फोहरबाट मोहोर कमाउँदै वालिङ नगरपालिका

आइतवार, बैशाख २, २०७५



स्याङ्जा । देशका विभिन्न शहरमा फोहरमैला व्यवस्थापनमा समस्या भइरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाले भने फोहरमैला बिक्रीबाट आम्दानी लिँदै आएको छ ।

उक्त नगरपालिकाले संकलन गर्न थालेकोे चार वर्षको अवधिमा रु १७ लाख ३५ हजार २१८ फोहरमैला बिक्रीबाट आम्दानी गरेको हो ।

आर्थिक वर्ष २०७१÷७२ मा रु एक लाख ७९ हजार, २०७२÷७३ मा रु तीन लाख ४९ हजार ९९०, आव २०७३/७४ मा रु सात लाख २४ हजार ८१५ र चालू आवको हालसम्म रु चार लाख ८१ हजार ४१३ फोहरमैला बिक्रीबाट आम्दानी गरेको दिदीबहिनी एवं समाज उत्थान गैरसरकारी संस्थाका अध्यक्ष यामप्रसाद भण्डारी (कृष्ण)ले बताए ।

उक्त नगरपालिका र स्थानीय दिदीबहिनी एवं समाज उत्थान गैरसरकारी संस्थाबीच फोहरमैला व्यवस्थापनको चारखम्बे अवधारणाअनुसार २०७१ असोजमा सम्झौता भई फोहर संकलन गर्न थालिएको थियो ।

‘हामीले दैनिक बजारबाट कुहिने, नकुहिने र शिशाजन्य वस्तु वर्गीकरण गरेर संकलन गर्ने गरेका छौँ’ भण्डारीले भने ‘संकलित वस्तुलाई सरसफाइ केन्द्रमा लगेर कुहिनेलाई कम्पोष्ट मल बनाउने र नकुहिने वस्तुलाई पुनः सूक्ष्म वर्गीकरण गरी बिक्री वितरण गर्नु नै हाम्रो सवल पक्ष हो ।’

फोहरमैला बिक्रीबाट पाँचजनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने सरसफाइ केन्द्रको खर्च व्यवस्थापन, कर्मचारीलाई मास्क, पञ्जा, एप्रोन, स्वास्थ्योपचार, सरसफाइ केन्द्रमा कार्यरत पाँच कर्मचारीको स्वास्थ्य बीमा तथा रु पाँच लाख बराबरको दुर्घटना बीमामा खर्च गर्ने गरिएको छ ।

‘नमूनाका रुपमा रहेको हाम्रो फोहरमैला संकलन केन्द्र अवलोकनका लागि देशका विभिन्न जिल्लाबाट प्रतिनिधि आउने गर्नुहुन्छ ।ड नगरप्रमुख दिलीपप्रताप खाँणले भने ‘यहाँ आएर अवलोकन गरेर फर्केपछि आ–आफ्नो ठाउँमा यही नमूना बमोजिम फोहर संकलन गर्न थालेको जानकारी प्राप्त भएको छ जसले गर्दा पनि हामीलाई यस कार्यमा थप ऊर्जा मिलेको छ ।’

संघीय सरकारको ‘फोहरमैला व्यवस्थापन ऐन, २०६८’ अन्तर्गत रहेर उक्त नगरपालिकाले ‘फोहरमैला व्यवस्थापन तथा सरसफाइ कार्यविधि, २०७५’ निर्माण गर्न लागेको जनाइएको छ ।

‘फोहरमैलाको क्षेत्रमा गरेको उदाहरणीय कार्यको प्रशंसा गर्दै हाम्रो नगरपालिका उत्कृष्ट घोषित हुँदै आएको छ’ खाँणले भने ‘अहिलेको सरसफाइ प्रणालीलाई अझै व्यवस्थित र प्रभावकारी रुपमा टोल टोलमा सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरी अगाडि बढ्ने छौँ ।’

उक्त नगरपालिकाको सरसफाइ केन्द्रमा विभिन्न संरचना निर्माणका लागि सम्बद्ध मन्त्रालयअन्तर्गतको फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले फोहरमैला संकलन केन्द्रसम्म पुग्नका लागि झण्डै २.५ किमी ट्र्याक तथा स्टोर निर्माणका साथै ३३ रोपनी जग्गामा तारबार गरी करीब ५०० विभिन्न जातका फलफूलका बिरुवा रोपिएको छ । फोहरमैला व्यवस्थापनबाट शहरको सौन्दर्य बढेको र स्वास्थ्य तथा वातावरणलगायतका क्षेत्रमा प्रत्यक्ष लाभ हुनाका साथै पर्यटकीय हिसाबले पनि कार्यक्रमले राम्रो प्रभाव पारेको छ ।

दिनहुँ नगरका विभिन्न भागमा कुहिने र नकुहिने गरी छुट्टाछुट्टै दुई वटा टिपर फोहर संकलनका लागि जाने गरेका छन् भने प्रत्येक दुई महिनामा शिशा संकलन गर्ने गरिएको छ ।

सरकारी तवरबाट र सरोकारवालाले नियमन कार्यलाई प्रभावकारी बनाउने, काम गर्ने संस्था र संलग्न व्यक्तिलाई प्रोत्साहन गर्ने, जनस्तरमा फोहरको वर्गीकरण तथा व्यवस्थापनमा क्षमता अभिवृद्धि गरेमा यस नगरपालिका फोहरमैला व्यवस्थापनमा उत्कृष्ट बन्ने स्थानीय बासिन्दाको मत छ ।

हालसम्म विभिन्न नगरपालिका, विद्यालय, अन्य सरकारी तथा गैरसरकारी निकायबाट ३२० भन्दा बढी समूहले उक्त नगरपालिकाले गर्दै आएको फोेहरमैला व्यवस्थापनबारे अवलोकन गरिसकेका छन् ।

‘वालिङ नगरपालिकाले त्यति ठूलो बजारको फोहरलाई पनि गाई गोठको फोहरमैला व्यवस्थापन गरे जसरी सजिलो तरिकाले व्यवस्थापन गरी आर्थिक लाभ गरेको देखियो’, बेनी नगरपालिकाका कार्यकारी अधिकृत तेजराज शर्माले भने ‘हाम्रो क्षेत्रमा फोहर संकलन केन्द्र निर्माण गर्नका लागि प्रभावित क्षेत्र (वन समूह) का बासिन्दालाई वालिङमा लगेर देखायौँ र उहाँहरु सहमत हुनुभयो तर अर्को समुदायले फेरि विरोध गरेकाले हामी अझै छलफलमा छौँ ।’

फोहरमैला व्यवस्थापन केन्द्र राख्न विवाद भएका र स्थानीय जनताबाट अवरोध गरी व्यवस्थापन केन्द्र सञ्चालन गर्न नसकेका नगरपालिकाले प्रभावित क्षेत्रका आफ्ना स्थानीय बासिन्दालाई वालिङ नगरपालिकाको सरसफाइ केन्द्रमा ल्याई देखाएर विवाद समाधान गर्ने गरेको अध्यक्ष भण्डारीको भनाइ थियो ।

237 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank