एमालेका सबै नेता झापामा, दैनिक हाजिर, मदिरा छुनपनि नपाइने

शनिबार, फाल्गुन २१, २०७३



प्रमुख प्रतिपक्षी एमालेको तराईकेन्द्रित १५ दिने राष्ट्रिय जागरण अभियान शनिबारदेखि सुरु हुँदै छ । ‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान : राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची–महाकाली अभियान’ भन्ने मूल नाराका साथ झापाको का“कडभिट्टाबाट सुरु हुने अभियानको उद्घाटन अध्यक्ष केपी ओलीले गर्दै छन् ।

तराईको पूर्व–पश्चिम राजमार्गकेन्द्रित अभियानमा ३३ स्थानमा आमसभा, र्‍याली र सांस्कृतिक कार्यक्रम गर्ने एमालेको तयारी छ । र्‍याली र सभामा ५० लाख तराईवासीबीच पुग्ने गरी १५ लाखसम्मको जनपरिचालन गर्ने एमालेले दाबी गर्दै आएको छ । नयाँपत्रिका दैनिकबाट

शीर्ष नेता झापामा
अभियानमा सहभागी हुन अध्यक्ष ओलीसहित शीर्ष नेताहरू झापा पुगेका छन् । वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्षहरू वामदेव गौतम, भीमबहादुर रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेलसहित स्थायी समिति सदस्यहरू, तराईबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू, सांसदहरू झापा पुगेका छन् ।

प्रदेश र जिल्ला कमिटीहरूको व्यवस्थापनमा कार्यक्रम आयोजना हुने सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताए । र्‍याली र जनसभामा सम्बन्धित प्रदेशका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, केन्द्रीय निकाय र ज्येष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी तथा सदस्य, सांसद तथा पूर्वसांसदलाई एमालेले अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ ।

त्यस्तै, पूर्वमन्त्री, प्रदेश कमिटी सदस्य, केन्द्रीय विभागका सदस्य, पूर्व राष्ट्रिय प्रतिनिधि परिषद् तथा अञ्चल समन्वय कमिटीका सदस्य, सम्पर्क समन्वय कमिटी र मातहत सम्पर्क मञ्चका सदस्यलगायतलाई पनि अनिवार्य उपस्थित हुन एमालेले निर्देशन दिएको छ ।

ओली–गृहमन्त्रीबीच सुरक्षाकेन्द्रित छलफल
अभियानको पूर्वसन्ध्यामा एमाले अध्यक्ष ओलीले उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिसँग शान्ति–सुरक्षाबारे छलफल गरेका छन् । बिहीबार साँझ आफ्नै निवास बालकोट बोलाएर पूर्वप्रधानमन्त्री ओलीले अभियानलाई सघाउन राज्यले उपलब्ध गराउने शान्ति–सुरक्षाबारे चासो व्यक्त गरेको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले बताए । गृहमन्त्री निधिले अभियानमा राज्यका तर्फबाट आवश्यक सुरक्षा प्रबन्धका लागि निर्देशन दिएको जानकारी गराएका थिए ।

भेटमा ओलीले केही दिनअघि गृहमन्त्री निधिका तर्फबाट अभियान बिथोल्नेगरी आएको ‘विवादास्पद’ अभिव्यक्तिबारे पनि चासो राख्दै कुनै अप्रिय घटना भए सरकार जिम्मेवार हुनुपर्ने चेतावनी दिएको बज्राचार्यले बताए । जवाफमा निधिले कुनै दलको सभा बिथोल्ने अभिव्यक्ति आफूले नदिएको प्रस्ट पारेको गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

दाहालका अनुसार गृहमन्त्री निधिले संविधान संशोधनबारे एमालेले प्रयोग गरेको राष्ट्रघाती शब्दप्रति आपत्ति जनाएका थिए । जवाफमा ओलीले संविधान संशोधन देशको हितमा नभएको बताउँदै पार्टीको आधिकारिक दस्तावेजमा राष्ट्रघाती शब्द उल्लेख नगरेको जनाएका थिए ।

ओलीसहित सबै शीर्ष नेता झापामा


नेकपा एमालेका अध्यक्ष ओली शुक्रबार विसं २०२९ मा झापाको सुखानीमा सहिद भएका वीरेन राजवंशीको स्मृतिमा झापाको ज्यामिरगढी–३ मा निर्मित अर्धकदको सालिकमा श्रद्धासुमन अर्पण गर्दै । तस्बिर : रासस

६ भाषामा प्रचार र सांस्कृतिक अभियान
अभियानमा सहभागी हुन आह्वान गर्दै एमाले कार्यकर्ताले नेपाली, भोजपुरी, मैथली, अवधी, थारू र डोट्याल गरी ६ भाषाको अपिलसहित घरदैलो गरिरहेका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघको अगुवाइमा तराईका मातृभाषाहरूमा देशभक्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका पक्षमा सांस्कृतिक कार्यक्रम पनि गरिने भएको छ ।

दैनिक हाजिरी, मदिरा निषेध
एमालेले अभियानमा सहभागी हुने नेता–कार्यकर्ताका लागि १८ बुँदे तथा स्वयंसेवकका लागि नौबुँदे आचारसंहिता जारी गरेको छ । उनीहरूले दैनिक हाजिरीपुस्तिकामा हाजिर गर्नुपर्ने, सामूहिक मेस र आवासमा रहनुपर्ने, मदिरा र धूम्रपान सेवन गर्न नपाइनेलगायतका आचारसंहिता पालना गर्नुपर्नेछ । तराईवासीलाई अपाच्य हुने, बिझाउने या अनुचित लाग्ने कुनै कामकुरा गर्न निषेध गरिएको आचारसंहितामा छ । प्रवचन, सांस्कृतिक प्रस्तुतिलगायत कुनै वेला पनि कसैको भावनामा ठेस पुग्ने बोलीवचन, आचरण निषेध छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata