विश्व प्रेस स्वतन्त्रता दिवस आज

इथियोपियाको राजधानी आदिस अबाबामा विशेष सम्मेलन

शुक्रबार, बैशाख २०, २०७६



काठमाडौं । सन् १९९३ देखि ३ मेलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसंघकाे साधारणसभाले निर्णय गरेर आह्वान गरेअनुसार यो दिवस हरेक सदस्य राष्ट्रमा मनाउने प्रचलन शुरु भएको हो ।

यो वर्ष राष्ट्रसंघकाे आयोजनामा इथियोपियाको राजधानी आदिस अबाबामा विशेष सम्मेलन भइरहेको छ । यो किन पनि महत्त्वपूर्ण छ भने सन् १९९१ मा अर्को अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको सम्मेलनले जारी गरेको घोषणापत्रको स्मरणमा नै यो दिवस शुरु भएको हो ।

उक्त सम्मेलन युनेस्कोको आयोजनामा भएको थियो र सम्मेलनको मूल उद्देश्य बहुलवादी र स्वतन्त्र प्रेसका लागि गर्नुपर्ने कामहरू निर्दिष्ट गर्नु थियो । स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि जारी ‘विन्डहक घोषणापत्र’ एउटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय दस्तावेज हो, जसको सान्दर्भिकता आज पनि उत्तिकै छ ।

प्रेस स्वतन्त्रता दिवस मनाउनुको मुख्य कारण समाचारको खोजी र प्रस्तुतिका लागि आफ्नो जीवनसमेतको पर्वाह नगरी खट्ने सञ्चारकर्मी जसले अनेक प्रकारका दमनको सामना गर्नुपरेको छ, उनीहरूप्रति सम्मान व्यक्त गर्नु हो ।

पत्रकारहरू राज्य र गैरराज्य पक्ष दुवैतर्फबाट अनेक प्रकारका दमनका सिकार हुने क्रम संसारभर रोकिएको छैन । हरेक वर्ष सयौं पत्रकार कार्यक्षेत्रमा मारिँदै आएका छन् । घाइते हुने र अनेक शारीरिक यातना पाउने त हजारौं हुन्छन् । जेल र हिरासतमा बस्नुपर्ने नियति पनि उस्तै छ  । धम्की, डर र त्रासबाट सताइनेको संख्या त अनगिन्ती छ । ३ मेमा उनीहरूको सहास, जाँगर र योगदानको सम्मान व्यक्त गर्ने दिन हो । उनीहरूका दुःखकष्ट सम्झने दिन हो ।

३ मेको अवसरमा राज्यलाई प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्ने दायित्व र कर्तव्य तिम्रो हो भनेर स्मरण गराउने र राज्यलाई थप कटिबद्ध हुन दबाब दिने दिन भएको बताउँछन्, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल । ३ मेमा प्रेस स्वतन्त्रता हननका घटनाहरूका तथ्यांक र विश्लेषण प्रस्तुत गरेर हरेक देशका आममानिसलाई यो अवस्थाबारे सचेत र जागरुक बनाउनुपर्ने अर्को मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।

नेपालमा पनि यो दिवस सन् १९९५ देखि हरेक वर्ष मनाउँदै आउने गरिएको छ । आज पनि नेपाली प्रेसको अवस्था स्वतन्त्रताका दृष्टिमा जोखिमयुक्त नै देखिन्छ । नेपालमा विगत एक वर्ष (सन् २०१८ मे देखि २०१९ अप्रिलसम्म) मा १०४ प्रेस स्वतन्त्रता उल्लंघनका घटना घट्दा १५८ पत्रकार प्रत्यक्ष प्रभावित भएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा डेढ गुणाले बढी हो । अघिल्लो वर्ष यो संख्या ६६ रहेको थियो । यस वर्षमा १०४ उल्लंघनका घटनामध्ये आक्रमण\हातपातका ३१, समाचार संकलन रोक र तोडफोडमा १६, दुर्व्यवहार २८, ज्यान मार्ने धम्की १९ र तीन घटना समाचार लेखेकै भरमा पत्रकारविरुद्ध मुद्दा रहेका छन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पछिल्लो समय नेपाली प्रेस तथा पत्रकारमाथि आक्रमणको शृंखला बढ्दै गएकाले नेपाली प्रेस थप चुनौतीपूर्ण बन्दै गएको बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments