मैदान नछाड्नू, भिड्न नजानू

आइतवार, फाल्गुन २२, २०७३

काठमाडौं ।
एमालेले मधेसका नेता कार्यकर्तालाई मैदान नछाड्न र संयमित भएर मेची–महाकाली अभियानको प्रचारप्रसारमा केन्द्रित हुन निर्देशन दिएको छ । पार्टीको नीति मुठभेड गर्ने नरहेको र आफ्ना धारणा मधेसी जनतामा लैजान कसैले रोकेमा त्यसको प्रतिवाद गर्ने एमालेले जनाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले एमालेको अभियान कुनै राजनीतिक दलविरुद्ध लक्षित नभएको भन्दै मधेसका जनतालाई एमालेको दृष्टिकोण बताउन केन्द्रित रहेको प्रस्ट पारे । मधेसी मोर्चाका एजेन्डामा एमाले असहमत भएको तर, मधेसी जनताको मागको पक्षमा पार्टी रहेको एमाले नेताको भनाइ छ ।

एमालेले आफ्नो मेची–महाकाली राष्ट्रिय अभियान बिथोल्ने कुनै पनि गतिविधि नगर्न मधेसी मोर्चाका शीर्ष नेतालाई आग्रह गरेको छ ।अभियान बिथोल्न आपराधिक ढंगका हमला हुन थालेको भन्दै एमालेले सरकार तथा मानवअधिकार आयोगको समेत ध्यानाकर्षण गराएको छ । एमालेको मधेस अभियानलाई लक्षित गरेर मोर्चाले जनकपुर, राजविराजलगायत स्थानमा बन्द हडताल आह्वान गरेको छ ।

एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले बन्दहडताल फिर्ता लिन आग्रह गरिएको र आफ्नो आग्रह नसुनिए बन्द तोडेर एमालेको अभियान मधेसमा जारी रहने बताए ।

‘एमालेसँग अराजनीतिक सम्बन्ध नहोस् भनेर हामीले मोर्चाका शीर्ष नेतालाई भनेका छौं, उनीहरूले अनविज्ञता देखाएका छन्,’ अभियानको पहिलो दिनको समीक्षा गर्दै दमकमा आयोजित पत्रकार सम्मेलनमा सचिव भट्टराईले भने, ‘एमालेको अभियान कसैको धम्की, बन्द र हडतालबाट रोकिँदैन ।’ पूर्वघोषित कार्यक्रम भएकाले सुरक्षाको जिम्मेवारी सरकारको भएको उनले बताए । पार्टी र संविधानसँगको भ्रम चिर्न एमालेले १५ दिने तराई मधेसकेन्द्रित मेची–महाकाली अभियान सुरु गरेको छ ।
राजधानी दैनिकमा खबर छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata