राष्ट्रपति निकोलस मदुरोमाथि ड्रोन आक्रमण, सेनाकै भागाभाग

आइतवार, साउन २०, २०७५



काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि ड्रोन आक्रमण भएको छ । सैनिक कार्यक्रममा रहेका बेला भएको आक्रमबाट राष्ट्रपति भने जोगिएका छन् । भेनेजुएलाको सेनाको ८१ औं वार्षिकोत्सवका अवसरमा राजधानी काराकासमा गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला राष्ट्रपति मदुरोमाथि विस्फोट हुने ड्रोन आक्रमण भएको हो ।

यो कार्यक्रम टेलिभिजनबाट प्रत्यक्ष प्रसारणसमेत भइरहेको थियो । राष्ट्रपतिले सम्बोधन गरिरहेका बेला कार्यक्रमस्थलमा एक्कासी दुई वटा ड्रोन प्रवेश गरेको र त्यसलाई राष्ट्रपतिसहित त्यहाँ उपस्थित भएकाहरुले माथितिर हेर्न थालेका थिए । यसै क्रममा ठूलो आवाज सुनिएको थियो । ड्रोन आक्रमणपछि ठूलो संख्यामा सैनिकहरु भाग्दै गरेको दृश्य देखिएको थियो ।

ड्रोन आक्रमणमा परेर सात जना सैनिक घाइते भए पनि राष्ट्रपति भने सकुशल रहेको अधिकारीहरुले जनाएका छन् । भेनेजुएलाका सञ्चार मन्त्री जर्ग रोड्रिग्जले राष्ट्रपति मदुरोको हत्याको प्रयास भएको आरोप लगाए । घटनामा सात जना सैनिक घाइते भएको जानकारी दिए । घाइते सैनिकहरुको उपचार भइरहेको वीवीसीले जनाएको छ ।

खुला मैदानमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति मडुरोले भाषण गरिरहँदा उनीसहित कार्यक्रममा सहभागी अरूले अचानक माथि हेरे र उनीहरू तर्सिए। त्यसपछि टेलिभिजन प्रसारणमा आवाज बन्द भयो। टेलिभिजनको प्रसारण बन्द हुनुअघि दर्जनौँ सैनिकहरू भागिरहेको दृश्य देखिएको थियो।

पछि भेनेजुएलाको एनटीएन २४ टीभी च्यानलले भिडिओ फूटेज पोस्ट गरेको थियो जसमा राष्ट्रपति मडुरोको आवाज काटिएको र झ्यार्र आवाज आएको थियो।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata