थामकोटमा भ्यु टावर निर्माण शुरु

आइतवार, असार १७, २०७५



म्याग्दी ।

रघुगंगा गाउँपालिका–२ भगवतीको रुइसेस्थित थामकोटलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न भ्यु टावर निर्माण शुरु भएको छ ।

रघुगंगा गाउँपालिका, वडा कार्यालय र भगवतीका बासिन्दाले भ्यु टावर निर्माण शुरु गरेका हुन् । धौलागिरि आइसफल पदमार्गको प्रवेशद्दवारको रुपमा रहेको रुइसे भेडिओडार क्षेत्रमा पर्यटक भित्र्याउन भ्यु टावर निर्माण शुरु गरिएको वडा अध्यक्ष रिम कटुवालले जानकारी दिए।

गाउँपालिकाले विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट स्थानीयवासीले श्रमदान गरेर भ्यु टावर निर्माण सुरु गरेका हुन् । सत्ताइस् फिट अग्लो रहने भ्यु टावर तीन तलाको हुनेछ । यस वर्ष पहिलो तलासम्म मात्र बन्ने टावरमा आगामी दुई वटा तला थप गर्न बजेटको प्रस्ताव गरिएको छ ।

थामकोटको निर्माणाधीन भ्यु टावर नजिकै वनभोज स्थलका लागि एउटा टहरा निर्माण भइसकेको छ । त्यहाँ खानेपानीको व्यवस्था मिलाइएको छ । उक्त स्थानमा सामुदायिक विश्रामगृह सञ्चालन गर्ने योजना गाउँपालिकाको छ ।

दुई हजार २०८ मिटर उचाइमा अवस्थित थामकोटबाट रघुगंगा गाउँपालिकाका ८ वटै वडा, बेनी नगरपालिका, अन्नपूर्ण, जलजला र बागलुङ नगरपालिकाका भूभाग, सूर्योदय, हिमशृङखलाको अवलोकन गर्न सकिन्छ ।

हाल वनभोज खान पर्वत, कास्की पुग्ने बेनीका बासिन्दालाई थामकोटमा पु¥याउने योजना रहेको छ । समथर खाली भूभाग वनभोज स्थलका लागि उपयुक्त भएको वडा अध्यक्ष कटुवालले बताए ।

चालु आर्थिक वर्षमा वडा कार्यालयको दुई लाख रुपैयाँ अनुदानमा स्थानीयवासीले सिजल गाउँको दुईतर्फबाट रुइसेसम्म जोड्ने करिब दुई किलोमिटर पदमार्ग निर्माण गरिसकेका छन् ।
ढुङ्गे सिँढी बनाउने र झाडी फाँडेर सहज रुपमा आवतजावत गर्न सकिने बाटो बनाइएको स्थानीय युवा हरि भण्डारीले बताए । निर्माण सामग्री ढुवानी र पर्यटकको सहज आवतजावतका लागि सिजल गाउँदेखि थामकोट हुँदै नौलीबराह जोड्ने सडकको ट्याक निर्माण भएको छ ।

64 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank