अहिलेको सरकार कमिसन खोर होइन – प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गोकर्ण रिसोर्टको २ हजार ७९३ रोपनी जग्गा थप २५ वर्षलाई यति समूहलाई नै लिजमा दिने निर्णयको बचाउ गरेका छन् ।

आज(शनिबार) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट पत्रकारको प्रेस संगठनले गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै ओलीले सरकारलाई बद्नाम गराउन देश विदेशबाट अनेक प्रयास भइरहेको बताए ।

उनले अन्तरवस्तु नबुझी भ्रम फैलाउने प्रयास भइरहेको बताउँदै भने, ‘मुलुकलाई पछाडि पार्ने असाधारण कोसिस भइरहेको छ ।’ स्रोत साधन भएकाहरुले मिडियामा लगानी गरेर त्यसमार्फत सरकारमाथि हमला गर्न खोजेको भन्दै उनले भने, ‘नभएका कुरा उचाल्छन् र भ्रम फिजाउँछन् । हामी सजग हुन जरुरी छ ।’

गोकर्ण रिसार्टको लिज अवधि थपलाई लिएर उठाइएको प्रश्न पनि यस्तै भएको उनले बताए । उनले विगतमा हचुवामा दिएको जमिन अहिले मापदण्ड बनाएर दिइएको दाबीसमेत गरे।

सरकारले गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्ट ३ हजार ९ सय ७१ रोपनी ३ पैसा ३ दाममध्ये २ हजार ९ सय ७१ रोपनी ६ आना ३ पैसा १ दाम एलएम सुभीर ब्रदर्स (नेपाल) प्रालि र यती होल्डिङ्स प्रालिलाई ३० वर्षका लागि लिजमा दिएको छ।

गत मंसिर २३ को मन्त्रिपरिषद् बैठकको निर्णयले पुरानो लिज अवधि सकिने १५ अगस्ट २०२५ देखि २५ वर्ष नयाँ लिज रकम कायम हुने गरी अवधि थप गरेको हो।  रिसोर्टलाई लिज अवधि थप गर्ने निर्णय कानुनबमोजिम भएको नेपाल ट्रस्टको दाबी छ। ट्रस्टले शुक्रबार पत्रकार सम्मेलन गरेर यस्तो दाबी गरेको हो।

सगरमाथा आरक्षण क्षेत्रको जमिन पनि -यति समूहले) लियो भन्ने अहिले बाहिर आएको भन्दै उनले भने, ‘कसले कसरी लिज दिएको छ, छानविन गरौं । अहिलेको सरकारले त्यस्तो गर्दैन । अहिलेको सरकार कमिसन खोर होइन ।’

चुनाव हासिसकेको, कामचलाउ भएको सरकारले ठूलाठूला कारोबार गरेको भन्दै उनले अघि भने, ‘दरबार अगाडि घर बनाउन कसले दिएको त्यो पनि छानविन गरौं ।’

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments