व्यवहारमा विभेद

मङ्लबार, माघ ७, २०७६



छोरी तिमीले त्यो गर्न हुन्न,एक्लै हिँड्न हुन्न
छोरी तिमी जहाँ मन लाग्यो त्यहाँ जान हुन्न

महिलालाई प्रायजसो हेर बैठक थाहै दिन्नन्
प्रायप्राय विचार राख्न महिलालाई समय नै हुन्न

सधैँभरि काम गर्दा, हिँड्न पर्दा ढिला गरी भन्ने
मञ्चमा राख्ने, बोलराख्ने, कठै ! समय छैन भन

बोलीचालीमा छोरी तिमीले दादालाई चिया देऊ
तिमी हैन दादा हाटबजार सामान ल्याउन जान्छ

रूप, गुण, सुन्दरताले बेलाबेला महिलालाई जोख्ने
डाँडा पाखा, काम जति सबैतिर महिलालाई सोप्ने

उ हेर त अस्पतालकी डाक्टरनी बिरामी हेर्दैछन्
स्कुलमा हिजो मात्रै मास्टरनी नानी भेटेकी थिएँ

कति राम्री, लजालु ती नजर भन्दै किशोरीलाई हेर्ने
सीता अनि सती भन्दै जिस्क्याउने तिनै पुरुष पुग्ने

प्रचलन र संस्कृतिको कुरा जोड्दै छोरी बुहारी सेक्ने
धर्म संस्कार छोडीछोडी हेर समाजमा छोरा बिगार्ने

पाठशालामा गुरुआमा, कठै ! गुरु भन्न सिकाउँदैनन्
कार्यालयका प्रशासक महिलालाई हाकीम्नी बनाइदिने

पद पनि व्याकरण नै बिगारे स्त्री र पुलिङ्गीमा प्रयोग
हियाउदै सभा माझ उदाहरणमा उखान र टुक्का प्रयोग

संस्कारमा नै भाले जति भाइ, छोरा सबै सधैँ श्रीमान् हुने
महिलाजति नामको अघि सुश्री, श्रीमतीको फुर्को थोपर्ने

व्यवहारमा मात्रै चोट हैन दृष्टिकोणमा अधिक छन् खोट
नारा लाउने कामले मात्रै हुँदैन सुखी अनि समृद्ध देश

विभिषण जोडिजोडी छिनभरमा रामलाई रावण बनाउने
सतीदेवी, सीतालाई गलाएर सदाचारमा द्रौपदी बनाउने

राजनीतिक सङ्घर्ष, आन्दोलन र जुलुसमा महिला थुपार्ने
प्रतिष्ठा र पदसँग जिम्मेवारी दिनु परे चट्टै पछि हटाउने

कति धेरै विभेदका श्रृङखला छन् लिङ्गीय आधारमा
नाम जोड्दा मात्रै हराउँदैन व्यवहारको भेद

-सीता ओझा

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments