्ति कोरोना आशंकामा चेकजाँचको लागि अस्पताल जानु पर्यो भने न एम्बुलेन्स ‘स्ट्याण्ड बाई’ छ, न चिकित्सक र अस्पताल नै । स्वास्थ्यकर्मीका लागि पीपीई, नमूना परीक्षण गर्ने किट्स, ह्याण्ड ग्लोबस देखि सामान्य मेडिकल इक्युपमेन्ट्सको अभावमा चिकित्सक र अस्पतालको अनुहारमा डरको कालो छायाँ मडारीरहेको छ  । ती अस्पताल र चिकित्सकको डर हटाउन आवश्यक सामग्री उपलब्ध गराई हौसला प्रदान गर्नु सरकारको पहिलो काम बनेको छ ।  विश्वव्यापी महामारी कोरोना भाइरस नेपालको स्वास्थ्य क्षेत्रको वास्तविक अनुहार देखाउने ऐना बनिरहेको बखत सरकारलाई यतिखेर ‘कोरोना करप्सन’ र नीतिगत आचरणमा बद्ख्वाई गर्न कदापी छुट छैन ।

यस महामारीका बीच पनि सरकारका बद्‌मासीहरू सार्वजनिक भइरहेका छन्, यो अत्यन्त लाजमर्दो स्थिति हो । यतिखेर आम नागरिक, राजनीतिक दल, व्यवसायी, पेसाकर्मी सबैले सरकारलाई साथ र सहयोग दिइरहेका छन् । मानव जीवनको अति संवेदनशील यस समयमा सरकारले लुट्ने र कमाउने बाटो एवं बाहना खोज्‍नु दुर्भाग्यपूर्ण छ ।

समाजिक सम्बन्धहरु अस्तव्यस्त र वैश्विक अर्थतन्त्र तहसनहस भएको यस बखत सरकारले बुझ्नुपर्दछ कि यो लुट्ने, ठग्ने, ढाट्ने र कमाउने बेला होइन । यो कल्याणको बेला हो, धैर्यताको बेला हो, आत्मबल बढाएर रोगसँग लड्न तयार रहनुपर्ने बेला हो ।  गुनासो, आलोचना अनि ‘विरोधका लागि विरोध’ गरिरहेका जनतासँग हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा सरकार लुट मच्चाउने कोसिसमा लाग्नु सरकारको कमजोरी हो । आफ्नो क्षमता प्रदर्शन गर्दै इमान्दारी र विश्वसनियताको परीक्षा दिनुपर्ने सरकार मास्क खोलेर टेलिभिजन सेटमा आफ्नो अनुहार देखाइरहेको छ । यो लाजको पसारो बाहेक अर्थोक केहि होइन ।

कोरोनाको रिपोर्ट कुराएर निमोनियाको बिरामीलाई मार्न सरकारलाई कदाचित छुट छैन । रोगको सन्त्रासमा सिमा क्षेत्रसम्म सयौं किलोमिटर हिडेर आई अलपत्र नेपालीहरूलाई  भोकको यज्ञमा होम्न सरकारले पाउने छैन । लकडाउन उल्लङ्घन गर्नेलाई कारवाहीस्वरूप शारीरिक यातना दिलाउनु पनि सरकारको गलत कदम हो, यसलाई तत्काल सुधार्न आवश्यक छ ।

अनावश्यक होहल्ला र भ्रामक समाचार सम्प्रेषण गरिरहेका व्यक्ति, पत्रकार र समाचार संस्थाहरूलाई कानुनको दायरामा ल्याउने काम काम सराहनीय छ, यसलाई थप निरन्तरता दिनु आवश्यक छ । क्वारेन्टाईनको समयमा अत्यावश्यक सामान खरिद, बिक्रि र वितरणको लागि सरकार अझ कडा रुपमा पेश हुनु नितान्त आवश्यक छ ।

सरकारको लकडाउनको आदेशलाई पालना गरिरहेकाहरूप्रति धन्यवाद ज्ञापन मात्रै नगरी सरकारले तीनको भोक निवारणको लागि थप शशक्त कदमहरू चाल्नु आवश्यक देखिएको छ । साथै दैनिक ज्यालादारी गरि पेट पालिरहेकाहरूप्रति उदारता देखाउने नाममा एक दिन, एक छाक मात्र राहत वितरण नगरी यसलाई महामारी अन्त्य नहुँदासम्म निरन्तरता दिलाउने  प्रोटोकल बनाउनु आवश्यक देखिएको छ ।

संयक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना भाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको बताइरहँदा सरकारले ‘आफ्नो शारीरिक तन्दुरुस्ती’ ठिक राख्न जनताको घरदैलोमा पुगी कोरोना परिक्षणको दरलाई बढाउन अग्रसर हुनुपर्दछ । यो नयाँ रोगले मानिसहरूको जीवन र जीविकामा असर पार्दै समाजको मुटुमै प्रहार गरिरहेको बखत जनताको स्वास्थ्य सुरक्षार्थ  पहलकदमीहरू युद्धस्तरमा चाल्न ढिलाई  गरिरहे सरकार ठूलो क्षतिसहितको डरलाग्दा नतिजा सामना गर्न बाध्य हुनेछ ।

कोरोना भाइरसको प्रभाव कम गर्दै अन्त्य गर्नको लागि सरकारको जनतासँग सहकार्यसहितको स्वास्थ्य सहायता नै यस महामारीको तत्काल उपलब्ध भ्याक्सिन हो ।  कोरोनालाई लिएर अत्यधिक सर्तकता अपनाऔं । स्वास्थ्यकर्मी, जनता र सरकार एक-अर्कालाई दोषी बताउँदै यस महासंकटबाट आफू चोखिन छोडौं । एक-अर्का सुरक्षित राख्न हरसम्भव आचरणगत जोखिम मोल्न तयार हौँ । साथै कोरोनाको भिडमा सरकारको उपस्थिति जताततै देखियोस् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments