चेलीले चम्काएको साग

शनिबार, मंसिर २१, २०७६



एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठले दशरथ रंगशालामा गत मंगलबार इतिहास रचिन्। उनी दक्षिण एसियाली खेलकुद (साग(को इतिहासमा एथलेटिक्सतर्फ स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला खेलाडी बनिन्। सागको १० हजार मिटर दौडमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडीको रेकर्ड पनि उनकै नाममा रह्यो।

ब्राजिलको रियो दि जेनेरियोमा तीन वर्षअघि विश्व खेलकुदको महाकुम्भ ‘ओलम्पिक’ आयोजना भएको थियो। त्यसमा गौरिका सिंहले नेपाललाई चर्चित बनाएकी थिइन्। त्यो ओलम्पिकमा भाग लिने विश्वकै कान्छी खेलाडी थिइन्, गौरिका। त्यति बेला गौरिकाको उमेर मात्र १३ वर्ष थियो। त्यसको तीन वर्षपछि जलपरी गौरिकाले देशको शिर उच्च पारेकी छन्। उनी सागमा पौडीको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन्।

गौरिका पनि नेपाली खेलकुदकी ऐतिहासिक खेलाडी बन्न पुगिन्। उनले यो सागमा दुई स्वर्ण जितेकी छन्। स्वर्ण जितेपछि गौरिकाले आफूलाई कहिलेकाहीं विदेशी भनेकोमा चित्त दुखाइन् । नेपाली सञ्जु चौधरीले पनि भारोत्तोलनमा स्वर्ण जित्दै इतिहास रचिन् । पोखरामा जारी भारोत्तोलनको महिला ५९ केजी तौल समूहमा बिहीबार उनले श्रीलंकाकी खेलाडीलाई पछि पार्दै स्वर्ण चुमेकी हुन्।

क्रिकेटर अञ्जली चन्दले त १३औं सागमा विश्व कीर्तिमानै बनाएर देशको गौरव बढाइन् । पोखरा क्रिकेट मैदानमा गत सोमबार भएको माल्दिभ्सविरुद्धको खेलमा उनले ‘अविश्वासिलो’ विश्व कीर्तिमान आफ्नो नाममा पारेकी हुन्। उनकै उत्कृष्ट प्रदर्शनका कारण उक्त खेलमा नेपाल १० विकेटले विजयी भएको थियो। अञ्जलीले दुई ओभर बलिङ गर्दै एक रन पनि नदिई ६ विकेट लिँदै विश्व कीर्तिमान बनाएकी हुन्।

१३औं सागमा चम्किएकी अर्की खेलाडी हुन्, सावित्रा भण्डारी। यही सागमा उनी देशका लागि अन्तर्राष्ट्रिय महिला फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमानी खेलाडी बनिन्। माल्दिभ्सविरुद्घको खेलमा ह्याट्रिक गर्दै उनले सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान आफ्नो नाममा पारेकी हुन्। अन्तर्राष्ट्रिय फुटबलमा सावित्राको गोल संख्या ३८ पुगेको छ।

महिला भलिबल टोलीले पनि सागमा ऐतिहासिक सफलता हात पा¥यो। यसअघि महिला टोली सागमा कांस्य पदकभन्दा माथि उक्लन सकेको थिएन। एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै उपाधिनजिक पुगेको नेपाली टोली फाइनलमा चिर प्रतिद्वन्द्वी भारतसँग ३–२ सेटमा पराजित भएको थियो।

जारी सागमा इतिहास रच्ने अर्की खेलाडी सोनी गुरुङ हुन्। उनी देशका लागि ट्रायथलनमा स्वर्ण जित्ने पहिलो नेपाली महिला खेलाडी बनिन्। उनले भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण पदक हात पारेकी हुन्।
सागको ‘पावर गेम’मा पनि महिला खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन्। तेक्वान्दोमा आयषा शाक्यले दुई स्वर्ण जितेर चर्चा बटुलिन्। यसअघि सन् २०१० मा बंगलादेशमा सम्पन्न ११औं सागमा उनले स्वर्ण हात पारेकी थिइन्। सागका कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टकी जीवनसंगी आयषा दुई सन्तानकी आमा हुन्।

निमा घर्ती मगरले उसुमा स्वर्ण पदक जितिन्। उनी लगातार दुई सागमा स्वर्ण पदक जित्ने पहिलो महिला उसु खेलाडी हुन्। उनले यसअघि सन् २०१६ मा भारतमा सम्पन्न १२औं सागमा स्वर्ण जितेकी थिइन्। लगनखेलस्थित आर्मीको कभर्डहलमा उनले फाइनल खेलिरहँदा उनका आमाबुवा प्यारापिटमा बसेर खेल हेरिरहेका थिए। देशका लागि स्वर्ण जित्नासाथ खुसीले चिच्याएकी निमाले दौडँदै गएर आमाबुवालाई अँगालो हालेकी थिइन्।

साइक्लिङमा निश्मा श्रेष्ठ र लक्ष्मी मगरले स्वर्ण पदक जिते। नेपाली महिला खेलाडीले सागको साइक्लिङमा स्वर्ण पदक जितेको यो पहिलो हो। नेपालमा सागको १३औं संस्करण जारी छ। घरेलु मैदानमा आयोजित सागमा शुक्रबारसम्म नेपालले स्वर्ण पदक संख्या ४१ पु¥याएको छ। सागको इतिहासमा नेपालले जितेको यो हालसम्मकै सर्वाधिक स्वर्ण पदक हो।

देशलाई ऐतिहासिक सफलता दिलाउन सबैभन्दा ठूलो भूमिका निर्वाह गरेका छन्, महिला खेलाडीले । माथिका केही प्रसंग त्यसकै उदाहरण हुन्। १३औं साग उत्तरार्धतिर लाग्दा नेपाली महिला खेलाडीको प्रदर्शन अब्बल देखिएको छ। पुरुषको तुलनामा महिला खेलाडीले ‘नसोचेको’ सफलता हात पारिरहेका छन्।

समाजमा आएको सकारात्मक परिवर्तनलाई यसको मुख्य कारक मान्छन्, खेलकुद विज्ञ दिवाकरलाल अमात्य। ‘१३औं सागमा महिला खेलाडीको अपत्यारिलो प्रदर्शनले धेरैलाई चकित बनाएको छ’, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीका विषयमा अनुसन्धान गर्दै आएका अमात्य भन्छन्, ‘कुनै एउटा खेलमा मात्र होइन, हाम्रा महिला खेलाडीले फरक–फरक खेलमा गरेको प्रदर्शन लोभलाग्दो देखिएको छ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments