युवासंघको साढे सात बर्ष-भाग : दुई

शनिबार विशेष

शनिबार, पुस १५, २०७४

- सरोजदिलु विश्वकर्मा



सरोजदिलु विश्वकर्मा,

उपाध्यक्ष गरिमा कमरेडले खुवै ढाडस् दिदैँ मलाई प्रोत्साहन दिनुभयो । अझ साहित्यमा समेत विशेष रुची र अनुभवहरु हुनाले उहाँले पार्टीमा दह्रोरुपमा लाग्न प्रेरित गर्नुभयो । अध्यक्ष कमरेडले त ‘तपाईंजत्तिको क्षमता भएका मानिस त पार्टीको लागि सम्पती हो, अझ तपाईं त एउटा सिंगो समुदायको प्रेरणा हो । ती उत्पीडित जीवनहरुका लागि तपाईंले त सञ्जीवनी बन्ने आँट पो गर्नुपर्छ । ब्यक्तिगत नाफाका लागि एन्जीओतिर अलमलिएर हुन्छ ? पार्टीले तपाईलाई राज्यको ठूलो अभिभारा सुम्पने छ, कुनैदिन । वरु यसका लागि तपाईंले अहिले नै सोच्नुपर्छ….।” संगठनको अध्यक्ष र उपाध्यक्षले नै यो सारगर्वित सुझाव दिएपछि संगठनमा लाग्न अझ अभिप्रेणा मिल्यो । म युन्को अफिस सकिनासाथ कार्यालयमा पुगेर सघाउन थाले । मेरो आवश्यकता विस्तारोविस्तारो सवैलाई पर्नथाल्यो । मेरो कामले तत्कालिन संगठन विभाग प्रमुख, निरज आचार्य, सचिव हस्त पण्डित, महासचिव इन्द्रलाल सापकोटा, केन्द्रीय सदस्य माधव अर्याल, कार्यालय प्रमुख गोविन्द भट्टराईलगायतसंग मलाई धेरै नजिक बनायो, जवकि केन्द्रीय सदस्यहरु पनि त्यति नजिक थिएनन् । अनि बाहिर निस्कनासाथ २।४ जना ठिटाठिटीलाई राम्रै चियापान गराउन सक्नेहुनाले थोरै दिनमै युवासंघमा म आवश्यक पर्ने पात्र बनिसकेको थिएँ ।

महेश बस्नेत । वाईसियलसंग भिडेर तिनलाई ठेगान लगाउदै गरेको महेश बस्नेत कत्रो–कस्तो हाउँगुजी होला, तिनको चै दर्शन गर्न आतूर भइरहन्थेँ । दिनैपिच्छे जसो वाइसियलसंग झडप, दिनैपिच्छे कार्यालयमा मिटिङ, लामालामा कपाल पालेका, बलिया–बाङ्गा तिघ्रा भएका ठिटाहरुको भीड, कार्यालयमा थेगिसक्नु थिएन । धेरै केटाहरु तरवार लिएर त केहीसंग बन्दुकै समेत थिए । केही लाठीमुंग्रा लिएर कार्यालयमा बैठक बसिरहेका हुन्थे । लामालामा कपाल पालेका, ट्याटु खोपेका, हातमा सिक्री लगाएका केटाहरुको भीड थियो । त्यसमध्ये महेश बस्नेत कस्तो रहेछ भनेर चियाईचियाई डराईडराई हेर्थेँ, तर चिन्दिनथिएँ । अध्यक्षप्रतिको क्रेज कमैमा तर महेशप्रतिको मोह, मानसम्मान धेरैमा । युथफोर्सको कमाण्डर भनेको अग्लो, लामोलामो कपाल पालेको, चुल्ठो बाटेको, कानमा मुद्रे कुण्डल लगाएको, नाङ्गा पखुरामा ट्याटू खोपेको, डिङ्गो बुट लाउने, हेर्दै डरलाग्दो होला जस्तो लाग्थ्यो । उनीसंगै कतिपटक चिया खाइयो, कतिपटक हात मिलाईयो । तर महेश बस्नेतको अनुहार भने लामो समयसम्म चिन्नैसकिँन । नजिक गए त्यसले त मारी पो हाल्छ कि भन्ने लाग्थ्यो । म युनडिपीमा वहाल रहेकोले लडाकु हुनसक्दिन थिएँ । अनि एन्जीओ–आइन्जीओ संगतीले मेरो जुझारु शक्ति ह्रास भइसकेकोले अव म लड्नेभिड्ने महेशलाई साथदिने पक्षमा पनि थिएन । त्यसैले अजम्वर गरिमाजीहरुकै टीम मेरो लागि उपयुक्त थियो । तथापि महेशको नेतृत्वले वाईसियल चैं छानीछानी ठेगान लगाओस् भन्ने कामना मै थिएँ ।

अर्जुन गुरुंग, महेश कमरेडको अति नजिकको पात्र । उनलाई महेशको पहिलो अंगरक्षक अझ उनको परछाँया नै मान्दा हुन्छ । उनीलगायतका केटी युवाले एउटा निम्सरो वाईसियल समाएर ल्याएकारहेछन् । एकदिन बागवजारको चौथो तल्लामा रहेको कार्यालयबाट तल झर्दै गर्दा एक ठिटाले मलाई पनि बोलाए– ‘आउनुस् तपाई पनि, तल वाईसियल समाएर ल्याएका छन् ।’ मलाई उनीसंग जान मन लागेन । म ‘पछि आउँछु’ भनेर तर्किन खोज्दै थिएँ । त्यसैवेला अर्जुन गुरुङ्कले गाली गर्दै भने– ‘के हो कमरेड्, खुरुक्क हिड्नु न तल । युथफोर्सको कमाण्डरले भनेको पनि नमान्ने ?’ ‘युथफोर्सको कमाण्डर ! यानी महेश बस्नेत ??’ ‘उनै हुन महेश बस्नेत ??’ महिनादिन जति हात मिलाइयो, खाइयो पिइयो होला, मान्छे चैं बल्ल पो चिनियो । आफैलाई लाज लाग्यो । महेशमा मैले सोचेजस्तो कुनै रुपता नै थिएन । करिव मेरैजतिको उचाईं, सामान्य पहिरणमाथी आर्मी कलरको ज्याकेट, मैले लाउनेभन्दा सस्तै खालको जुत्ता । मलाई अझ पनि पत्यार लागेको थिएन । अनि ‘ल’ भन्दै महेशको पछिपछि तल लागेँ । विचरो वाईसियलको कार्यकर्ता कागहरुको वीचमा परेको भंगेरोजस्तो । प्राण रक्षाका लागि तड्पीरहेको थियो । युथफोर्सका केटाहरुले कुटौंला मारौला जस्तो उसलाई असिनपसिन बनाइरहेका थिए । युथफोर्सका कमाण्डरले त्यो शत्रुलाई ‘तपाईं…., यसो नगर्नु पर्ने…., तपाईको संगठनले पठाएको कि ? आफूखुशी यसो गर्नुभयो…. ?’ भनेर शालिनता प्रकट गरिरहदाँ महेश बस्नेत उनी नै हुन् भनेर विश्वास नै लागिरहेको थिएन । किनकी म मा राजनीतिक भाषा, सांगठानिक सूचनाको परिपक्व ज्ञान थिएन । अन्त्यमा, उनले, ‘छोडदेऊ उहाँलाई, तपाई जानुस्,’ भनेर उनलाई छोड्न निर्देशन दिए । त्यो साथी, पछाडि पनि नफर्की जालबाट उम्केको खरायोजस्तो फटाफट् बाटो लाग्यो । ऊ गएपछि एउटाले भन्यो– ‘महेश कमरेड्, त्यसलाई २।४ मुक्का चै हानेर पठाउनु पर्ने क्या …..’ र प्रमिला बिडारीले ‘कस्तो अहिलेसम्म महेश भनेर नचिनेको ?’ भनेर जिस्क्याएपछि भने महेश उनी नै हुन् भन्ने एकिन भयो, मलाई । अनि मलाई तर्साइरहेको महेश भन्ने मेरो मनभित्रको अजङ्गको भूत एक्कासी भाग्यो ।

प्रचण्ड सरकारविरुद्धको एउटा अन्तर्कृया कार्यक्रम थियो, होटल हार्दिकमा (तत्कालिन अशोका होटल) । कमरेड महेश बस्नेतले कोषाध्यक्षको तर्फबाट स्वागत मन्तब्य राख्नुभएको थियो । अध्यक्ष अजम्वर राईले सभापतित्व गर्नुभएको र निरज आचार्यले सञ्चालन गर्नुभएको सो कार्यक्रममा सञ्चालकको स्वर र भाषण शैलीमा भने एक किसिमको दम थियो । तर सवैको डरलाग्दो महेश बस्नेत भने अध्यक्ष, उपाध्यक्ष र महासचिव अगाडि पर्दा थरथरी काँपिरहनु भएको थियो । त्यसवेलासम्म श्रोता, सहयोगी र शुभचिन्तकवाहेक संगठनमा मेरो हैसियत केही थिएन ।

संगठनमा केन्द्रीय कार्यसमिती र युथफोर्स विभागका वीचमा एक किसिमको द्धन्द्ध श्रृजना भइसकेको थियो । केन्द्रीय स्थायी समितीभन्दा संगठनको एउटा विभाग युथफोर्समा युवाहरुको आर्कषण थियो । वैचारिक धारका अध्यक्ष, शालीन स्वभावकी गरिमा, सांगठानिक क्षमताका महासचिवको वरपरभन्दा युथफोर्सका कमाण्डर महेश बस्नेतकै नजिक युवाहरुको भीड लाग्ने गथ्र्यो । विचार, आदर्श र दर्शन विस्तारो हराउँदै लडाईं–झगडामा युवाहरुको जमघट ज्यादा हुनेगरेको थियो । हान्ने, काट्ने र कुट्नेमा ठिटाठिटीहरु एक कदम अगाडि बढ्दै थिए । अनि वाईसियलकै शैलीमा पैसा उठाउने, खुवाईपियाई र मोजमस्ती युथफोर्स फसेको आरोप पनि लाग्दैथियो । एकआर्काका कुरा काट्नेहरु थुप्रै थिए । महेशजी र उनका कार्यकर्ताका वारेमा समेत अनेक कुराहरु सुनिन्थे । अनि मेरो भूमिका चै सुनिदिने दर्शक र बुझिदिने पाठक् मात्रै हुन्थ्यो ।

पार्टीको आठौं महाधिवेशन, बुटवलमा पुग्दानपुग्दै झलनाथ गुट र केपी ओली गुट भनेर संगठन चीरा पर्न थालेको थियो । त्यस महाधिवेशनले पार्टीमा पहिलोचोटी प्रत्यक्ष निर्वाचित अध्यक्षात्मक प्रणाली स्थापित गर्दै थियो । त्यसवेला महेश बस्नेतलगायत युवासंघका अधिकांश कमरेडहरु खनाल गुटकै प्रचारमा थियौं । महाधिवेशनको लगतै हाम्रो सांस्कृतिक तथा समावेशी विभागले मोदनाथ प्रश्रितको मुख्य आतिथ्यता राष्ट्रिय सभागृहमा भब्यताका साथ राष्ट्रिय कविता महोत्सव सम्पन्न गरी पुरस्कार वितरण गर्यो । खेलकुद विभागले भरखरै सम्पन्न गरेको राष्ट्रिय खेलकुद महोत्सवपछिको त्यही नै ठूलो कार्यक्रम थियो । त्यसको ब्यवस्थापनमा मैले खेलेको भूमिकाले अझ मलाई धेरैको प्रीय र योग्य बनायो । त्यही कार्यक्रमबाटै संगठनमा मेरो क्षमता र कटिबद्धताको परिचय दियो । अनि लहानमा गर्ने भनि युवासंघको सातौ महाधिवेशन तोकिसकिएको थियो । तर महाधिवेशनमा के हुन्छ ? कसरी हुन्छ र केका लागि हुन्छ ?? भन्ने सांगठानिक चेतना मलाई त्यति थिएन । तथापि, संगठनमा मेरो पहिचान थाहा पाउने केही साथीहरुले भने मलाई सातौ महाधिवेशनबाट केन्द्रीय कमिटीमा आउन सल्लाह दिइसकेका थिए । तर यन्डिपीको जागीर, राजनीति गर्न नपाइने युन्को लिखित शर्त हुन्छ । परिणामतः जागीर मेरा लागि निर्विकल्प र संगठन रहर मात्र हुनाले नेता बनिहाल्ने आँट गरेकै थिइन । (क्रमश…)

448 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank