महत्व बुझाउन नसक्दा रगतको अभाव बढ्दै

बुधबार, जेष्ठ ३१, २०७४



चितवन । माग बढ्दै गए पनि रक्तदाताको सङ्ख्या नबढ्दा बर्सेनि रगतको अभाव बढ्दै गएको छ । युवा समुदायमा रक्तदानको महत्व बुझाउन नसक्नाले पनि बर्सेनि गर्मी मौसममा रगतको पूर्ति हुन कठिन हुँदैआएको हो ।

नेपाल रेडक्रस सोसाइटीका सहमहामन्त्री हरि न्यौपानेका अनुसार नेपालमा गत आर्थिक वर्षमा दुई लाख ३० हजार ९८६ युनिट रगत सङ्कलन गरी तीन लाख १० हजार ६२३ युनिट रगत बिरामीलाई वितरण गरिएको थियो । उहाँका अनुसार देशका ७२ जिल्लाका १०५ केन्द्र मार्फत रगत वितरण हुँदै आएको छ ।

हरेक वर्ष चैत अन्तिमबाट असारसम्म रगतको अभाव हुने गरेको तर माग अनुसारको आपूर्ति हुन कठिन भएको सहमहामन्त्री न्यौपाने बताए । गर्मीको समयमा पनि रगत दिन हुन्छ भन्ने चेतनाको अभाव, विद्यालय र क्याम्पस बन्द हुने गरेकाले पनि रगत अभाव हुँदै आएको छ भने युवा जनशक्ति विदेश पलायन हुनु र यो मौसम खेतीपातीको मौसम भएकाले पनि रक्तदान कमी हुने गरेको हो ।

यहाँस्थित क्षेत्रीय रक्तसञ्चार केन्दका संयोजक समेत रहनुभएका न्यौपाने यसवर्ष निर्वाचनका कारण पनि रगतको अभाव भएको बताउछन् । अठार वर्षदेखि ६० वर्ष उमेरसम्मकाले रक्तदान गर्न सक्छन् । यो वर्गलाई रगतको महत्वको बारेमा बुझाउन नसकिएको देखिन्छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदास अधिकारी रक्तदान मानव स्वास्थ्यका लागि उपयोगी हुने बताउछन् ।

उनका अनुसार मानिसको रगतमा हुने राता रक्तकणको आयु १२० दिनको हुन्छ । त्यसपछि ती रक्तकण आफैं मरेर जाने हुँदा तीनदेखि छ महिनाको फरकमा रक्तदान गर्दा नयाँ रक्तकोषीका बनेर मानवस्वास्थ्य अझ राम्रो हुन्छ ।

एक व्यक्तिको शरीरमा खेर जाने रगतले अर्को व्यक्तिलाई बचाउन सकिने हुँदा रक्तदान गर्न उहाँले सुझाव दिए । रक्तदान गर्ने मानिसको वजन ४५ केजी भन्दामाथी र हेमोग्लोबिन १२ ग्राम अथवा सोभन्दा माथि हुनुपर्दछ । यतिमात्र होइन रक्तदान गर्ने मानिसमा मुटु, फोक्सो, कलेजो, राम्रो क्रियाशील अवस्थामा हुनुपर्ने डा अधिकारीले बताए ।

जन्डिस, मलेरिया, टाइफाइड, एड्स, छारेरोग, क्षयरोग, मधुमेह, क्यान्सर, दम, उच्च रक्तचाप, मिर्गौलाको रोग, हेपाटाइटिसजस्ता रोगीले रक्तदान गर्न नहुने अधिकारीको भनाइ छ । उल्लेखित रोग नभएका स्वस्थ पुरुषले प्रत्येक तीन महिनामा र महिलाले महिनावारी नभएको, बच्चा पेटमा नभएको र बच्चाले दूध खाने अवस्थामा बाहेक वर्षको दुई पटक रक्तदान गर्नसक्ने उनले बताए ।

हड्डीभित्रको बोनम्यारोले आवश्यक रगत विभिन्न प्रक्रिया पूरा गरेर बनाउने गर्दछ । भित्री अङ्ग र बाहिरी अङ्गबाट रगत निस्किएमा रगतको अभाव हुने गर्दछ भने क्यान्सरलगायतका रोगका कारण पनि धेरै मात्रामा रगत चाहिने हुन्छ । किटाणु र जीवाणुको सङ्क्रमणले पनि मानव शरीरमा रगत नष्ट हुने र खेर जाने हुन्छ ।

क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार एकै व्यक्तिलाई सात सय युनिटसम्म रगत दिनुपरेको थियो । क्यान्सरका बिरामीलाई लामो समयसम्म धेरै मात्रामा रगत दिनुपर्ने हुन्छ । यससँगसँगै थालेसिमिया, सुत्केरी महिला, शल्यक्रिया गर्नुपर्ने बिरामी लगायतलाई पनि धेरै रगत आवश्यक पर्ने उनी बताउँछन्।

राजधानी काठमाडौँ बाहिर सबैभन्दा बढी रगत माग हुने जिल्ला चितवन हो । यहाँको क्षेत्रीय रक्तसञ्चार केन्द्रले गतवर्ष ३५ हजार युनिट रगत वितरण गरेको पौडेलले बताउनुभयो । छिमेकी जिल्लाबाट यहाँ ठूलो सङ्ख्यामा बिरामी आउने गर्दछन् । कूल सङ्कलित रगतको ५० प्रतिशत क्यान्सरका बिरामीका लागि खपत हुनेगर्दछ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्तसञ्चार केन्द्रले युनिट नै खडा गरेर रगत वितरण गर्दै आएको छ । बर्सेनि रगतको माग बढ्दै गएकाले सरकारी तवरबाट जागरण ल्याउनुपर्ने क्षेत्रीय प्रमुख पौडेल बताउछन् । पाठ्यक्रममा नै रगत र रक्तदानको महत्वको बारेमा उल्लेख गर्नुपर्ने, सार्वजनिक सञ्चारमाध्यमबाट रक्तदानको महत्वको बारेमा प्रचारप्रसार गर्न सकेमा रगतको अभावलाई कम गर्न सकिने उनको भनाई छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments