यातायात व्यावसायीले भने– सिन्डिकेटविरुद्ध सरकारसँग वार्ता गर्न तयार छौँ

बुधबार, बैशाख १९, २०७५



काठमाडौँ । सरकारले सिन्डिकेटविरुद्ध कडा कदम चालेपछि यातायात व्यवसायीले वार्ताबाट समस्या समाधान गर्न आफूहरू तयार रहेको बताएका छन् । यातायात व्यवसायीहरूको छाता संगठनहरू गणतान्त्रिक यातायात व्यवसायी संगठन र नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले संयुक्त पत्रकार सम्मेलन गरेर १३ बुँदे मागलाई सुझावका रुपमा प्रस्तुत गर्दै सहमतिका आधारमा समस्या समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरेका हुन् ।

यातायात व्यवसायभित्र भएका नराम्रा पक्षहरू सुधार गर्न आफूहरू तयार रहेको बताउँदै व्यवसायीहरूले सरकारसँग वार्तामा बस्न तयार रहेको बताए । ‘वर्तमान अवस्थामा देखिएको यातायात क्षेत्रका समस्या समाधान गर्न प्रधानमन्त्री, विभागीयमन्त्रीहरू, विभिन्न पार्टीका अध्यक्षहरू यथासिघ्र वार्ताबाट समस्या समाधानको लागि आवश्यक पहल गरी पाउन अपिल गर्न चाहन्छौँ ।’ संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ ‘हामी हरेक क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य गरी लामो समयदेखि पेशा, व्यवसाय गर्दै आएका व्यवसायी, मजदुर, कर्मचारीको संरक्षण गर्दै आधुनिक नेपाल निर्माणमा हातेमालो गर्न तयार रहेको जानकारी गराउँदछौँ ।’

सरकारले यातायात व्यवसायी संघ संस्थालाई असार मसान्तपश्चात नविकरण नगर्ने निर्णय गरेको हुँदा उक्त अवधिभित्र नविकरणको व्यवस्था मिलाउने माग १३ बुँदे सुझाबको पहिलो नम्बरमा समेटिएको छ । यातायात प्राधिकरण गठन गरी दर्ता प्रक्रियामार्फत संचालन गराउन पनि सुझाव दिइएको छ ।

त्यसैगरी सर्वपक्षीय आयोग गठन गरेर समस्या समाधानको बाटो खोज्न व्यवसायीले सुझाव दिएका छन् ।

गत चैत १८ गते यातायात व्यवस्थाविभागले जारी गरेको निर्देशिकाका केही बँुदाहरू ऐननियमसँग बाँझिएको हुँदा निर्देशिका नै खारेज गर्न व्यवसायीले माग गरेका छन् ।

सार्वजनिक यातायातका साधनहरू स्वस्थ प्रतिस्पर्धाका आधारमा संचालन गर्ने व्यवस्था, यातायात क्षेत्रको अधिकार प्रदेश सरकारलाई दिइनुपर्ने, असिमित बिमा नीति लागु गर्नुपर्ने, २० वर्ष पुराना सवारी सधान विस्थापन गर्ने निर्णय सच्याउने, सडक क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्ने लगायतका माग संयुक्त रुपमा पेश गरिएको छ ।

125 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank