विषादीयुक्त सागसब्जी र फलफूलः धमाधम भित्रिन थाले

बुधबार, असार २५, २०७६



तरकारी र फलफूल बोकेका भारतीय ट्रक विषादी परीक्षण नगरी नेपाल भित्रन थालेका छन्।

प्रदेश १ का तीन नाका (झापाको काँकडभिट्टा, मोरङको विराटनगर र सुनसरीको भन्टाबारी) बाट सयौंको संख्यामा तरकारी र फलफूल बोकेका ट्रक नेपाल छिरेका हुन्।

काँकडभिट्टा नाकाबाट मंगलबारसम्ममा ९० को संख्यामा यस्ता ट्रक भित्रिएका छन् भने विराटनगर र भन्टाबारी नाकाबाट पनि उत्तिकै संख्यामा तरकारी र फलफूल बोकेका ट्रक नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएका छन्।

सरकारबाट विषादी मापन रोकेको पत्र भन्सारमा सोमबार बिहान आइपुगेकाले तरकारी र फलफूल बिना परीक्षण भित्रिन थालेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्यालले बताए।

प्रदेश १ मा तरकारी र फलफूल सबैभन्दा बढी भित्रिने झापाको काँकडभिट्टा नाका हो। यस्तै विराटनगर भन्सारबाट पनि सोमबारदेखि पूर्ववत् रुपमा तरकारी र फलफूल बोकेका भारतीय गाडी नेपाल भित्रिएका छन्।

काँकडभिट्टा नाकाबाट भित्रिएका फलफूल र तरकारी बिर्तामोडस्थित कृषि थोकबजार हुँदै देशका विभिन्न सहरमा पुर्‍याइन्छन् भने विराटनगर भन्सारबाट भित्रिएको विराटनगरस्थित गुद्री बजारसहित विभिन्न स्थानमा पैठारी हुन्छ।

संघीय सरकारले असार २ मा नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने गरी ‘निकासी पैठारी सम्बन्धी आदेश’ राजपत्रमा प्रकाशित ग‍रेको थियो।

असार १० गतेदेखि प्रदेश १ का सीमा नाकाबाट आयात हुने तरकारी र फलफूलको विषादीको मात्रा परीक्षण शुरु भएको थियो। लगत्तै विराटनगर र काँकडभिट्टास्थित मेची भन्सारमा तरकारी तथा फलफूल बोकेका ट्रकको लाइन लाग्न शुरु भएको थियो।

प्रयोगशाला नाम मात्रैको

प्रदेश १ को राजधानी विराटनगरमा सोमबारदेखि प्रदेश सरकारले विषादी मापन प्रयोगशाला शुरु गर्यो।

जोगबनी नाका नजिकै प्रयोगशाला खुल्दा सबैलाई लागेको थियो ‘संघीय सरकार पछि हटे पनि प्रदेश सरकारले अब विराटनगर भन्सारबाट आउने तरकारी र फलफूल परीक्षण गर्छ।’ तर, सो प्रयोगशालाले नेपाल भित्रिएर बजारमा बिक्री भइरहेका तरकारी र फलफूलको मात्रै नमुना संकलन गरी परीक्षण गर्ने भएको छ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank