आज योमरी पूर्णिमा, धान्य पूर्णिमा र उधौली मनाइँदै

मङ्लबार, मंसिर २८, २०७३



आज उधौली पर्व र युमरी पुन्हि पर्व मनाईंदैछ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हिः अर्थात् योमह्री पूर्णिमा पर्व र उधौली पर्व मनाउने गरिएको छ । उपत्यकाका नेवार समुदायले ४०० वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमह्री पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ ।

जाडोको समयमा चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो । यस दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ । पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुल पूजा र गोठ पूजा गरी गैडु पूजा गर्ने विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । यस पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ ।
आजैका दिन किरात समुदायले उधौली पर्व पनि मनाउँदै छन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो र अब खाद्यान्न अभाव नहोस् भनेर भूमेस्थान र साकेला स्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ । किरात समुदायको संस्कृतिमा अध्ययनरत कीर्तिकुमार दुमी राईका अनुसार प्रकृतिको पूजा गर्ने र प्रकृतिलाई भगवान्का रुपमा मान्ने किरात समुदायले खेतीपातीमा केही गल्ती भएको भए सन्तान सम्झेर माफी गरिदिनुस् भनी प्रार्थना गर्ने चलन पनि हुन्छ । किरात समुदायका राई, लिम्बू, सुनुवार र याक्खाले यो पर्व मनाउने गरेका छन् ।

बैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गई उभौली पर्व मनाएको किरात समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको सामाजिक मान्यता छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments