‘जधन्य अपराधका घटना बढ्दा पनि पार्टी, जनसंगठन र जनप्रतिनिधि किन मौन ?’

घात–अन्तरघात गर्नेलाई कारवाही गर्न नेतृत्वको ध्यानाकर्षण

मङ्लबार, फाल्गुन २९, २०७४



चुस्त, सक्षम, सन्तुलित र निस्कलंकित मन्त्रिपरिषद् बनाउन सुझाव

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगले जघन्य सामाजिक अपराधका घटना बढ्दा पनि स्थानीय पार्टी, जनसंगठन तथा जनप्रतिनिधिमूलक निकाय स्थानीय सरकार उदासिन, निस्क्रिय र मूकदर्शक बनिरहेकोमा चासो देखाएको छ । आयोग अध्यक्ष अमृतकुमार बोहराको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको बैठकले केही समयदेखि देशका विभिन्न भागमा तीव्ररुपमा ‘बलात्कार’, ‘हत्या’ र ‘बोक्सी’ आरोपजस्ता जघन्य सामाजिक अपराधका घटनाहरु एकपछि अर्को गरी श्रृखलाबद्धै बढिरहेकोमा त्यसलाई नियन्त्रण गर्न सम्बन्धित सरकारी निकायको ध्यान तदारुकतासाथ नगएकोमा दुःख व्यक्त गर्दै गम्भीर चिन्ता प्रकट गरेको छ ।

बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ ‘वर्गीय र सामुदायिक सरोकारको विषयमा आवाज बुलन्द गर्नुपर्ने पार्टीका स्थानीय कमिटीहरु, अनेमसंघ, युवा संघ लगायत पार्टीका जनसंगठनहरु तथा जनप्रतिनिधिमूलक निकाय स्थानीय सरकार किन उदासिन निस्क्रिय र मूकदर्शक बनिरहेका छन्, गम्भीर चासोको विषय बनेको छ । कतै पार्टीपंक्तिहरु राजनीतिक र वैचारिक दृष्टिकोणबाट बिमुख बन्दै गरेको संकेत त होइन भन्दै बैठक पार्टी नेतृत्वप्रति यस्ता विषयहरुमा सचेत हुन गम्भीर ध्यानाकर्षण गर्दछ ।’

बैठकले निर्वाचनको बेला घात–अन्तरघात गर्नेलाई कारवाही गर्न पनि नेतृत्वको ध्यानाकर्षण गराएको छ । ‘पार्टीको आन्तरिक संगठनात्मक अवस्थाबारे पनि बैठकमा संक्षिप्त छलफल भएका छन् । लामो समयदेखि पार्टीको केन्द्रदेखि आधारभूत तहसम्मका कमिटीका बैठकहरु राम्ररी नभएको, पार्टी कमिटीहरु प्राय निस्क्रिय रहेको, पार्टीको विधि, पद्धति र प्रणालीहरु क्रमशः कमजोर बन्दै गएको, पार्टीमा स्वच्छन्दता, व्यक्तिवाद, आचरणहीनता र अनुशासनहीनता बढेको, गलत कार्यउपर छानविन नगरी दण्डहिनता मौलाइरहेको वर्तमान स्थितिप्रति आयोगले पार्टीको ध्यानाकर्षण गरेको छ । त्यसैगरी तीनै तहको निर्वाचनका क्रममा भएका अनुशासनहीन क्रियाकलापहरु, घात–अन्तरघातजस्ता अवाञ्छित कार्यहरुको यथासमयमा छानविन भई कारवाही हुनुपर्नेमा अनेकौं बहानामा आजसम्म पन्छाउँदै आउने काम भएकाले तत्काल समीक्षा प्रतिवेदन मागी कारवाही प्रक्रिया अघि बढाउन पार्टी नेतृत्वको ध्यानाकर्षण गरेको छ ।’ विज्ञप्तीमा उल्लेख छ ।

बैठकले बिना बिलम्बन चाँडो, चुस्त, सक्षम, सन्तुलित र निस्कलंकित मन्त्रिपरिषद् बनाएर जनता र राष्ट्रको आकांक्षा पूरा गर्ने काममा दृढतापूर्वक अघि बढ्न पार्टीलाई आग्रह समेत गरेको छ ।

146 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank