विषले थलिएको सरकार !

नेपालपाटी टिप्पणी

बुधबार, असार २५, २०७६

- राजेन्द्र भट्ट



काठमाडौंमा निर्धक्क पानी पिउन सकिँदैन । निर्धक्क सास फेर्न सकिँदैन । सुविस्ताले हिँडडुल गर्न सकिदैन । अब त भान्छामा पनि विष आइपुग्यो । ढुक्कसाथ खानेकुरा खान सकिँदैन । किन ? किनभने यहाँ सरकार छ । फोहोर, दुर्गन्ध, अव्यवस्थित घरैघर,पोल-पोलमा झुण्डिएको गुजुल्टो सहितका तार, ढल बन्न आतुर सडकमै पसारिएका पाइपहरुको साथमा मति बिग्रिएको सरकारी कार्यालय र सरकारवालाहरुको हालीमुहाली विचित्रको प्रतिस्पर्धामा उत्रेको छ  ।

दुई तिहाइको सरकार दुइ तिहाइकै ढंगले बिग्रन हतारिंदै छ । फलस्वरूप राज्यले नकारात्मकतामा प्रतिस्पर्धा गर्दैछ । जसको संरक्षक सिंहदरबार बन्दैछ । के किसान, के मजदुर, के सर्वसाधारण ! सिंहदरबारले उनीहरुलाई केवल दुई वटा कामको लागि मात्र सम्झन्छ । पहिलो- विदेशीसँग ऋण लिन । दोस्रो- निर्वाचनमा मत प्राप्त गर्न । त्यसको पुष्टि भर्खरै सिंहदरबारले गरिदिएको छ ।

सरकार राम्रो काम पनि नराम्रो तरिकाले गर्न रुचाउँछ भन्ने पछिल्लो उदाहरण छिमेकी मुलुक भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी जाँच गर्ने निर्णय स्थगनलाई लिन सकिन्छ। इसाई समिटको सह-आयोजक बनेर रन्थनिएको सरकार गुठि विधेयकबाट सम्हालिन गरेको विषादी परिक्षणको निर्णयबाट पछी हटेसँगै गुड बिर्सेको चरा जस्तो हुन् पुगेको छ । नाकाबन्दीको समयमा राष्ट्रवादी छवी बनाएका प्रधानमन्त्री विषादी परिक्षण काण्डपछी ‘राष्ट्रवाद के हो ?’ भन्ने अवस्थामा पुगेका छन् ।

वाणिज्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले विदेशबाट आयात हुने तरकारी तथा फलफूलमा अनिवार्यरुपमा विषादी परीक्षणको निर्णय गरेको थियो । निर्णय अनुसार असार २ गते राजपत्रमा सूचना प्रकाशित भएसँगै कृषि तथा पशुपन्छी मन्त्रालयले आयातीत तरकारी र फलफूल भन्सारमा आइपुगेपछि विषादी परीक्षण गर्न शुरु गर्यो । तर भन्सारमा विषादी परिक्षण गर्ने प्रविधि नै नभएपछि भारतीय बजारबाट नेपाल आएका तरकारी भन्सारमा नै रोकिए ।

पर्याप्त परीक्षण प्रयोगशाला नहुँदा तरकारी र फलफूल बोकेका सवारी साधन भन्सार विन्दुबाट प्रवेश गर्न पाएनन् । तरकारी र फलफूल सड्न थाले । तयारी नपुगेको कारण विषादी परीक्षणको निर्णय तत्कालका लागि कार्यान्वयन गर्न नसकेपछि सरकारले तत्कालका लागि निर्णय स्थगित गर्यो  भनीए पनि सर्वसाधारणको नजरमा सिंहदरबार भारतीय दुतावासको ‘पत्र एम्बुस’ मा परेको मानिदै छ ।

नागरिक जीवनप्रति गम्भीर संवेदनशीलता राखेको भ्रम सम्प्रेषण गर्ने तर नागरिकको स्वास्थ र समग्र जीवनप्रति गम्भीर खेलवाड गर्ने निर्णयमा किञ्चित नहच्कीएको वर्तमान सरकार जनतालाई विष खान बाध्य पार्दै विषबाटै थलिएको छ ।

एक अध्ययन अनुसार हामीले खाने खानाबाट (८ प्रतिशत) र पिउने पानीबाट (२ प्रतिशत) गरी मानिसको शरीरमा खपत हुनेमध्ये मात्र १० प्रतिशत इनर्जी खानपानबाट पूर्ति हुन्छ । बाँकी ९० प्रतिशत इनर्जी अक्सिजनबाट आउने गर्छ। माक्स ल्याउनुस, नत्र सास नफेर्नुस भनिरहेको यस सरकार अब भान्छामा विष पुर्याएर खानपान बन्द गर्नुस, तरकारी नखानुस भनिरहेको छ ।

एकातिर आधुनिकरणसँग मानव जीवन नै खतरामा परिरहेको छ । सम्पूर्ण विश्व नै जलवायु परिवर्तन, उच्च तापमान वृद्धि, वायु प्रदुषण, रसायन उत्पादनमा वृद्धि लगायतका खतराको सामना गरिरहेको छ । तर सचेत राष्ट्रहरु यस समस्याको समाधान सँगसँगै जलवायु अनुकूलको खेती, खाद्य प्रणाली र जीवन पद्धति पनि विचार गरिरहेका छन् । तर यो सरकार खानामा विषादीलाई अनुमोदन गरेर आफ्नो राष्ट्रवादी छवीलाई बिदाई गर्दैछ ।

उर्वर माटो, विविधतायुक्त पहाडी भूगोल र हावापानी, पर्याप्त किसानी जनशक्ति र खेतीपातीको अतुलनीय अनुभव भएको मुलुकमा छिमेकी विष पठाउँछ, सरकार चुपचाप स्वीकार्छ ।  र, आफ्नो जनतालाई सोहि विष खुवाउन बाध्य बनाउँछ । जनताको बौद्दिक स्वस्थता माथि लगातार हावी हुँदै आइरहेको सरकारको विवेक र बौद्धिकता गुमेको पछिल्लो घटनाबाट प्रस्टिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राजधानीसहित प्रादेशिक संरचनाअनुसार कर्णालीवाहेक ८ स्थानमा ‘विषादी अवशेष द्रुत विश्लेषण एकाई’ सञ्चालनमा ल्याएको छ। त्यसवाहेक खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग अन्तर्राष्ट्रिय मापदण्ड र मान्यता प्राप्त केन्द्रिय प्रयोगशाला पनि छ ।

खाद्य विभागको बाहेक सञ्चालनमा रहेका ८ प्रयोगशालामा भएका फोटोस्पेक्टोमिटरको सहयोगमा तरकारी तथा फलफूल ‘खान लायक छ वा छैंन’, ‘केही दिन पर्खेर खान सकिने’ वा ‘नष्ट नै गर्नुपर्ने’ ५ मिनेटमै पत्ता लगाउन सकिन्छ। सरकारसँग प्राप्त परिक्षणशालाहरुको अधिकतम उपयोग गर्नुको सट्टा सरकारी निकायहरु दक्षिणको दवाबमा विष भरिएको शब्दहरु खर्च गर्न व्यस्त छ ।

‘एक कदम अगाडी बढेर बहादुरीका साथ्दु ई कदम पछाडी हट्ने’ वर्तमान सरकारको कदमहरुले सरकार रक्षात्मक अवस्थामा पुगेको छ । मुलुकमा अनेक खाले विषादीको भयावह अवस्थाबाट लोकतन्त्रलाई जोगाउनुको सट्टा सरकार आफैंद्वारा आफ्नोलागी आफैंले विषको प्रयोग बढाएको कारण  नराम्रोसँग थलिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank