१२ आरोपबारे एमाले सचिव योगेश भट्टराईको दमदार स्पष्टिकरण

शनिबार, बैशाख १५, २०७५



काठमाडौँ । 

अभियोग १

एमालेभित्रैबाट लाग्ने ठूलो आरोप छ, तपाईं गुटबन्दी गर्न माहिर हुनुहुन्छ । पार्टीभित्र समानान्तर सत्ता चलाउन खोज्नुहुन्छ । पूर्व ताप्लेजुङदेखि पश्चिम कञ्चनपुरसम्म गुटका कार्यकर्ता तयार गर्नुभएको छ । जसले पार्टीभित्र लाभभन्दा दीर्घकालीन रूपमा हानि धेरै गर्छ ।

म राजनीति गरेदेखि अहिलेसम्म पार्टीका संस्थागत निर्णयको पक्षमा उभिँदै आएको मान्छे हुँ । पार्टीभित्र वैचारिक समूह निर्माण गर्ने र त्यस आधारमा पार्टीका निर्णयमा बहस गर्ने हाम्रो पार्टीको स्थापित मान्यता हो । त्यस अर्थमा विभिन्न कालखण्डमा, विभिन्न महाधिवेशनका वेला पार्टीभित्रका विचार समूह छलफलमा उत्रिन्छन् ।

त्यसवेला मैले आफूलाई कुनै न कुनै विचार समूहमा उभ्याउने गरेको छु । र, म जहाँ उभिन्छु त्यहाँ प्रस्ट ढंगले उभिन्छु, दृढताका साथ उभिन्छु । यता पनि ठीक छ, उता पनि ठीक छ भन्ने कुरा म गर्दिनँ । त्यसलाई कतिपयले गुटबन्दी भन्छन् । पार्टीमा गुटहरू पनि छन्, समूहहरू पनि छन् । म पनि कुनै गुटमा, कुनै समूहमा हुँला । त्यो आफ्नो ठाउँमा छ ।

मैले विद्यार्थी संगठनबाट काम गरेँ । अनेरास्ववियुको अध्यक्ष भएँ । र, अध्यक्ष पनि राम्रैसित चलाएर आएको हुनाले मेचीदेखि महाकालीसम्म मात्रै होइन, अब त प्रवासमा पनि पार्टीका साथीहरूसँग भेटघाट गर्ने, छलफल गर्ने कार्य स्वाभाविक रूपमा हुन्छ ।

मसँगै विद्यार्थी संगठनमा काम गरेका थुप्रै साथी केन्द्रीय कमिटीमा छन्, संसद्मा छन् । पार्टीका जिल्ला कमिटी र विभिन्न जनवर्गीय संगठनमा पनि छन् । यस अर्थमा देशभरिको नेटवर्क मसँग नजिक छ । उहाँहरूसँग भेटघाट हुन्छ, छलफल हुन्छ । यसलाई पनि कतिपयले गुटबन्दी गरेको भन्न सक्छन् ।

अभियोग २

एमाले विभाजन हुनुमा तपाईंको पनि महत्वपूर्ण भूमिका छ । त्यतिवेलाको सशक्त विद्यार्थी संगठन अनेरास्ववियुको निवर्तमान अध्यक्षका हैसियतमा तपाईंले नेताहरूलाई मिल्नका लागि दबाब दिनुको सट्टा विवादको आगोमा घिउ थप्ने काम गर्नुभयो ।

नेपालको इतिहासमा खास गरेर तीनवटा घटना ज्यादै दुःखदायी छन् । पहिलो, मदन भण्डारी हत्याको घटना । यो घटनाले नेपालको राजनीति जता जानुपथ्र्यो, त्यता जान दिएन । त्यसमा अवरोध खडा ग-यो । दोस्रो, १२ भदौ ०५२ को अदालतको फैसला हो । त्यसले नेपालको संसदीय राजनीतिलाई नै विकृत बनाइदियो । तेस्रोचाहिँ, एमालेको विभाजन ।

यी तीनवटा घटनाले नेपालको राजनीतिलाई दुःखद परिस्थितितिर लग्यो । विभाजनका वेला पार्टीभित्र अन्तरविरोध चलिरहँदाखेरि स्वाभाविक रूपले पक्ष–विपक्ष हुन्छन्, उत्तेजनाका कुरा पनि हुन्छन् । तर, त्यस्तो वेला नेतृत्व नै ज्यादा सम्हालिनुपर्छ, पथ्र्यो भन्ने मलाई लाग्छ ।

अब यसलाई हामीले अहिलेसम्म ज्यादा गम्भीरताका साथ समीक्षा गरेका छैनौँ । पार्टी विभाजन किन भयो ? कसका कारणले भयो भन्नेबारे राम्ररी समीक्षा भएको छैन । विभाजन एउटा पक्षका कारणले मात्रै हुँदैन । दुवै पक्ष त्यसमा दोषी हुन्छन्, कम–बेसी मात्रै हो ।

त्यसवेला कमरेड वामदेव गौतमले जुन विचार पार्टीभित्र उठाउनुभयो, त्यो विचारको सामीप्यतामा हामी थियौँ । त्यस अर्थमा हामीले उहाँलाई साथ दिएका हौँ । हामी मध्यस्थकर्ता हुन सकेनौँ । कुनै पक्षमा उभिएको मान्छे कसरी मध्यस्थकर्ता हुन सक्छ र ? अरू कसैले मध्यस्थता गर्नुपथ्र्यो । खास गरेर सिनियर नेताहरूले मध्यस्थता गर्नुपथ्र्यो ।

म मनमोहन अधिकारीलाई धेरै हिसाबले राम्रो नेता मान्छु । शालीन हुनुहुन्थ्यो, निष्ठा भएको, सरल, त्यागी र सादगी मान्छे हुनुहुन्थ्यो । त्यस हिसाबले नेपालको कम्युनिस्ट आन्दोलनको शीर्ष व्यक्तित्व पनि हो । मैले धेरै मान्ने केही नेतामध्ये एक व्यक्तित्व हुनुहुन्छ मनमोहन अधिकारी ।

तर, पार्टी विभाजनकोे क्षणमा उहाँको भूमिका सन्तोषजनक थिएन । उहाँले दुई पक्षबीचमा बसेर पार्टीलाई विभाजन हुनबाट रोक्न सक्नुहुन्थ्यो । उहाँबाट त्यो भूमिकाको अपेक्षा पनि गरेका थिए मान्छेले । उहाँले मात्रै त्यो काम गर्न सक्नुहुन्थ्यो, अरू कसैले सक्दैनथे । तर, उहाँले त्यस्तो भूमिका खेल्न सक्नुभएन ।

अभियोग  ३

तपाईं विद्यार्थी राजनीतिदेखि नै गुटबन्दीमा रमाउनुभयो । अनेरास्ववियुको अध्यक्ष हुँदा महासचिव भानुभक्त ढकालसँग संगठन नै धराशायी हुने गरी भिडन्त गर्नुभयो । अन्ततः महाधिवेशनबाट निर्वाचित संगठनमा इतिहासमै पहिलोपटक पार्टीले खुला हस्तक्षेप गरेर अध्यक्ष र महासचिव दुवैलाई निकाल्नुप-यो ।

म अध्यक्ष भएको वेला अनेरास्ववियुभित्र समूहबन्दी भयो । र, त्यो समूहबन्दी अनेरास्ववियुभित्रको स्वतन्त्र समूहबन्दी थिएन, पार्टीभित्रै हुर्कंदै गएको समूहबन्दीको प्रभाव थियो । त्यतिवेला म र भानुभक्त ढकाल दुई कित्तामा उभियौँ । यद्यपि, सबैभन्दा मिल्ने पनि भानुभक्त र म नै हौँ । अहिले पनि हामी सबैभन्दा मिल्छौँ । त्यतिवेला दुई कारणले हामीबीच फाटो आयो भन्ने लाग्छ ।

पहिलो संगठनको नेतृत्वमा जाने विषयले । रामनाथ ढकालजी संसद्मा गएपछि बीचमा ६–८ महिना म अध्यक्ष भएँ । एउटा पूरै कार्यकाल संगठन चलाउँछु भन्ने मेरो इच्छा र माग थियो । केही बेठीक गरेको छैन, राम्रै गरिराखेको छु, एक कार्यकाल चलाउँछु, मलाई दिनुस् भन्ने मेरो कुरा नाजायज पनि थिएन । तर, भानुभक्तजीले पनि दाबी गर्नुभयो ।

म एकपटक अध्यक्ष भएर उहाँ अध्यक्ष हुँदा स्वाभाविक प्रक्रिया हुन्थ्यो । तर, उहाँले पनि दाबी छाड्नुभएन । म अध्यक्ष भएँ, उहाँ महासचिव हुनुभयो । सम्भवतः त्यसलाई उहाँले स्वाभाविक ढंगले लिनुभएको थिएन होला । नेतृत्वको हिसाबमा उहाँ र मेरो यो विषयमा कुरा मिलेन । अर्को, पार्टीभित्रका महाकालीलगायत विषयवस्तु पनि आइराखेका थिए ।

त्यसमा पनि हामी अलग–अलग धारमा उभियौँ । एकीकृत महाकाली सन्धि जुन भयो, पछि संसद्बाट पनि पारित भयो । हाम्रो पार्टी एमालेले पनि त्यो सन्धिलाई राम्रै मानेको छ । तर, व्यक्तिगत रूपमा म अहिले पनि नेपालका लागि नहुनुपर्ने काम भयो भन्ने ठान्छु ।

अभियोग ४

तपाईं प्रचारमा रमाउनुहुन्छ । लामो समय मिडियामा नआउँदा छटपटाउनुहुन्छ । आफूअनुकूल राजनीतिक वातावरण नबन्दा गलत सूचना सम्प्रेषण गरेर ‘मिडिया स्टन्टबाजी’ गर्नसमेत पछि पर्नुहुन्न ।

०४६/४७ को आन्दोलनका वेला पनि विद्यार्थी संगठनको केन्द्रीय सदस्य थिएँ । उपत्यकाको आन्दोलन परिचालनमा म अगुवा नै थिएँ । ०६२/६३ को आन्दोलनको वेला त म एक किसिमले पार्टीको अघोषित कमान्डरजस्तै थिएँ । घोषित त ठूला नेता नै थिए ।

आन्दोलनलाई संयोजन गर्ने, परिचालन गर्ने, आन्दोलनको तयारीको सन्दर्भमा अरू पार्टीसँग छलफल गर्नेलगायत काममा म अघोषित कमान्डर नै थिएँ । त्यस हिसाबले सञ्चारकर्मी साथीहरूका लागि म समाचार स्रोत नै थिएँ । मिडियाका साथीहरूले पनि मलाई राम्रै को–अपरेट गर्नुभयो ।

त्यसपछि पनि लगातार पार्टीभित्रको वैचारिक बहस–छलफलमा जुनसुकै पोलमा दृढताका साथ उभिँदा त्यो पोलको अघोषित प्रवक्ताजस्तो पनि भएँ । आठौँ महाधिवेशनमा झलनाथ खनालजीलाई समर्थन गरियो । किन समर्थन गरियो भनेर भन्नैपर्‍यो । म नै फ्रन्टलाइनमा आएर धेरै कुरा बताएँ । नवौँ महाधिवेशनमा आउँदा माधव नेपाललाई समर्थन गर्ने परिस्थिति बन्यो ।

किन माधव नेपाललाई समर्थन गर्‍यो भन्ने कुरा बताउनैपर्‍यो, मैले बताएँ । माधव नेपाल टिमको पनि म अघोषित प्रवक्ताजस्तै भएँ । यी र यस्ता कारणले ज्यादा समाचार सञ्चारमाध्यममा आए ।

अहिले पार्टीको अफिसियल जिम्मेवारी पनि प्रचार विभाग परेको छ । प्रचार विभागको मान्छे मिडियासँग सम्पर्क नै गरेन भने असफल त भई नै हाल्छ । त्यस अर्थमा ज्यादा सम्पर्क छ नै । यसलाई कतिपय मेरै समकालीन साथीहरूले पनि राम्रो मानेका छैनन् होला ।

आफू पनि त्यत्तिकै मिडियामा आउन पाए हुन्थ्यो भन्ने कतिपयलाई लागेको होला । उहाँहरूको जिम्मेवारी पनि मेरो जस्तो भयो भने उहाँहरू पनि आउनुहुन्छ होला । त्यतिवेला म फ्रन्टलाइनमा आउनुपर्दैन होला । यसलाई त्यति अन्यथा लिनुहुँदैन ।

अर्को कुरा, म के भन्न चाहन्छु भने यहाँ समाचार बेचेर जिन्दगी चलाउने मान्छे पनि छन् । म पार्टीको अहितमा, देशको अहितमा, जनताको अहितमा शक्तिकेन्द्रलाई समाचार बेच्ने वा कुनै चर्चित मिडियालाई समाचार बेच्ने बेइमानी भने गर्दिनँ ।

अभियोग ५

तुलनात्मक रूपमा आफ्नो पुस्ताका नेतामध्ये व्यवस्थित राजनीति गर्नुहुन्छ । मिडिया परिचालन, मास परिचालन र आर्थिक व्यवस्थापन पनि सजिलै गर्न सक्नुहुन्छ । तर, ती सबै समग्र पार्टी हितका लागि भन्दा गुट र व्यक्तिगत लाभमा परिचालन गर्नुहुन्छ ।

हाम्रो दुर्भाग्य नै यही भएको छ । हामीसँग भएको क्षमता, योग्यता, हामीभित्र अन्तरनिहित गुणहरू जुन छन्, त्यो समग्र पार्टीको निर्माणमा, विकासमा, मुलुकको हितमा परिचालन गर्ने परिस्थिति नै छैन हाम्रो देशमा पार्टीहरूको गुटबन्दीले ।

पहिला, एउटा समूहमा गुटबन्दी, त्यसपछि निश्चित नेताबीच केन्द्रित हुँदै जान्छ, नेताहरूमध्ये पनि एउटा नेतामा केन्द्रित हुन थाल्छ, त्यसपछि नेताको परिवारमा जान्छ । गुटहरू पनि यति साँघुरा हुँदै गएका छन् कि त्यसले मान्छेको क्षमता, योग्यतालाई प्रस्फुटन नै हुन दिँदैन । यो दुर्भाग्य हो ।

हामीजस्ता राजनीतिमा जीवन नै बिताएर आएका मान्छेले आफूसँग भएको क्षमता र योग्यता कहीँ न कहीँ त देखाउनुपर्‍यो । त्यसै बस्नु त भएन । त्यसैले हामी कहिलेकाहीँ कुनै फोरम बनाउँछौँ, त्यहाँ गोष्ठी गर्छाैँ, सेमिनार गर्छाैँ, छलफल गर्छौं, बहस गर्छौं । त्यो कामलाई केही मान्छेले ‘पार्टीभित्र यस्तो त गर्न नहुने हो, किन गरेको होला’ भन्छन् ।

पार्टीको संस्थागत संरचनामा हामीले आफ्नो भूमिका, क्षमता प्रदर्शन गर्न नपाएपछि मान्छेले कहीँ न कहीँ फोरम त खोज्छ । तर, त्यस्ता फोरम प्रयोग गर्दा हामी पार्टीको अहित नहोस् भन्ने कुराचाहिँ हरदम सोचिरहेका हुन्छौँ ।

र, अर्को कुरा हामीलाई देखेर अथवा हामीलाई नेतृत्व मानेर पनि देशरभर थुप्रै साथी क्रियाशील हुनुहुन्छ । उहाँहरूसँग नियमित सम्पर्कमा बस्नु, उहाँहरूसँगको भेटघाटको व्यवस्थापन गर्नु, छलफल गर्नु, उहाँहरूले बोलाएको कार्यक्रममा जानुपर्छ । त्यसकारण यस्ता व्यवस्थापन गरिरहनुपर्ने अवस्था आउँछ ।

अभियोग ६

मीठो र सर्वसाधारणलाई लोभ्याउने गरी बोल्न र भाषण गर्न खोज्नुहुन्छ । तर, बोलीमा नियन्त्रण राख्न सक्नुहुन्न । जसले गर्दा विवादमा मात्रै तानिने होइन, राजनीतिक हानिसमेत व्यहोर्नुहुन्छ । पछिल्लोपटक पार्टी एकताको तयारीमा जुटेका एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले सक्रिय राजनीतिबाट विश्राम लिनुपर्ने भाषण ठोक्नुभयो । यसबाट चुनावताका तपाईंकै क्षेत्रमा गएर ‘तपाईंहरू योगेश भट्टराईलाई सांसद बनाएर पठाउनुस्, काठमाडौंबाट म मन्त्री बनाएर पठाउँछु’ भनेर सार्वजनिक प्रतिबद्धता गरेका ओली पनि बिच्किए । र, मन्त्री नै बनाएनन् ।

पार्टी एकताको प्रक्रिया चलिरहेकै सन्दर्भमा को अध्यक्ष बन्ने भन्ने बहस हाम्रो पार्टीमा चली नै रहेको छ । अब अहिले एउटा मध्यमार्गी सोलुसनजस्तो निकालिएको देखिन्छ, दुवै पार्टीका अध्यक्षलाई अध्यक्ष मान्ने । यो कुनै राजनीतिक निर्णय होइन । र, सही निर्णय पनि होइन । यो कुनै अमुक दुई नेताको चित्त बुझाएपछि भइहाल्छ भन्ने टालटुले कुरा हो ।

यस्तो कुराले दीर्घकालिन समाधान हुँदैन । पार्टी एकता भनिसकेपछि मन, वचन, कर्मले, भावनात्मक हिसाबले, संगठनात्मक हिसाबले, सम्पूर्ण ढंगले एक–अर्कामा समर्पित हुन हामी तयार हुनुपर्छ । तब मात्रै एकता दिगो हुन्छ भन्ने मलाई लाग्छ । यो नेतृत्वको हस्तान्तरण, पुस्तान्तरणको बहस मैले अहिले मात्रै होइन, पहिलेदेखि नै चलाउँदै आएको छु ।

अहिलेको जुन पुस्ता जो नेतृत्वमा छ, उसले कम्युनिस्ट पार्टीको पुनर्गठन गर्दै ०४६ सालको आन्दोलन, ०६२/६३ को आन्दोलन, संविधान निर्माणलगायत सबै कुरामा तुलनात्मक रूपमा सही नेतृत्व नै गरेको छ । त्यसकारण अब क्रमशः यो पुस्ताले बिदा लिएर नयाँ पुस्तामा नेतृत्व जाओस् भन्ने मेरो सोचाइ हो । यो कुरा मैले अहिले मात्रै होइन, पहिलेदेखि नै बहसका रूपमा उठाउँदै आएको छु ।

फेरि यो कुरा नेताहरूलाई मानमर्दन गर्ने, होच्याउने, अपमानित गर्ने हिसाबले, उहाँहरूलाई चारपाटे मुडेर लखेट्ने हिसाबले भनेको होइन । उहाँहरूकै मान–सम्मानका लागि भनिएको हो । उहाँहरूको राजनीतिक इज्जतका लागि भनिएको हो । तर, कतिपयले त्यसलाई सही ढंगले बुझ्न सकेनन् । त्यो बेग्लै कुरा हो । सही ढंगले बुझाउन नसक्नु मेरो पनि कमजोरी होला ।

यस्तो बहस गरेकै आधारमा केपी ओलीले मलाई मन्त्री नबनाउनुभएको होला भन्ने मलाई लाग्दैन । यदि त्यत्तिकै आधारमा उहाँले मन्त्री नबनाएको भए पनि मेरो कुनै गुनासो छैन । यसबारे मैले धेरै प्रतिक्रिया पनि दिइसकेको छु । मलाई लाग्छ, केपी कमरेडले मलाई मन्त्री नबनाउनुमा अर्कै कुनै अदृश्य कुरा छ । तर, मैले थाहा पाएको छु । त्यो कुनै दिन प्रकट हुन्छ ।

तर, पनि केपी कमरेडप्रति मेरो कुनै गुनासो छैन् । उहाँको सरकारलाई म दृढताका साथ समर्थन गर्छु । र, सार्वजनिक ठाउँमा, सञ्चारमाध्यममा पक्षपोषण गर्छु । गलत निर्णय छन् भने विरोध पनि गर्छु । तर, उहाँले मलाई मन्त्री बनाउनुभएन भन्ने आधारमा सरकारको भन्डाफोर गर्दै म हिँड्दिनँ ।

जहाँसम्म बोलीमा नियन्त्रण गर्न नसकेको कुरा छ, हामी मास मुभमेन्टबाट आएका मान्छे हौँ । ठुल्ठूला मास मुभमेन्टलाई नियन्त्रण गर्दै, त्यसलाई ट्र्याकमा राख्दै आउनुपर्ने भएकाले कहिलेकाहीँ हामी मासको सेन्टिमेन्टअनुसार पनि बोल्छौँ । कतिपय वेला मासले, भिडले अप्रिय घटना घटाउँदै छ भन्ने कुरा हामी देख्छौँ, घगडान–घगडान नेताहरू पनि अगाडि गएर सम्झाउन सक्दैनन् ।

त्यस्तो वेला धेरैपटक हामीले मासलाई सम्झाएका छौँ, हाम्रो पुस्ताका साथीले सम्झाउनुभएको छ, मैले पनि सम्झाएको छु । त्यो मासलाई सम्झाउने क्रममा कहिलेकाहीँ त्यहीँ उत्पन्न हुन्छन् कतिपय कुरा र त्यही बोलिन्छ । हामी मास मुभमेन्टबाट आएका मान्छेको बोल्ने तरिका र संगठन निर्माणको बाटोबाट आएका नेताको बोल्ने तरिकामा केही भिन्नता हुन्छ । उहाँहरू अलि धेरै तौलेर बोल्नुहुन्छ होला ।

सोचविचार गरी ज्यादा बोल्नुहुन्छ होला । हाम्रो जस्तै स्कुलिङबाट आएकाले अलि चर्को बोल्ने होला । अथवा मासलाई बढी उत्तेजित गर्ने कोसिस गर्छौं होला हामीले । यसकारण तपाईंले भनेका कुरा म अस्वीकार गर्दिनँ । कहिलेकाहीँ बोल्दाबोल्दै चिप्लिन्छ । ठुल्ठूला नेताहरू पनि चिप्लिन्छन्, हामी पनि चिप्लिन्छौँ । पछि, त्यस्तो नबोल्नुपथ्र्यो, बोलिहालियो भन्ने लाग्छ । त्यसलाई पछि अर्को माध्यमबाट डेन्टिङ–पेन्टिङ गर्नुपर्छ ।

अभियोग ७

फरक गुटका कार्यकर्तासँग मीठो बोले पनि वास्तविक रूपमा देखिसहनुहुन्न, भित्रभित्रै सक्काउने अभियानमा लाग्नुहुन्छ । आफूले निर्णय गर्ने ठाउँमा उनलाई ‘काखमा राखेर छुरी चलाउने’ काम गर्नुहुन्छ ।

पार्टीभित्रको विचार समूहमा म कहिले पनि स्थिर ढंगले एउटै नेताको पक्षमा उभिरहेको छैन । नेताहरू कता लागे भन्ने आधारमा मात्रै म लागेको छैन । सोचविचार गरी, विचारका आधारमा, विषयवस्तुका आधारमा पनि लाग्ने गरेको छैन । पार्टीभित्र जतिसुकै गुटबन्दी भए पनि पार्टीलाई एकताबद्ध गरेर राख्ने दायित्व हाम्रो पनि छ ।

हामीले क्रस सेक्सनमा पनि काम गर्नुपर्छ भन्ने मलाई लाग्छ । मलाई यो क्रस सेक्सनमा काम गर्ने बानी किन पनि परेको छ भने पञ्चायतविरोधी आन्दोलनमा होस् या पछिल्लो लोकतान्त्रिक आन्दोलनमा होस्, यी दुवै आन्दोलनमा अरू संगठन, अरू राजनीतिक दलका संगठनसँग पनि वार्ता, संवाद गर्ने जिम्मा मैले पाएको थिएँ । ०४६ सालको आन्दोलनताका नेविसंघसँगको डिलिङमा पनि हामी गयौँ, त्यहाँबाट रमाइलो लाग्यो ।

उनीहरूसँग पनि एउटा साथीसंगीजस्तो भइयो । अब त्यो जेनेरेसनको नेविसंघका नेतासँग अहिले पनि हाम्रो भेटघाट हुन्छ । चियापानमा हामी सँगै बस्छौँ, बेलुकी खानपानमा हामी सँगै बस्छौँ । त्यो चल्छ । पार्टीभित्र पनि फरक समूहको विचार राख्ने साथीहरूसँग पनि त्यत्तिकै सौहार्दपूर्ण व्यवहार गर्नुपर्छ । त्यसले नै पार्टीलाई युनिफाइड राख्न सक्छ भन्ने मलाई लाग्छ । त्यस हिसाबले म कोसिस पनि गर्छु ।

यद्यपि, कम्युनिस्टहरूमा लडाइँ भनेको ज्यादा नकारात्मक हुन्छ, बडा गाह्रो हुन्छ । कहिलेकाहीँ ‘भेटौँ न साथी हो’ भन्दा पनि फरक विचार समूहका साथीहरू तर्केर हिँड्छन् । र, पनि यसमा हामी हार मान्नु हुँदैन, पहल गरिरहनुपर्छ ।

जहाँसम्म फरक विचारसमूहका कार्यकर्तालाई संरक्षण नगर्ने, सक्काउने आरोप छ । त्यो सही हो भन्ने म मान्दिनँ । त्यस्तो निर्णय गर्न सक्ने तहमा अहिले मेरो जिम्मेवारी पनि छैन । तर, म जहाँ इन्चार्ज बसेको हुन्छु, त्यहाँको काम कुशलतापूर्वक गर्छु । युवा संघको इन्चार्ज भएँ, हुनै नसकेको महाधिवेशन मैले गराएँ । त्यसपछि अहिलेसम्म महाधिवेशन भएको छैन ।

झन्डै आठ वर्ष भयो होला, युवा संघमा महाधिवेशन नभएको । तीन वर्षमा हुनुपर्ने महाधिवेशन अहिलेसम्म भएको छैन । तर, म इन्चार्ज हुँदा बोलचालै बन्द भएको, बैठकमा समेत हानाहान गर्ने युवा संघलाई एक ठाउँमा ल्याएर बुटवलमा महाधिवेशन गराएँ । त्यसपछि आजसम्म महाधिवेशन भएको छैन, कतिवटा अध्यक्ष बदलिइसके ।

अहिले म प्रेस चौतारीको इन्चार्ज छु, प्रचार विभाग प्रमुख छु । प्रेस चौतारीको महाधिवेशनमा, चौतारीजस्तो व्यावसायिक–पेसागत संगठनमा के गुटबन्दी गर्ने, के नेताहरूको लडाइँ चलाउने भनेर मैले मिलाएँ । त्यहाँ चुनाव हुन दिइनँ, एउटा समायोजन गराएँ । यही स्प्रिटअनुसार मैले गर्दै आएको छु । कतिपयले मलाई गुटको हिसाबले कठोर छ पनि भन्छन्, कतिपय ठाउँमा मेरो कठोरता पनि देखिन्छ होला, तर म त्यति धेरै कठोर हुनचाहिँ चाहन्नँ ।

अभियोग ८

फरक गुटका मात्रै होइन, आफ्नै गुटका युवाहरूप्रति पनि सहिष्णु र सहयोगी हुनुहुन्न । ऐन मौकामा साथ दिनुहुन्न । सधैँ साथमा रहने ठाकुर गैरेलगायत युवा नेताहरू गत निर्वाचनमा टिकटका लागि दौडधुप गरिरहेका वेला तपाईं टिकट बाँड्ने स्थायी समिति बैठकमा समेत उपस्थित हुनुभएन ।

यो ज्यादै महत्वपूर्ण कुरा हो । गएको संसदीय चुनावमा टिकट वितरणको सन्दर्भमा यो कुरा उठेको हो । ती कुराप्रति मलाई पनि अलिकति खिन्नता छ । अलिकति पश्चात्ताप पनि छ । म चुनाव लड्ने क्षेत्रमा पहिलो चरणअन्तर्गत १० मंसिरमा चुनाव थियो । अरू कतिपय साथीको क्षेत्रमा २१ मंसिरमा थियो । हाम्रो पार्टीमा के भयो भने, टिकटको फाइनल गर्ने मिटिङ बोलाउने, अनि यो मिलेको छैन, त्यो मिलेको छैन भन्ने र स्थगित गर्ने काम पटक–पटक भइरहेको थियो ।

म चुनाव लड्न जानुपर्ने, नोमिनेसनको दिन आइसक्यो । ५ कात्तिकमा नोमिनेसन थियो । मेरो क्षेत्र फेरि यस्तो विकट छ कि काठमाडौं आउन मात्रै कम्तीमा तीन दिन लाग्छ, जान तीन दिन लाग्छ । त्यसमाथि म पहिलोपटक ताप्लेजुङ गएर चुनाव लडेको । त्यहाँ साथीहरूसँग भेटघाट धेरै गर्नु थियो ।

फेरि मलाई च्यालेन्ज पनि के थियो भने दुईपटक मैले चुनाव हारेँ, यसपटक पनि मैले जितिनँ भने राजनीतिक हिसाबले त एक्टिभ हुन कसैले रोक्दैन, तर पार्टीभित्र र समाजमा मेरो जुन पोजिसन छ, त्यसमा धेरै नै धक्का पुग्छ । धेरै मान्छेले मलाई ‘कि तँ चुनाव नउठ्, उठ्छस् भने जसरी नि जित्’ भनेर सुझाब दिएका थिए । त्यसैले यता बैठकको टुंगो नभएकाले म चुनावमा उठ्न गएँ ।

त्यहीवेला कतिपय टिकट फाइनल भए । त्यतिखेर म उपस्थित हुन सकिनँ । म उपस्थित भएको भए एकाध साथीको बदल्न सकिन्थ्यो कि ! नेतृत्वको कार्यशैली, तरिका हेर्दा त हामी जति नै रोइकराई गरे पनि के नै हुन्थ्यो र भन्ने पनि लाग्छ । तर, जे भए पनि साथीहरूलाई एउटा सहानुभूति हुन्थ्यो, फलानो पनि लडेको छ है, हाम्रो लागि गर्दिराखेको छ भन्ने सहानुभूति हुन्थ्यो । सान्त्वना हुन्थ्यो ।

यस विषयमा साथीहरूले मेराबारे सही नै टिप्पणी गरेका छन् भन्ने लाग्छ । साथीहरूलाई मैले तपाईंंमार्फत यति मात्रै भन्न चाहन्छु, मेरो परिस्थिति पनि उहाँहरूले बुझिदिनुभयो भने त्यो कुरामा कहीँ न कहीँ हाम्रो मिल्छ ।

अभियोग  ९

लामो राजनीतिक करिअरमा गृहजिल्ला ताप्लेजुङलाई वास्ता गर्नुभएन । केन्द्रीय राजनीतिमा स्थापित हुँदै गर्दा काठमाडौंकै जनताबीच भिज्न निर्वाचनमा गएर परीक्षण पनि हुनुभयो । तर, दुईपटक असफल भएपछि गृहजिल्ला फर्किन बाध्य हुनुभयो ।

म क्याम्पस पढ्ने वेलादेखि नै काठमाडौंमा भएकाले यहीँ बढी क्रान्ति गरियो । गृहजिल्लासँग मेरो राजनीतिक, सांगठनिक हिसाबले त्यति उठबस भएन । त्यसो हुँदा म यहीँ चुनाव लडेँ । अलिकति मिडियामा पनि बढी प्रचार पनि हुन सक्ने, अलिकति मास मुभमेन्ट पनि गर्न सक्ने, परिचालन पनि गर्न सक्ने भएकाले जितिन्छ कि भन्ने लागेको थियो ।

पहिलो चुनावमा पनि पार्टीको स्याम्प्लिङभन्दा झन्डै १५ सय– दुई हजार भोट बढाएँ । र, दोस्रो चुनावमा झन्डै चार हजार भोट बढाएँ । त्यति गर्दा पनि जितिएन । नजित्ने धेरै कारण छन् । आफैँ भित्रका र बाहिरका पनि कारण छन् । त्यतातिर अहिले म जान्नँ । मैले निर्वाचन लडेको क्षेत्र कति कमजोर रहेछ भन्ने कुरा पछिल्लो निर्वाचनबाट पनि प्रमाणित भयो । देशभरि एमाले र माओवादीको गठबन्धनले एक किसिमले स्विप नै गरिरहेको वेलामा काठमाडाैं–६ जितिएन ।

पछिल्लो समय मैले विचार गरेँ, दुई–दुईपटक त्यहाँ हारेँ, फेरि तेस्रोपटक पनि म किन त्यहाँ उठूँ ? त्यसले साथीहरूलाई उत्साह पनि दिँदैन होला । दुईपल्ट हारेको फेरि आयो भन्ने हुन्छ । मेरा शुभचिन्तकले, मित्रहरूले ‘एकपटक तपाईंं आफ्नै जिल्लाबाट उठ्नुस्’ भन्ने सुझाब पनि दिइरहेका थिए ।

झन्डै एक वर्षअघिदेखि मैले त्यसको एउटा आधार पनि बनाउँदै आएको थिएँ । जिल्लाको पार्टीसँग कुराकानी गर्दै आएको थिएँ, त्यहाँका कार्यक्रममा भाग लिँदै आएको थिएँ । जिल्लाको सर्वसाधारण मासले पनि ताप्लेजुङजस्तो जिल्लामा एउटा बलियो नेतृत्व आएर हाम्रो प्रतिनिधित्व गरिदिओस् भन्ने चाहना देखाउनुभयो । उहाँहरूले मलाई त्यसमा प्रस्ताव गर्नुभयो, म गएँ । पार्टीका साथीहरूले पनि सर्वसम्मत ढंगले मेरो नाम पठाउनुभयो, उहाँहरू लाग्नुभयो, जिताउनुभयो । अहिले मेरो एउटा दायित्व
त्यसप्रति छ ।

अभियोग १०

राजनीतिक उचाइ चढ्ने क्रममा फरक–फरक नेताहरूलाई भर्‍याङ बनाउनुभयो । वामदेव गौतम, झलनाथ खनाल, माधव नेपाललाई समयअनुसार साथ लिनुभयो । खासै नरुचाउने फरक गुटका केपी ओलीलाई सार्वजनिक रूपमा ‘ओली बा’ समेत भन्नुभयो ।

म अघिल्लो पुस्ताका सबै नेतालाई सम्मान गर्छु । उहाँहरू मेरो त गुरु पनि हो । मलाई सिकाउनु पनि भएको छ । अनेक कालखण्डमा, संकटको वेला पनि मलाई सिकाउनुभएको छ । बाटो देखाउनुभएको छ । मलाई अवसर पनि दिनुभएको छ । किनभने, दुई–दुई पल्ट मलाई टिकट दिनुभयो । मैले जित्न सकिनँ त, त्यो वेग्लै कुरा हो । मेरो कमजोरी होला त्यो ।

कैयौँपटक मलाई नेताहरूले सल्लाह पनि दिनुभएको छ । ‘तपाईंंको यो पक्ष अलि कमजोर छ, अलि सुधार्नुस्’ भन्नुहुन्छ । वामदेवले मलाई धेरैपटक सल्लाह दिनुभएको छ, माधव नेपालले दिनुभएको छ, झलनाथ खनालले दिनुभएको छ । केपी ओलीले पनि मलाई तीन–चार घन्टा राखेर सल्लाह दिनुभएको छ । मैले त्यसलाई गम्भीरताका साथ पनि लिएको छु ।

उहाँहरूको सुझाबले कतिपय वेला म बदलिएको पनि छु । केपी ओलीले दिएको सुझाबले ममा थुप्रै बदलाव आएका छन् । झलनाथले दिएको टिप्पणीले त मैले रक्सी नै छाडेँ । बदलाव पनि आएको छ, त्यसैले म उहाँहरूलाई सम्मान पनि गर्छु । तर, सँगसँगै म अलिकति आलोचनात्मक पनि छु । उहाँहरूको आलोचना पनि गर्छु म । आलोचना गरेको कतिपयले मन पराउनुहुन्छ, कतिपयले मन पराउनुहुन्न । नेताहरूसँगको मेरो सम्बन्ध एउटा आलोचनात्मक सम्बन्ध हो ।

पार्टीभित्रको विचार समूहमा म कहिले पनि स्थिर ढंगले एउटै नेताको पक्षमा उभिरहेको छैन । पाँचौँ महाधिवेशनमा हामी दृढताका साथ मदन भण्डारीको विचारका पक्षमा उभियौँ । मदन भण्डारीको हत्यापछि पार्टीभित्र देखिएको गुटबन्दीमा विचारको, शैलीको, विषयवस्तुको हिसाबले मैले वामदेव गौतमलाई साथ दिएँ ।

र, उहाँले नेकपा माले बनाउँदा पनि म उहाँसँगै लागेँ । र, पछि माले– एमालेमा एकता भयो । वामदेव गौतम हाम्रो नेता नै हुनुहुन्थ्यो, उहाँको निर्णयलाई मान्नैपर्ने अवस्था पनि थियो । उहाँले भन्नुभयो कि हामी पार्टी विभाजन गर्दै एकतासम्म आएका छौँ, अब फेरि हामी पार्टी संस्थापनको विपक्षमा नलागौँ । धेरै चर्को यताउति पनि नगरौँ ।

सातौँ महाधिवेशन मुखमै थियो । ‘जनकपुरमा माधव नेपाललाई नै साथ दिऔँ, उहाँ नै महासचिव हुनुहुन्छ । फेरि महासचिव हुने उहाँ नै हो, उहाँलाई नै साथ दिऔँ’ भनेर वामदेवले भन्नुभयो । यसो विचार ग-यौँ, कुरा ठीकै हो भन्ने लाग्यो ।

तर, अचानक वामदेव आफैँ केपी ओलीको कित्तामा पुग्नुभयो । हामीलाई बडो धर्मसंकट भयो । हामीलाई यता लाग्नुपर्छ भन्नुभयो, केही दिनपछि आफूचाहिँ उता लाग्नुभयो । हामीले उहाँलाई गएर भन्यौँ, ‘तपाईंंले त्यसो भन्नुभएको थियो, फेरि किन यसो गर्नुभयो ?’

उहाँले केही जवाफ दिन सक्नुभएन । ‘तपाईंंहरू आफ्नो इच्छा गर्नुस्’ भन्नुभयो । त्यसपछि उहाँलाई नै हामीले भन्यौँ, ‘तपाईंं उता लागे पनि हामी लाग्न सक्दैनौँ, हामी माधव नेपाललाई नै साथ दिन्छौँ ।’ र, जनकपुरमा हामीले माधव नेपाललाई नै साथ दियौँ ।

आठौँ महाधिवेशनमा आइपुगेपछि वामदेव कमरेड, हामी सबै झलनाथ खनाललाई साथ दिने एउटै ठाउँमा उभियौँ । नवौँमा आइपुग्दा वामदेव फेरि केपी ओलीपट्टि लाग्नुभयो, हामी लागेनौँ ।

अभियोग ११

एमालेहरूले नै अर्को आरोप पनि लगाउँछन्, तपाईं कामभन्दा धेरै स्क्याण्डलमा विश्वास गर्नुहुन्छ । तपाईंले साथ दिएका र संरक्षण गरेका धेरै कार्यकर्ता ग्रासरुटको ‘अग्र्यानिक पोलिटिक्स’ गरेकाभन्दा प्रचारबाजीको माध्यमले ‘टुप्पोबाट पलाएका’ छन् । दुईपटकको निर्वाचनमा काठमाडौंबाट पराजित हुनुको एउटा कारण यो पनि हो ।

त्यो हुन सक्छ । तर, हामी जो साथीहरू टिममा बसेर काम गरिरहेका छौँ, सबै तल संघर्ष गरेर आएका छौँ । कठिन दिनहरूमा संघर्ष गरेर आएका छौँ । जेलनेल खाएर आएका छौँ । पार्टी निर्माण गरेर, संगठन निर्माण गरेर आएका साथीहरू छौँ ।

पार्टीमा कहिलेकाहीँ राम्रो काम गर्ने स्थान पाइएन भने बाहिर पनि एक्टिभ हुनुपर्छ । हामीसँग नजिक भएका धेरै साथीलाई पार्टीमा राम्रो जिम्मेवारी छैन । उपमहासचिव घनश्याम भुसालको अहिलेसम्म पार्टीमा त केही पनि जिम्मेवारी तोकिएको छैन । दिन नै नचाहेको स्थिति छ । हामी केन्द्रीय कमिटीमा छौँ, केन्द्रीय सचिवालयमा पनि छौँ ।

हरेक १५ दिनमा सचिवालय बैठक बस्नुपर्छ भनेर विधानमा लेखिएको छ । तर, बैठक हुँदैन । स्थायी समितिको नियमित बैठक हुँदैन । बैठक भए पनि स्थायी समितिको आधा घन्टा, एक घन्टा हुन्छ । त्यो पनि अध्यक्षले ब्रिफिङ गर्नुहुन्छ र ‘यस्तै छ अब भोलि बसौँला’ भन्नुहुन्छ । ‘होइन, अहिले नै यहीँ गर्नुस्’ भनेर पनि कति कराउनु हामी ?

यत्रा चुनाव सम्पन्न भए, पार्टीको यति ठूलो एकताको कुरा छ, एकपटक केन्द्रीय कमिटी बैठक बस्दैन । पोलिटब्युरो बस्दैन । अनि मान्छेले कुरा कहाँ राख्ने त ? हामीसँग कुरा त टन्न भइसके नि, पार्टीमा राख्नुपर्ने कुराहरू । नेतृत्वको सन्दर्भमा राख्नुपर्ने कुरा धेरै भइसके । मिटिङ नै बोलाउँदैनन्, राख्ने ठाउँ नै छैन । त्यसपछि कहाँ राख्ने ? अनि, बाहिर एक्टिभ हुनुपर्ने भयो ।

बाहिरबाट पनि आफ्ना कुरा जाऊन् भन्ने लाग्छ । आजको दुनियाँमा फेसबुक, ट्विटरलगायत सोसल मिडियामा एउटा लाइन लेखिदिए पनि पार्टी अध्यक्षले पढ्नुहोला भनेर पनि कतिपय कुरा लेख्छौँ । नलेख्नुपथ्र्यो पार्टीका बारेमा, नेतृत्वका बारेमा । तर, भन्ने ठाउँ कहीँ छैन, कहाँ जानू ?

यसो विचार ग-यो, बरु यही फेसबुकमा लेख्दा पनि कमसेकम पार्टी अध्यक्षका पिएहरूले ‘तपाईंंका बारेमा विरोध गरेछन्’ भनेर त सुनाइदेलान् भनेर पनि म कहिलेकाहीँ लेख्छु । हामीसँग भएका साथीहरूले पार्टीभित्र काम गर्ने जिम्मेवारी नपाउँदा बाहिर पनि अलिकति नाच्नुपर्‍यो । मञ्चमा, रंगमञ्चमा नाच्न पाइएन भने सडकमा पनि नाच्ने कहिलेकाहीँ । आफ्नो कला त देखाउनुपर्‍यो नि !

अभियोग १२

अहिलेको सरकारमा मन्त्री नपाएको कुण्ठा तपाईंमा देखिन्छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको रेल चलाउने योजनाको समेत सामाजिक सञ्जालमा टिप्पणी गर्नुभयो ।

मलाई मन्त्री बनाउने–नबनाउने प्रधानमन्त्रीको कुरा हो । पार्टीको कुरा भएको भए पार्टीमा छलफल हुन्थ्यो । उहाँले आफ्नो टिममा मलाई राख्नुभएन, सिद्धिगयो नि ! राखे हुन्थ्यो भन्ने मेरो चाहना थियो होला ।

मलाई समर्थन गर्ने धेरै मान्छेले पनि यस्ता चाहना राखेका थिए । प्रधानमन्त्रीलाई आफ्नो टिम फर्मेसन गर्न पाउने अधिकार छ । उहाँले मलाई राख्नुभएन, उहाँको कुरा हो । त्यसमा म किन कुण्ठित हुने ? किन टिप्पणी गर्ने ?

उहाँले जिम्मेवारी दिएको भए काम गरिन्थ्यो कि भन्ने मलाई लाग्छ । काम गर्ने एउटा ठाउँ पाइन्थ्यो कि, काम गरेर केही देखाउन पाइन्थ्यो कि भन्ने लाग्छ । तर, त्यसमा मलाई कुनै पीरमर्का छैन । र, मैले एक शब्द पनि केपी ओलीलाई गुनासो गरेको छैन । मलाई मन्त्री नबनाएकोमा उहाँको विरोध पनि गरेको छैन । सामाजिक सञ्जालमा पनि मैले त्यस्तो टिप्पणी गरेको छैन ।

मिडियाहरूले लेखिदिएका हुन् । एउटा संयोग, ओली कमरेडले मेरो क्षेत्रमा गएर भाषण गरिदिनुभयो । त्यसैले त्यस्ता टिप्पणी आएका हुन् जस्तो मलाई लाग्छ । उहाँले नबोलेको भए टिप्पणी आउने थिएन होला । अरू कतिलाई पनि मन्त्री बनाउनुभएन नि त, अरू बारे त टिप्पणी आएन । मेराबारेमा उहाँले उच्च स्वरमा मेरो प्रशंसा गर्नुभयो, तारिफ गर्नुभयो, मेरो क्षमताको प्रशंसा गर्नुभयो ।

‘यसले गर्न सक्छ, आत्मविश्वास छ योसँग, म पनि ऊसँग कन्भिन्स छु । पार्टीले विश्वास गरेको छ, मैले विश्वास गरेको छु । म मन्त्री बनाउँछु’ भन्नुभयो । त्यसमाथि मान्छेहरूमा ‘केपी ओलीले बोल्दैनन्, बोलेपछि पूरा गर्छन्’ भन्ने छ । त्यसैले पनि केपी ओलीलाई बुझ्नेहरूलाई अब योगेश भट्टराईलाई मन्त्री त बनाउँछन् भन्ने लागेको थियो ।

तर, उहाँलाई के आइपर्‍यो कुन्नि, बनाउनुभएन । कहिलेकाहीँ बाटोमा हिँड्दाहिँड्दै पनि युटर्न लिनुपर्छ । मलाई बनाउँदा केही अप्ठ्यारा आइपर्ने हुनाले युटर्न लिनुभएको होला । यसमा मेरो गुनासो छैन । म अहिले सांसद छु, अब मैले गर्नुपर्ने काम, देखाउनुपर्ने कला, भूमिका त्यहीँ देखाउँछु ।

71 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank