विद्यालय बन्द गरी विद्यार्थी लिएर यार्सा खोज्दै शिक्षक

शुक्रबार, जेष्ठ १०, २०७६



अभिभावकसँगै विद्यार्थी र शिक्षक बहुमूल्य यार्सा टिप्न पाटन जान थालेपछि उच्च हिमाली क्षेत्रका विद्यालय बन्द भएकाछन् । रुकुमपूर्व, डोल्पा र बझाङका विद्यालय बन्द भएका हुन् । यहाँका विद्यालय यार्सा सिजनमा वर्षेनी  बन्द हुने गरेका छन् । बझाङमा वैशाख पहिलो सातादेखि नै विद्यालय बन्द भए ।

विद्यालय बन्द हुनुमा शिक्षकले विद्यार्थी र विद्यार्थीले शिक्षकलाई दोष लगाउँदै आएका छन् । ‘शिक्षकहरू यार्सा टिप्न पाटन जानुहुन्छ,’ बझाङका अनिल रोकायले भने, ‘अनि पढाइ नहुने भएपछि हामी पनि पाटन जान्छौं ।’ असारे बिदामा यो बिदा मिलान गर्ने गरेको शिक्षकहरू बताउँछन् । तर यार्सा टिप्न पाटन नजाने विद्यार्थीले भने पढाइबाट वञ्चित हुनुपरेको छ ।

कक्षा ५ देखिका विद्यार्थी यार्सा टिप्न जान्छन् । यार्सा यहाँका बासिन्दाको मुख्य आयस्रोत हो । सिजनमा यार्सा संकलकले दुईदेखि १० लाखसम्म आम्दानी गर्ने गरेको बताउँछन् ।

सो आम्दानीले वर्षभरि टार्ने गरेको साइपाल–१ धलौनका जनक बोहोराले बताए । ‘यो समयमा सबै परिवार पाटन जान्छौं,’ उनले भने, ‘उता नगए घरपरिवार पाल्न समस्या हुन्छ ।’ अहिले साइपालका पाँच, सुर्माका १४, दुर्गाथलीका पाँच, छब्बिस पाथिभराका तीन, बुंगल नगरका नौ र जयपृथ्वीका दुईवटा विद्यालय बन्द छन् ।

तलकोट गाउँपालिकाका पनि १८ वटा विद्यालय बन्द भएका छन् । यहाँ वैशाखको तेस्रो सातादेखि नै विद्यालय बन्द भएका हुन् । त्यस्तै रुकुमपूर्वका केही विद्यालय जेठको पहिलो सातादेखि बन्द भए । पृथा उत्तरगंगा गाउँपालिका–१ का वडाध्यक्ष मकरबहादुर गुरुङका अनुसार यहाँका विद्यालय करिब दुई महिनासम्म बन्द रहन्छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank