एमालेले २० जना मधेसी र थारु नेतालाई केन्द्रीय कमिटीमा प्रवेश गरायो

झापामा पुगेर एमालेको नयाँ निर्णय

शनिबार, फाल्गुन २१, २०७३



झापा । मेची महाकाल अभियानका क्रममा नयाँ सन्देश दिन नेकपा एमालेले झापामा नै केन्द्रीय कमिटी बैठक गरेर नयाँ निर्णय गरेको छ । पूर्वतयारी विनामा झापामा एमालेले अकस्मात केन्द्रीय बैठक बोलाएर २० जनालाई मनोनयन गरेको छ । झापाको बिर्तामोडमा शुक्रबार राति बसेको स्थायी कमिटीको बैठकले एकैपटक २० जना मधेसी र थारु नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको छ । अभियानका क्रममा मधेसी र थारु समुदायमा नयाँ सन्देश दिन २० जनालाई एकैपटक मनोनयन गरेको हो ।

केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा रघुबीर महासेठ, धर्मनाथ साह, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ यादव र रामदयाल मण्डल, रामचन्द्र साह तेली, रवीन्द्र बैठा, हरीनारायण महतो, रत्नेश्वर गोइत, लालबाबु यादव र यदुवंश झा छन् ।

त्यसैगरी बैठकले ८ जनालाई बैकल्पिक केन्द्रीय सदस्यमा मनोनय गरिएको छ । वैकल्पिक केन्द्रीय सदस्य हुनेमा नारदमणि राना थारु, जुली महतो, मञ्जु चौधरी, शान्ता चौधरी, हरी राजबंशी, सरोज यादव र सुधीर साह, सरला यादव र महम्मद हारून रहेको सचिव योगेश भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार यसअघि उनीहरुको नाम तय भएपनि झापा पुगेपछि निर्णय भएको हो ।

साथै बैठकले कैलालीका हनुमान चौधरी र मायाराम चौधरीलाई केन्द्रीय सल्लाहकार परिषदमा मनोनयन गरेको छ ।

एमालेको केन्द्रीय कमिटी हाल वैकल्पिक सहित अब अब केन्द्रीय कमिटी २०५ सदस्यीय भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata