यी हुन प्रमुखमा जित सुनिश्चित भएका एमालेका महिला उम्मेदवार

शुक्रबार, बैशाख २२, २०७४

- यशाेदा अधिकारी



काठमाडौ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बन्नुभएका महिला नगरप्रमुख र गाउँपालिका अध्यक्षले प्रचारप्रसारको कामलाई तीव्र पार्नुभएको छ ।

पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट १३ जना महिलालाई प्रमुखका रुपमा एमालले अघि सारेको छ । ती मध्ये चार नगरपालिकाकामा प्रमुख र नौ गाउँपालिकामा अध्यक्षका उम्मेदवार हुनुहुन्छ ।

चितवनको राप्ती नगरपालिकाकामा एमालले अघि सारेको नेतृ प्रभा बराल यतिखेर घरदैलोमा व्यस्त हुनुहुन्छ । लामो समय राजनीतिमा सक्रिय बराल रत्ननगरमा चर्चित नेतृका रुपमा चिनिनुहुन्छ । बरालले अत्यधिक बहुमतले विजयी हुनेमा चितवन एमाले ढुक्क छ ।

त्यसैगरी तनहुँको भानु नगरपालिकामा भगवती न्यौपाने, नवलपुरको कावासोती नगरपालिकामा चन्द्रा पुन, स्याङ्जाको पुतलीबजार नगरपालिकाको प्रमुखमा सीमा क्षेत्री उम्मेदवार हुनुहुन्छ ।
तीनवटै नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिनुभएका महिला नेतृहरु ती क्षेत्रका चर्चित नेता हुनुहुन्छ । पछिल्लो समयमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको भन्दै महिलाले सजिलै विजय हासिल गर्ने विश्वास नेकपा एमाले रसुवा जिल्ला अध्यक्ष कर्णेल तामाङले व्यक्त गर्नुभयो ।

“अहिले देशभरि नै महिलाको माहोल छ । राष्ट्रपति महिला हुनुहुन्छ । अरु ठूला पदमा पनि महिला हुुनुहुन्छ । त्यसकारण पनि मतदाताले महिला उम्मेदवारलाई सहजै स्वीकार्छन् ।”
त्यसैगरी एमालेले नौवटा गाउँपालिका अध्यक्षमा महिलालाई उम्मेदवार बनाएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको अध्यक्षमा सिर्जना तामाङ, नुवाकोट सूर्यगढी गाउँपालिकामा विन्दा ढुंगाना, रसुवाको कालिका गाउँपालिकामा सीता अधिकारी, बाग्लुङको तमानखोला गाउँपालिकामा दिलकुमारी सन्त्याल र म्याग्दीको धौलागिरी गाउँपालिकामा थमसरा पुन उम्मेदवार हुनुहुन्छ ।

त्यसैगरी गोरखाको चुम्नुव्री गाउँपालिका अध्यक्षमा सूर्यकुमारी गुरुङ, रुकुमको भुमे गाउँपालिकामा आशा स्वर्णकार, कालीकोटको महावै गाउँपालिकामा दानकाल सिंह र सल्यानको दार्मा गाउँपालिकाको अध्यक्षमा भिमलादेवी चन्दले उम्मेदवारी दिनुभएको छ ।

उहाँहरु सवै आ– आफ्नो ठाउँमा लोकप्रिय रहेको नेकपा एमालेले जनाएको छ । नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य जित्ने ठाउँमा मात्रै महिलालाई प्रमुख पदमा उम्मेदवार बनाएको बताउनुहुन्छ । प्रदेश नम्वर–३ को इन्चार्ज समेत रहनुभएकी नेतृ शाक्यले भन्नुभयोर्, मनोनयन भन्दा जित्नु ठूलो कुरा हो । पार्टीले सक्षम महिलालाई उम्मेदवार बनाएको छ । उहाँहरु सबैले चुनाव जित्ने निश्चित छ ।”

कालीकोटको महावै गाउँपालिका अध्यक्षमा उम्मेदवार बन्नुभएकी दानकाल सिंह विगत १५ वर्षदेखि निरन्तर जिल्लाको राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँ जिल्लाकै लोकप्रिय महिला नेतृ हुनुहुन्छ ।
नेकपा एमाले कालीकोट जिल्ला कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ जिल्ला उपाध्यक्ष समेत रहनुभएकी दानकला जिल्लामा विभिन्न सामाजिक संघसंस्थामा समेत सक्रिय हुनुहुन्छ ।

लामो समय पार्टीमा अविचलित रुपमा सक्रिय दानकलालाई गाउँका अधिकांश मतदाताले लोकप्रिय नेतृका रुपमा लिने गर्छन् । नेकपा एमाले कालीकोट जिल्ला अध्यक्ष नगिन्द्र शाहीका अनुसार दानकलाले अत्यधिक मत ल्याएर महावै गाउँपालिकाको अध्यक्ष निर्वाचित हुने निश्चित छ ।

त्यस्तै सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको अध्यक्षमा मनोनयन दर्ता गराउनुभएकी सिर्जना तामाङ पनि जिल्लामा सक्रिय र लोकप्रिय नेतृ हुनुहुन्छ । गाउँमा राजनीतिक रुपमा आम नागरिकको समस्यामा सँगै रहँदै आउनुभएकी सिर्जना पनि अरु पार्टीका पुरुष उम्मेदवारको तुलनामा बलियो उम्मेदवार हुनुहुन्छ । एमालेले उपप्रमुखमा समेत सक्षम र लामो राजनीतिक अनुभव भएका महिलालाई टिकट दिएको जनाएको छ ।

महानगरपालीकामा चुनावी तालमेल गर्दा प्रमुख,उपप्रमुखमा महिला उम्मेदवार नभए पनि नगरपालिका तथा गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा सक्षम र सक्रिय महिलालाई प्राथमिकताका साथ उम्मेदवारका रुपमा अघि सारेको एमाले केन्द्रीय सदस्य एवं काठमाडौं जिल्ला इन्चार्ज सावित्रा भुसालले जानकारी दिनुभयो । “महानगरमा महिलालाई अवसर दिइएन भनेर एमाले विरुद्ध गलत प्रचार भइरहेको छ । उपत्यकाका अन्य सबै नगरपालिकामा उप प्रमुखमा महिलालाई उम्मेदवार वनाइएको पनि हेर्नुपर्यो नि । त्यहाँ जित्ने क्षमता भएका महिलाले उम्मेदवारी पाउनुभएको छ । त्यसको पनि चर्चा गरियोस् ।” भुसालले भन्नुभयोे ।

4926 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank