उर्जाले आज अर्को श्वेतपत्र सार्वजनिक गर्दै

मङ्लबार, बैशाख २५, २०७५



काठमाडौं । सरकारका मन्त्रीहरुले समस्याको पहिचान र समाधान गर्ने नयाँ बाटोसहितको श्वेत पत्र ल्याउन थालेका छन् । केही मन्त्रीहरुले योजनाका रुपमा त्यसलाई अघि सारेका छन् । आज उर्जा मन्त्रालयले ऊर्जा तथा जलस्रोत विकासका समस्या पहिचान गर्दै श्वेत पत्र ल्याउने भएको छ । यसअघि मुलुकको विद्यमान आर्थिक अवस्थाको बारेमा जानकारी दिन भन्दै सरकारका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले श्वेत पत्र सार्वजनिक गरेका थिए ।

ऊर्जा तथा जलस्रोत विकासका विविध पक्षहरु समेटेर नयाँ श्वेत पत्र जारी गर्न यतिबेला उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले दिउँसो श्वेत पत्र सार्वजनिक गर्नेछ । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले लामो छलफल पछि श्वेत पत्र तयार गरेका छन् । मन्त्री पुनले मन्त्रालयका सचिव र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्वेत पत्र तयार गर्ने जिम्मा दिएका थिए ।

अघिल्लो सरकारले ल्याएका योजना तथा कार्यक्रमको कार्यान्वयनको समस्या तिनको समाधानका विषयमा पनि श्वेतपत्रमा समेटिने छ । विद्युत आपूर्तिमा सुधार, चुहावट नियन्त्रण, विद्युतीकरण, ठूला जलाशय आयोजनाको पहिचान तथा निर्माणलगायत विषय श्वेतपत्रमा उल्लेख हुने छ । आगामी एक वर्षभित्र थप एक हजार मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा जोड्ने बिषय श्वेतपत्रमा उल्लेख हुने छन्। अहिलेको उपभोग क्षमताले एकै पटक थप विद्युतको खपत गर्न नसक्ने हुँदा खपत बढाउनका लागि आवश्यक रणनीति पनि श्वेतपत्रमा उल्लेख हुने मन्त्रालय स्रोतको दावी छ।

श्वेतपत्र विशेष गरि १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादनमै केन्द्रित छ।  ठूला जलविद्युत आयोजनाको लागि लगानी व्यवस्थापन गर्ने कुरा पनि श्वेतपत्रमा उल्लेखछ। अरुण तेस्रो, माथिल्लो कर्णाली, पश्चिम सेती, पञ्चेश्वर लगायतका ठूला जलविद्युत आयोजनाको अवस्था र आगामी बाटोका बारेमा श्वेतपत्रमा कुरा आउनेछ । यसअघि ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले २०७४ साउन ३२ गते कार्यादेशसहितको श्वेतपत्र जारी गरेका थिए ।
113 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank