वाञ्छित

मङ्लबार, भदौ १७, २०७६

- लता कार्की



वाञ्छित

पोखिँदै /घोप्टिँदै/बग्दै
पानीका रेखाहरूमाथि लेखिदिए एउटा जीवन
जो बग्दै-बग्दै गएको छ
डुङ्गा जसरी किनारमा ठोकिन ।

म पाेखिनँ चाहन्थेँ
सुख्खा माटाेमा एक गिलास पानी बनेर
तर पाेखिएछु कसैकाे हत्केलाबाट ढुङ्गामाथि
मैले पोखिनु पर्ने कतै ठाउँ नभेटेपछि
अचेल नदीजस्तै बेगमा आफूलाई
चुपचाप निरन्तर बगाई रहेछु एकनासले ।

पोख्नु भनेको त –
आँखाको गहिरो समुन्द्रबाट चुहिनु मात्र हो घोप्टिनु भनेको त –
आधा गाग्रो पानी छछल्किएर
आँगनभरि ओसिनु मात्र हो
तर बग्नु भनेको त बाँधहरू भत्काउनु हो
किनारहरू ताछ्दै ताछ्दै
आफ्नै बेगमा एउटा सिङ्गो सागर भेटनु हो ।

कसरी आफैँ सल्किएछु
आफ्नै हत्केलाबाट एक खिल्लि चुरोट भएर
जो धुवाँ बनेर उडिरहेछ
अन्नत आकाशको छातीमा ।

म रोकिन्न चाहान्नथेँ
यात्रामा गाडीको असन्तुलन ब्रेक बनेर
म उभिन्न चाहान्नथेँ
स्थिर/तटस्थ एउटा रूख भएर
र त मिर्मिरे बिहानकाे मलिन उज्यालाे भएर
निस्कि आएकाे हुँ याे सुदुर बस्तीमा
जहाँ थुप्रै अनुहारहरूमा मेराे कथा भेटिन्छन् ।

न सोध्नु कि नदीलाई
तिमी बग्दै-बग्दै कहाँ सम्म पुग्छौ ?
एउटा यात्रामा निस्किएको फकिरलाई
नभन्नु  गन्तव्य कहाँसम्मकाे हाे ?
लक्ष्यमा केके छन् ? साेध्दै नसाेध्नू
म त आफैँ नदीको एक पाइला हुँ
जसकाे आँखामा छलकपट हुँदैन – जीवन हुन्छ
जसमा अहंकार हुँदैन – सपना हुन्छ

अचेल कति गम्भीर भएर नियाली रहन्छ
किनारमा उभिएर एक थुङ्गा फूल
जसकाे अनुहार –
ठ्याक्कै मेराे आदिवासी बस्तीजस्ताे छ ।

****

इटहरी

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata