विसंगत !

बिहिबार, असार १९, २०७६



विसंगत !

क्रमश:
क्रमश: एक हुल मान्छेहरू आएर
हेर्दै गए पालैपालो
प्रदर्शनीमा राखिएका पोट्रेटहरूलाई

र फर्किदै गए उसैगरी
क्रमश:
चुपचाप , चुपचाप

जब बाहिर निस्कने ढोकाको
छेउनेर टाँसिएको
अन्तिम आकृति देखे उनीहरूले
रेखा-रेखा केलाएर
रङ्ग-रङ्ग नियालेर
हेर्न थाले-अपलक , आश्चर्यचकित भएर

लौ ! यो कस्तो
अनौठो आकृति मान्छेको ?
आँखाको ठाँउमा पोतिएको कालो
मुटुको ठाँउमा ढुंगा
ओठको ठाँउमा उराठ बगर
अनि नाकचाहिँ पाइतालामा
र हत्केलामा धारिला नङ्ग्राहरू

सबैले
बुझेजस्तै गरेर भने
“अमूर्त रहेछ यो , अमूर्त !”

तर कसैले बुझेनन्
खाली एउटा ऐना थियो टाँगिएको त्यहाँ
र आ-आफ्नै
प्रतिविम्ब हेरिरहेथे मान्छेहरू !

रमेश क्षितिज (अर्को साँझ पर्खेर साँझमा-२०६७)

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata