हात्तीको बथानले आक्रमण गर्दा दुई जनाको मृत्यु

बुधबार, मंसिर २५, २०७६



कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमणबाट दुई व्यक्ति ज्यान गएको छ भने थप ४ घाइते भएका छन् ।  आक्रमणबाट महाकाली नगरपालिका–२ की ३८ वर्षीया वसन्ती भट्ट र ४० वर्षीया भुलीदेवी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

हात्तीको आक्रमणबाट सुनिता विष्ट, सरिता ओझा, ललिता बोहरा र उमा साउँद घाइते भएका  प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । घाइते मध्ये विष्ट र ओझा गम्भीर रहेको छन् । घाइतेहरूको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक आचार्यले बताए।

बिहान साढे ६ बजेतिर महाकाली नगरपालिका–२ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका उनीहरूलाई जंगली हात्तीको बथानले आक्रमण गरेको थियो ।

आक्रमणबाट घाइते भएकाहरू चिच्याएपछि स्थानीय र प्रहरीले हात्तीलाई लखेटेका थिए । उक्त जंगल क्षेत्रमा हात्ती धपाउन सुरक्षाकर्मी परिचालन गरिएको छ । हरेक वर्ष यस क्षेत्रमा जगंली हात्तीले आतंक मच्चाउने गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments