रोकिएन यौनजन्य हिंसा, एक वर्षमा दुई हजार २३१ घटना

आइतवार, कार्तिक १७, २०७६



नेपालमा प्रत्येक दिन सरदर छवटा जबरजस्ती करणीसम्बन्धी अपराधका घटना हुने गरेका छन् । आर्थिक वर्ष २०७५/७६ मा देशभर दुई हजार २३१ वटा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएका छन् ।

सो तथ्याङ्कले नेपालमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य हिंसाको अवस्था जटिल बन्दै गएको देखिन्छ । एक वर्ष अर्थात् ३६५ दिनमा दुई हजार २३१ घटना हुने गरेको र यो अघिल्लो आर्थिक वर्षभन्दा बढेको जानकारी नेपाल प्रहरी प्रधान कार्यालयले दिएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा एक हजार ४८० करणी र ७२७ आशय करणीसम्बन्धी मुद्दा दर्ता भएका थिए । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले भने, “यो तथ्याङ्क करणीसम्बन्धी अपराधको मात्र हो; जबरजस्ती करणी, आशय करणी र लैङ्गिक हिंसासम्बन्धी अन्य अपराधका घटना पछिल्ला दिनमा झन् बढेका देखिन्छन् । ”

आर्थिक वर्ष २०७४/७५ को तुलनामा गत आर्थिक वर्षमा जबरजस्ती करणी मात्र नभई आशय करणी अपराधका घटना पनि बढेको

तथ्याङ्कले देखाएको छ । पछिल्लो वर्ष जबरजस्ती करणीसम्बन्धी अपराध अघिल्लो वर्षको तुलनामा शतप्रतिशत बढेको देखिन्छ ।

“प्रहरीमा दर्ता भएकाबाहेक अन्य गाउँघरमा लुकिछिपी बसेका अपराध घटना समेटिएको छैन”, प्रवक्ता पोखरेलले अन्याय सहेर बस्नु हुँदैन भन्ने चेतनाको विकासले पनि मुद्दा दर्ताको सङ्ख्या बढेको बताए ।

गत वर्ष जबरजस्ती करणीपछि १० जना महिलाको हत्या नै भएको छ । यौनहिंसासित घरेलु हिंसा पनि जोडिएको छ । त्यस क्रममा १४ हजार ७७७ जना महिला तथा बालबालिकामाथि घरेलु हिंसाका घटना भएका छन् । ८६ वटा बालविवाहविरुद्ध मुद्दा नै दर्ता भएका छन् ।

यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata