एक पवित्र कथा : साउनमा शिवको पुजा यसकारण गरिन्छ !

शुक्रबार, साउन ३, २०७६



प्राचिन समयमा एक धनी व्यक्ति थियो । जोसँग सबै प्रकारका धन-दौलत, गर-गहना थियो ।  दुर्भाग्य उसको कुनै सन्तान थिएन । जसको कारण धनी व्यक्ति हरक्षण चिन्तित रहन्थ्यो ।

यद्दपी ऊ र उसकी पत्नी शिवभक्त थिए । सन्तान प्राप्तिको आशमा पतिपत्नी भगवान शिवको स्तुतिगान गर्दै आराधना गर्न थाले ।  दुवैले हरेक सोमबार शिव भगवानको व्रत राख्न शुरु गरे ।

उनीहरुको साँचो भक्ति देखेर माता पार्वतीले भगवान शिव समक्ष बिन्ति चढाइन, “पतिदेव ! यस दम्पतिको मनोकामना पुरा गरिदिनुहोस ।”

माता पार्वतीको वचनलाई शिरोधार्य गर्दै भगवान शिवले  उनीहरुको इच्छा पुरा गरिदिए । धनि दम्पतिको घरमा पुत्रको  आगमन हुनासाथ एक  आकाशवाणी भयो, “ बालक अत्यन्त छोटो आयूको छ । १२ वर्षको हुनासाथ् उसको मृत्यु  हुनेछ ।”
अत्यन्त  खुसिको समयमा प्राप्त आकाशवाणीले  दम्पतीलाई  अत्यन्त दुखीत बनायो ।

न्वारनको दिन उनीहरुले पण्डितलाई बोलाए । सम्पूर्ण पूजाविधि सकेर पुत्रको नाम ‘अमर’ राखेँ ।

समयसँगै  अमर ठुलो हुँदै गयो । दम्पतिमा निराशा थपिदै गयो । धनी दम्पतिले निकै सोचविचार गरेरछोरालाई शिक्षादीक्षाको लागि काशी पठाउने निधो गरे । पिताको आज्ञा पालन गर्दै बालक अमर मामाको साथ काशीतर्फ लागे ।

बाटोमा जहाँ जहाँ उनीहरुले विश्राम गरे- त्यहाँ त्यहाँ अमरले ब्राम्हणहरुलाई  दान-दक्षिणा दिए । जाँदाजाँदै उनीहरु एक नगरमा पुगेँ । जहाँ एक सुन्दर राजकुमारीको विवाह समारोह चलिरहेको थियो ।

उक्त राजकुमारीको दुलाहाको एउटा आँखा थिएन । यो कुरा दुलाहाको परिवारले राजपरिवारलाई बताएका थिएनन् । उनीहरुलाई यस कुराको चिन्ता थियो – ‘आफ्नो छोरा कानो रहेको राजाले थाहा पाए भने छोरी नदिन सक्छन् । बिहे रोकिन सक्छ ।’

दुलाहाको परिवारलाई यसै चिन्ताले पिरोलीरहेको थियो । आफू नजिकै एक व्यक्ति उभिएर निकै चासोपूर्वक उनीहरुलाई नियालीरहेको देखे । सो व्यक्ति अरु कोहि नभएर अमर नै थियो । अत: उनीहरुले नजिकै उभिएको अमरलाई नक्कली दुलाहा बनिदिन आग्रह गरे । अमरले सो आग्रहलाई तोड्न सकेनन् ।

संयोगव  राजकुमारीसँग अमरको विवाह हुनपुग्यो । तर अमर राजकुमारीलाई सबै कुरा साँचो बताउन चाहन्थे । निकै समयसम्म अमर राजकुमारीलाई यस कुरा कसरी बताउने भनेर छटपटी रहे । अन्तमा राजकुमारीले ओढीरहेको पच्छौरामा अमरले सबै घटनाक्रम खुलस्त लेखिदिए ।

राजकुमारीले जब अमरले लेखेर छोडेको सन्देश पढिन तब उनले अमरलाई आफ्नो पति अस्विकार गर्न नसक्ने बताइन् । उनले अमरलाई काशीबाट फर्किउन्जेलसम्म पर्खीरहने वाचा गरिन । उनको कुराको वेवास्ता गर्दै अमर र उसको मामा काशीतर्फ प्रस्थान गरे ।

समयले डुङ्गा खियाउँदै गयो । दिन बित्यो । महिना बित्यो । वर्ष पनि विस्तारै बित्न थाल्यो । यता राजकुमारी अमरको पर्खाइमा बसीरहिन । उता अमर धार्मिक कार्यहरुमा  तनमनको साथ लागिरह्यो ।

दिन बितीरहे ।  एकदिन अमर शिव मन्दिरमा भगवान शिवलाई बेलपत्र चढाईरहेका थिए । त्यसै समय यमराज र उनको जम्काभेट भयो। दुर्भाग्य वश अमर १२ वर्षमा पाइला टेकेका रहेछन् । सम्पूर्ण कुराहरु बिर्सेर भगवान शिवलाई सम्झिरहेको समयमा अमरले प्राणपखेरु हर्न आइपुगेको यमराजलाई देखेनन् । उनी भगवान शिवको भक्तिभावमा  डुबीरहे ।

अमरको गतिविधि देखेर  यमराज निकै रिसाए । अमरको प्राण लिन तयार भए । तर उनले अमरको प्राण लिन सकेनन् । किन ? किनभने अमरको भक्तिभाव देखेर प्रसन्न भएका भगवान शिवले यमराज आइपुग्नु भन्दा पहिल्यै नै अमरलाई दिर्घायुको वरदान दिएका थिए । फलत: यमराज रित्तो हात आफ्नो लोक फर्किए ।

केहि समयपश्चात अमर काशीबाट शिक्षा पाएर घर फर्किए । राजकुमारी उसलाई पर्खीरहेकी थिइन् । राजकुमारीलाई लिएर अमर खुसिसाथ आफ्नो घर फर्किए ।

उक्त पौराणिक कथा हिन्दु सम्प्रदायमा दिनप्रतिदिन प्रभाव पार्न सफल हुँदा श्रावण महिनामा भगवान शिवको पुजा आराधना गर्न मानिसहरु लालाहित बन्न थाले । मानिसहरुको शिवप्रतिको लगाव बढ्नुमा आफ्नो मनोकामना पुरा हुने र  दिर्घायू समेत प्राप्त गर्न सकिने जनविश्वाससँगै श्रावण महिना भगवान शिवको नाममा बिताउने प्रचलन व्याप्त हुन् पुगेको जनविश्वास रहेको पाइन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata