उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता आज

बिहिबार, कार्तिक २१, २०७६



काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज  (बिहीबार) उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ तथा प्रदेश सभा सदस्यका लागि बाग्लुङ, भक्तपुर र दाङमा उम्मेदवारी मनोनयन हुनेछ ।

यी स्थानबाट उम्मेदवार बन्न चाहनेले सम्बन्धित जिल्ला सदरमुकामस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउनुपर्नेछ ।

मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । मंसिर १४ गते नै हुने उपनिर्वाचनमा स्थानीय तहका लागि भने कात्तिक २७ गते मनोनयन दर्ताको समय तोकिएको छ ।

उपनिर्वाचनको कार्यतालिकाअनुसार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजै दिउँसो ३ बजे उम्मेदवारको नामावली प्रकाशित हुनेछ भने शुक्रबार बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारमाथिको दाबी विरोधको समय तोकिएको छ ।

शनिबार उजुरीमाथि छानविन गरी अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य ३ र स्थानीय तहका प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ गरी ५२ पदका लागि उपनिर्वाचन हुनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata